1674999831.jpg)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको दक्षिण अफ्रिका जाने भिसा प्रक्रिया सोमबारसम्म पूरा हुने जनाएको छ ।
जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि नेपाली टिम दक्षिण अफ्रिका प्रस्थान गरिसके पनि देसाई टिमसँग थिएनन् । हाल भारतमा रहेका देसाईले उतैबाट भिसा प्रक्रिया थालिएको र भोलिसम्म पूरा हुने क्यानका कार्यवाहक सचिव दूर्गाराज पाठकले बाह्रखरीलाई बताए ।
“देसाईको भिसा प्रक्रिया भारतबाट हुँदै छ । आज आइतबार भारतमा सार्वजनिक बिदा भएकाले प्रक्रिया पूरा हुन सकेन । सम्भवतः भोलिसम्म सबै काम पूरा हुने छ,” पाठकले भने ।
जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिम जेठ १६ गते दक्षिण अफ्रिका प्रस्थान गरेको थियो । तर, टिमसँग मुख्य प्रशिक्षक देसाई र लेग स्पिनर सन्दीप लामिछाने गएका थिएनन् । देसाईको भिसा प्रक्रियामा रहँदा सन्दीप भने भोलि राति दक्षिण अफ्रिकाका लागि उड्ने सचिव पाठकले बताए ।
नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई तयारी खेल खेल्ने छ । नेपालले जुन ८ मा स्कटल्यान्डसँग र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्ने छ । दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने छ ।
विश्वकप छनोटको समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्ने भएको छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्ने छ ।