site stats
बाह्रखरी :: Baahrakhari
कला
मुस्ताङ चिनाउँदै छिरिङ फेन्जो

काठमाडौं । उपल्लो मुस्ताङमा छ, ऐतिहासिक छोसेर गाउँ । यो छिरिङ फेन्जो गुरुङको गाउँ हो । अर्थात्, ‘मुस्ताङको कलाकार’ जन्मिएको ठाउँ हो । छिरिङ देश–विदेशमा परिचित छन् । चित्रकलामार्फत मुस्ताङ चिनाइरहेका छन् ।

उनले विद्यालयको पढाइ ५ कक्षासम्म मात्र हासिल गरेका छन् । त्यसपछि आफ्नो लक्ष्य भेट्न भौँतारिए ।

मुस्ताङ त्यसमाथि माथिल्लो मुस्ताङ अझै सहज रूपमा पुग्न सकिँदैन । त्यति बेला त अहिलेजस्तो मोटरबाटो पनि थिएन । जसले गर्दा त्यहाँका बालबालिकालाई पढाइ पूरा गर्न हम्मेहम्मे हुन्थ्यो । छिरिङलाई पढाइका लागि पोखरामा राखियो । पढाइमा भन्दा उनको रुचि चित्रकारितातिर बढी भयो ।

FB_IMG_16849904960081685430008.jpg

मुस्ताङमा चित्रकला आकाशको फलजस्तै थियो । तर, उनको रुचि सानैदेखि यसप्रति थियो । इच्छा थियो र उपाय निस्कियो, अनि चित्रकार बन्न सके । चित्रप्रतिको चाह र उत्सुकताले उनी कलाकारका रूपमा दरिए ।

Global Ime bank

जीवनको लक्ष्य नै चित्रकारितामा लाग्नु थियो । कलाकारका रूपमा देश–विदेशमा चिनिनु उनको स्वप्न थियो । छिरिङ पेन्टिङसम्बन्धी कलाको गहिराइमा पुगेर डुबुल्की मार्न चाहन्थे ।

उनी १६ वर्षको हुँदा कलाकार लाक्पा लामाले भेटे । उनकै पहिलो शिष्य बने छिरिङ । गुरु लाक्पाबाट पेन्टिङसम्बन्धी तालिम पाए । मुस्ताङका घरहरू, गुम्बाहरू, होटेलहरूको पेन्टिङमार्फत इन्टेरियर डिजाइन गर्न सिके । एक वर्ष गाउँमै पेन्टिङ सिकेपछि तिब्बतको सिगात्सेका तेन्जिङ निंगोको काठमाडौंस्थित स्कुल अफ तिब्बतियन थांकामा भर्ना भए । त्यहाँबाट उनले दुई वर्ष थान्का पेन्टिङको तालिम लिए । चित्रकारिता, पेन्टिङ र ल्यान्डस्केप तालिम एवं अध्ययन पूरा गरेपछि छिरिङको आयआर्जनको बाटो समेत खुल्यो ।

मुस्ताङमा कि त बालबालिका कि त वृद्धावृद्धा भेटिन्छन् । युवापुस्ता धेरैजसो विदेशिएका छन् । विदेश गएर कमाउने रहर छिरिङमा पनि जाग्यो । चित्रकारिताको अनुभव बटुल्दै गर्दा कोरिया हुइँकिए । त्यहाँको काममा ध्यानै गएन । वर्ष दिन बित्न नपाउँदै नेपाल फर्किए ।

FB_IMG_16849904539581685430007.jpg

छिरिङ भन्छन्, “पेन्टिङ र चित्रकारिताबाहेक अरू केही पनि सोच्न नसक्ने पो रहेछु । त्यसपछि मैले चित्रमार्फतै परिवार धान्न सक्छु भन्ने आत्मविश्वास बनाई नेपाल फर्केँ र चित्रकारितालाई नै पेसा बनाएँ ।”

