1679494944.jpg)
काठमाडौं । ‘ए’ डिभिजन लिगका क्लबहरूले लिग समाप्त भएपछि मात्र खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने घोषणा गरेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको भए पनि साफ च्याम्पियनसिपका लागि खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएको भन्दै लिग समाप्त भएपछि मात्र खेलाडी पठाउने घोषणा गरेका हुन् ।
बिहीबार कुपन्डोलस्थित फ्रेन्ड्स क्लबको भवनमा लिगका १० क्लबहरूको प्रतिनिधिसहित बसेको बैठकले लिग जारी रहँदा पनि खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएको भन्दै लिग समाप्त नहुँदासम्म नपठाउने निर्णय गरेका हुन् ।
क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पुरानो तयारी खर्च, दोस्रो किस्ता, म्याच मनि र म्यान अफ दी म्याचको रकम उपलब्ध गराउन ताकेता गर्दा रकम नआएको भन्दै जेठ १९ गतेदेखि रकम नआउन्जेल विरोध स्वरुप खेलाडी र पदाधिकारीहरूले कालो पट्टी लगाएर लिगको खेलहरू खेल्ने निर्णय गरेका छन् ।
कुपन्डोलमा यी निर्णय हुँदा लिगका फ्रेन्ड्स क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी क्लब, फुटबल क्लब खुमलटार, सातदोबाटो युथ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लबको प्रतिनिधि उपस्थित थिए ।