site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कांग्रेसजनको दुबिधा 

कांग्रेसजन अचम्मको दुबिधामा देखिन्छन् । नेपाली कांग्रेससँग कुनै बेला जोडिएका र पार्टीको सिद्धान्तमा अझै आस्था राख्ने धेरै शुभेच्छुकहरूले ‘सुध्रिएन भने कांग्रेस सक्किन्छ’ भन्न थालेको पनि केही दशक नभए पनि वर्ष भइसक्यो । पार्टीको अवस्था हेर्दा हो कि जस्तो पनि लाग्दो हो । अरू पार्टी र चुनावको परिणाम हेर्दा ‘होइन होला’ भनेर ढुक्क हुँदा हुन् । जेहोस्, कांग्रेसजन गहिरो दुबिधामा देखिन्छन् । 


पार्टी सरकारमा त छ तर सत्तामा कांग्रेसको छाप कतै छैन । समाजमा कांग्रेसजनको खासै पुछनी पनि हुँदैन । सामाजिक सञ्जालमा समेत कांग्रेसको उपस्थिति कसैले गाली गर्दामात्रै देखिन्छ । अनि गाली चाहिँ जस्लाई गर्नुपरे पनि कांग्रेसलाई जोड्ने गरिन्छ । बिचरा, सामान्य कांग्रेसजनलाई लाग्दो हो कस्तो पार्टी रोजिएछ ? पार्टीसँगै राजनीति पनि छाड्ने कि अर्को कुनै पार्टीमा जाने भन्ने दुबिधामा देखिन्छन् कांग्रेसजन ।


प्रमुख नेताहरू पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले कांग्रेसजनको दुबिधा झन् थपिदिएका छन् । सभापति देउवा भन्छन् - मैले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएँ चुनावमा । सरकारमा पुर्‍याएँ । अर्को कार्यकाल म सभापति हुने होइन । जनतासँग काँधमा काँध मिलाएर काम गरेर पार्टिलाई बलियो बनाउन मैले रोकेको छैन । मलाई दोष लगाएरमात्र पार्टी बलियो हुन्छ ?

Dabur Nepal
NIC Asia


उनका कुरा पूरै गलत त होइनन् । तर, पार्टी ओरालो लागेको र कार्यकर्ता तथा शुभेच्छुकहरूको तेजोबध भएको पनि उत्तिकै सत्य हो । पार्टी सभापति देउवा सुनिएका जति सबै काण्डमा मुछिएको प्रचार भइरहेकै छ । देउवाका तर्फबाट पत्यारलाग्दो खण्डन हुन पनि सकेको छैन । के हो के हो ? साँच्चैको दुबिधामा छन् उनीहरू !


पार्टी महामन्त्री थापालगायत अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केही तरुण केन्द्रीय सदस्यहरूले भने सभापति देउवाकै कारण पार्टी निरन्तर ओरालो लागेको भन्न थालेका छन् । विधानअनुसार गठन गर्नुपर्ने विभाग र समितिहरूसमेत गठन नगरेर सभापति देउवाले हजारौँ कार्यकर्तालाई सक्रिय हुन नदिएको उनीहरूको आरोप त सही हो । देउवाले पार्टीको सञ्चालन विधानअनुसार गर्नुपर्छ भन्ने कहिल्यै ठानेको देखिएको छैन । सभापतिले नै पालन नगर्ने हो भने विधान किन चाहियो र ? दुबिधामा छन् कांग्रेसजन ! 


महामन्त्रीहरूको अर्को गुनासो र आरोप सुनिएको छ - पार्टी सञ्चालनका निम्ति विधानले महामन्त्रीहरूलाई उत्तरदायी बनाएको छ तर सभापतिले त्यसलाई आत्मसात् नै गरेका छैनन् । त्यसअनुसार व्यवहार गर्नु त परको कुरा ! पार्टीका नामबाट हुने महत्त्वपूर्ण निर्णय देउवाले महामन्त्रीहरूसँग सल्लाह गर्नु त परै रहोस् सूचना पनि दिँदैनन् । निर्णयमा आफ्नो सहभागिता र सहमति नहुने अपजस भने सहनुपर्ने पीडामा छन् रे महामन्त्रीहरू ! महामन्त्री द्वयलगायत तरुण नेताहरूले पार्टी नै नछाडे पनि पद त्यागेर बाहिरबाट संघर्ष गर्ने हो कि भनेजस्तै दुबिधामा रहेका ध्वनित हुन्छन् तिनका अभिव्यक्तिहरूमा । के सही हो के गलत हो ? ह्यामलेटियन दुबिधामा देखिन्छन् कांग्रेसजन !