उनी दृश्य हेरेर चित्र कोर्छन् । प्राकृतिक सुन्दरता नियालेर जस्ताको तस्तै हुबहु पानामा उतार्छन् । छिरिङको कमाइको स्रोत सिर्फ चित्रकारिता हो । यसकै कमाइले चार छोरीसहितको परिवारको खर्च सहजै धानेका छन् ।

छिरिङ हिउँदयाममा काठमाडौंमा हुन्छन्, बर्खायाममा आफ्नै गाउँठाउँतिर । कहिले पहाडका कुनाकन्दरातिर चित्र कोरिरहेका भेटिन्छन्, कहिले मुस्ताङका स्थानीय बालबालिकालाई चित्र कोर्न सिकाइरहेका देखिन्छन् ।

उत्तरी कोरला नाकादेखि दक्षिण १५ किलोमिटरयता पूर्वमा पर्छ उनको गाउँ । त्यहाँ गुरुङ समुदायको बस्ती छ । यो ‘गुफा नै गुफाको सहर’ पनि हो ।

मुस्ताङ आफैँमा अनौठो चित्रजस्तो छ । झन् माथिल्लो मुस्ताङ भन्नै परेन । यहाँ करिब २५ सय वर्षअघि शत्रुसँगको लडाइँबाट बच्नका लागि पहाडलाई खोपेर गुफा निर्माण गरिएको जनविश्वास छ ।

लोमान्थाङका भीरहरू खोपेर गुफा बनाइएको छ । लामा र झुमाहरूले आश्रयस्थलका रूपमा यी गुफा प्रयोग गरेको देखिन्छ । गुफा आफैँमा अद्वितीय मात्र छैनन्, तिनले प्राचीन मुस्ताङे जीवनलाई रहस्यमय बनाएका छन् ।

गुम्बा, मठमन्दिर र देवीदेवताका मूर्तिहरूको पेन्टिङमा पनि रमाउँछन्, उनी । ‘मुस्ताङको कलाकार’का रूपमा कलाकर्मीमाझ परिचित छन् ।

माथिल्लो मुस्ताङमा पुराना गुम्बा र मठमन्दिर जीर्ण भइसकेका थिए । पुनर्निर्माण आवश्यक थियो । उनले इटालियन भित्तेचित्रकार लुइजी फिएनीसँग सहकार्य गर्दै त्यहाँका पुरातात्त्विक महत्त्वका वस्तुहरूमा पेन्टिङको काम पूरा गरे ।

FB_IMG_16849904594681685430007.jpg

उनले पाँचपटक एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । राष्ट्रिय चित्रकला प्रदर्शनीमा १२ पटक सहभागी भइसकेका छन् । छिरिङ फेन्जोले जापान र फिलिपिन्समा समेत एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् ।

उनले गाउँघरमा चिकलासम्बन्धी तालिम निःशुल्कै दिन्छन् । आयआर्जनका लागि आउटडोर, इनडोर, थांका पेन्टिङ र फर्निचरलगायत सामग्रीमा आकर्षक बुट्टा भर्छन् । पेन्टिङ गर्छन् ।

“आफूले सिर्जना गरेको सामग्री गाउँठाउँमा पस्कन पाउँदा खुसी लाग्छ,” उनी भन्छन्, “मेरो काममा म पूर्ण सन्तुष्ट छु ।”

काठमाडौंंमा मुस्ताङ महोत्सवको तयारी पनि गरिरहेका छन् । त्यहाँको सौन्दर्य, कला, वेशभूषा, संगीत, रहनसहन, खानपान सबैले थाहा पाऊन् भन्ने उनको उद्देश्य हो । यो नयाँपुस्तामाझ संस्कृतिलाई जीवन्त राख्न उनको पहल पनि हो ।

आफ्नो नामले भन्दा मुस्ताङको कलाकारका रूपमा चिनिएकैमा दंग छन् । उनी भन्छन्, “मेरो कामले मलाई चिन्छन्, योभन्दा बढी खुसी अरू के होला र ?”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu