site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतबाट विराटनगर आइपुग्यो पहिलो कार्गो रेल (तस्बिरसहित)

विराटनगर । भारतबाट विराटनगरको बुधनगरस्थित कस्टम यार्डमा पहिलो कार्गो रेल आइपुगेको छ । कार्गो रेल भारतको बथनाहास्थित यार्डबाट मध्यान्ह १२ बजे नेपालतर्फ हिँडेको थियो । 

सात किलोमिटर परको बथनाहाबाट सीमामै अवस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा आइपुगेको रेलमा औद्योगिक कच्चा पदार्थ र फलामका बिलेट लोड गरिएको थियो । 

रेल र त्यसमा सवार कर्मचारीहरूलाई नेपाल र भारतका अधिकारीहरूले स्वागत गरेका थिए । त्यसलगत्तै नेपाल कस्टम यार्डमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ । 

Argakhachi Cement Island Ad

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारी स्वागतमा आईसीपी पुगेका थिए । बथनाहादेखि बुधनगरसम्मको ट्रायक चार वर्षअघि परीक्षण गरिएको थियो । नेपालतर्फ मोरङको कटहरीमा कस्टम यार्ड निर्माणको काम बाँकी छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको सन्दर्भ पारेर पहिलो कार्गो रेल नेपाल आएको हो । 

Biratnagar91685607202.jpg

विराटनगरसम्म कार्गोसहितको रेल्वे सेवा सुरू गर्न विगत लामो समयदेखि नेपाली उद्योगी व्यवसायीले माग गर्दै आएका थिए । 

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयष प्याकुरेलले रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री बोकेर रेल नेपाल आइपुग्नु कोसी प्रदेशवासीकै लागि गौरवको विषय भएको बताए । 

उनले भने, “विगत लामो समयदेखिको हाम्रो माग बल्ल पूरा भएको छ ।” 

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले विराटनगर भन्सार यार्डसम्म कार्गो ब्रोडगेज रेल्बे यार्ड सञ्चालनका निमित्त भारतले संरचना निर्माण गरिदिएको हो । 

बुधनगरम्म ट्राक विछ्यानेदेखि, स्टेसन तथा यार्ड निर्माणको कार्य यसअघि नै सम्पन्न भइसकेको थियो । तर, नेपालतर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण रेल्वेको यार्ड निर्माण हुन र ट्राक विछ्याउन विलम्ब भइरहेको छ ।  

रेल्बे यार्डसम्म कार्गो रेल नआउँदा औद्योगिक कच्चा पदार्थ आयात र तयारी वस्तु निकासी गर्दा उद्योगीले महंगो मूल्य तिर्नुपर्ने बाध्यता थियो । 

यार्डसम्म रेल्वेमा सामान आयात गर्ने व्यवस्था भएपछि अब नेपालसम्म नै औद्योगिक कच्चा पदार्थसहितका सामग्री ल्याउन सहज हुनेछ । 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भने, “रेल्वेबाट औद्योगिक कच्चा पदार्थ आयात हुँदा अहिले हुँदै आएको खर्चमा प्रतिशतसम्म ढुवानी खर्च घट्नेछ ।” 

बथनाहादेखि विराटनगरसमम रेल्वेको काम सुरू भएको १२ वर्ष भयो । मोरङको कटहरीसम्मको १८.६ किलोमिटर लम्बाई ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माणाधीन छ । 

Biratnagar61685607197.jpg

करिब चार अर्ब भारतीय लगानीमा भारतको इरकोन कम्पनीले सन् २०११ मा रेलको ट्राक विछ्याउनेलगायत काम सुरू गरेको थियो । सन् २०१७ मै निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने थियो । हालसम्म विराटनगर आईसीपीसम्मको आठ किलोमिटर क्षेत्रमा रेल चल्न सक्ने गरीको संरचना भने तयार भइसकेको छ । 

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले रेल्वे पूर्णरुपमा सञ्चालन भए यो क्षेत्रको औद्योगिक विकासमा थप टेवा पुग्ने बताए । सबै संरचना तयार गर्न नेपालले ११९ विघा जमिन अधिग्रहण गरेर निर्माण कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने सहमति थियो । 

तर, कटहरी गाउँपालिका वडा नं १ का २२ जना जग्गाधनीले ६ विघा जमिन अधिग्रहण गर्न नदिने भन्दै सर्वोच्चमा मुद्दा हालेका छन् । मुआब्जासम्बन्धी मूल्य कम भएको भन्दै स्थानीयवासी रुष्ट छन् ।

Biratnagar11685607192.jpg

Biratnagar91685607202.jpg

Biratnagar51685607197.jpg

Biratnagar21685607192.jpg

Biratnagar71685607200.jpg

 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्