केही समय पहिलेसम्म ‘देउवा सभापति हुँदासम्म पार्टी सुध्रन सक्तैन’ भन्नेहरु अहिले महामन्त्रीहरूको अभियान अगाडि बढ्न थालेपछि ‘देउवालाई हटाउँदैमा केही हुँदैन’ भन्न थालेका छन् । पार्टीले आफ्नो सिद्धान्त र आदर्श छाडिसकेकाले पहिले त्यसैलाई सही ठाउँमा ल्याउनुपर्छ भन्ने उनीहरूको तर्कलाई पनि गलत भन्न त सकिँदैन । अहिले त कहिले माओवादीजस्तो र कहिले राजावादीजस्तो लाग्छन् कांग्रेसका नेताहरू । आफूले आफैलाई ठम्याउन नसकेर दुबिधामा परेकाछन् कांग्रेसजन !

  

महामन्त्रीहरू एकातिर सभापतिले छाड्नुपर्छ भन्दैछन् ।अर्कातिर केही अरू नेताहरू पनि सभापति हटाएर ‘पार्टी रूपान्तरण’ गर्ने अभियानमा लागेका छन् । मिलेर एउटै अभियानमा लागे त सम्भव हुन्थ्यो होला नि सभापतिमाथि दबाब दिन । देउवा त हटाउने तर कोसँग मिलेर ? दुबिधाको भुमरीमा परेका छन् बिचरा कांग्रेसजन !


देउवाले भनी त सके अब फेरि सभापति बन्नुछैन भनेर । साँच्चै हो भने र कसैलाई सभापति बनाएर पार्टी कब्जा गर्नुछैन भने यतिको विरोध र बदनाम भइसकेपछि दुई वर्ष पहिले सभापति छाडे के बिग्रन्छ र ? पद छाड्न मन नभए कार्यवाहक दिएर दुईमध्ये एक उपसभापतिलाई सरकारबाट पार्टीमा फर्काए पनि हुन्छ । ‘लडाइँ’ गर्न खोज्नेहरूले के खोजेका रहेछन् देखिइहाल्छ नि । बीपीले त सुवर्ण जी, किसुन जीलाई कार्यवाहक दिएकै थिए । त्यसले पार्टीमा उनको पकड कमजोर त भएन । 


भारतीय राष्ट्रिय कांग्रेसको गल्ती र सफलताबाट नेपाली कांग्रेसका नेताले सिक्न सक्छन् । पछिल्ला वर्षहरूमा भारतीय कांग्रेसका नेताले जनताका कुरा सुन्न छाडेको मानिन्थ्यो । राहुल गान्धीको पदयात्राले कर्णाटकमा जिताएको छ । नेपाली कांग्रेसका नेता पनि कार्यकर्ताको घेराबाहिर निस्के भने कांग्रेसजनको दुबिधा मेटिने थियो होला । 

र अन्त्यमा

पञ्चायती निरङ्कुशता नभोगेका सामान्य गुजाराका लागि दुःख नकाटेका र पढेर सूचना बटुले पनि ज्ञान पाउन नसकेकाहरूका लागि लोकतन्त्र, गणतन्त्र, स्वतन्त्रताहरूमात्र होइन सामाजिक न्यायका कुरा पनि सुन्न मन लाग्दैन । यतिमात्र होइन आरक्षण पाउने समूहका सामान्य व्यक्ति पनि अभ्यासका क्रममा भित्रिएको विसङ्गतिका कारण त्यसका विरुद्ध देखिन थालेका छन् । 

संस्थापन भनिने काठमाडौंको ‘खोपी’ विस्तारित भएर गाउँघर, मधेस मैदानका चोटाकोटामा फैली सकेको छ । पहाडमधेस सबैतिर पक्की घर र कमोटवाला चर्पीसँगै ‘स्योस् वाणी’को विस्तार भएजस्तै  आफूलाई नै संस्थापनको केन्द्र र प्रवक्ता ठान्नेहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ । समस्या त यो पो हो ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro