site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement


सरकारले गणतन्त्र दिवस भव्यतापूर्वक मनाउने तयारी गरेको छ । बर्सेनि लगभग यसरी नै विभिन्न कार्यक्रम आयोजना गरेर सरकारी स्तरबाट ‘गणतन्त्र दिवस’ मनाउने गरिन्छ । यस वर्ष जेठ १५ गते जननिर्वाचित स‌ंविधान सभाले नेपाललाई गणतन्त्र घोषणा गरेको १५ वर्ष पुग्छ ।

सरकारले जनसाधारणलाई उपलब्ध गराउनुपर्ने सेवा सुविधा आपूर्तिमा ध्यान नदिएको र भ्रष्टाचार बढेका कारण उत्पन्न जनआक्रोशलाई गणतन्त्रप्रतिको वितृष्णा ठानेर हौसिएकाहरूको मनोबल बढेको छ। यति नै बेला राजनीतिक दलका नेता भने जनतालाई दिक्क बनाउने होडमा लागेका छन् ।

बितेका पन्ध्र वर्षमा मूलतः राजनीतिक नेतृत्वका कारण जनतामा शासन पद्धतिप्रतिको आकर्षण कम हुँदै गएको हो । जनताले एउटा राजा फालेर धेरै राजा बेहोर्न परेको भन्न थालेका छन् । जनप्रतिनिधिको विलासी शैलीले जनता दिक्क भएका हुनुपर्छ । 

Agni Group

जनताको यो दिक्दारीको अर्थ राजतन्त्र फर्काउने चाहना भने होइन । नत्र, तिनले विकृतिको पर्यायका रूपमा राजतन्त्रलाई औँल्याउने थिएनन् । तर, राजतन्त्र समर्थक र लोकतन्त्र विरोधीहरू भने जनताको आक्रोशबाट बित्थामा हौसिएका देखिन्छन् । यद्यपि, यिनीहरू गणतन्त्रका लागि गम्भीर चुनौती हुँदै होइनन् ।

पञ्चायत कालमा पनि विभिन्न दिवसहरू सरकारी आयोजना र खर्चमा निकै तामझामका साथ मनाइन्थे । केन्द्रबाट जिल्लाजिल्लामा पञ्चायतका पक्षमा जनमत बनाउन अतिथि वक्ता पठाइन्थे । विडम्बना, त्यस्ता क्रियाकलापले जनतामा पञ्चायतप्रति वितृष्णा झन् बढाएको देखिन्थ्यो ।

Global Ime bank

यसैले राज्यका खर्चमा तामझाम गरेर कुनै दिवस मनाउँदैमा जनतामा त्यसको सकारात्मक प्रभाव पर्छ भन्ने ठान्नु युक्ति र अनुभवसङ्गत देखिँदैन । जनतालाई प्रभावित गर्न शक्ति र वैभव प्रदर्शन गर्ने यस्तो मध्ययुगीन शैली यसै पनि अहिले हास्यास्पद हुनपुग्छ ।

‘संघीय लोकतान्तिक गणतन्त्रात्मक राज्य’प्रति जनसमर्थन बढाउन सबैभन्दा पहिले राजनीतिक नेतृत्वले आफ्नो आचरणमा सुधार गर्नु जरुरी देखिन्छ । अब तिनले आफ्नो राजनीतिक ध्येयमा नै पुनर्विचार गर्नुपर्छ । कतै राजाको र सामन्तवादको विरोध गर्दागर्दै आफैँ त्यस्तै त भइएन भनेर नेताहरूले आत्मसमीक्षा गरून् । 

गणतन्त्र दिवसका दिन राजनीतिक नेताले राज्यबाट लिने सुविधा घटाएर अब सुध्रिने सङ्केत गरे भने सम्भवतः अधिनायकवादका अवशेषहरूले टाउको उठाउनेछैनन् । तिनका ‘स्वामी’हरूले पनि पिठिउँमा धाप मार्न छाड्नेछन् । कारण, अहिलेको चलखेल शासनको कमजोरीबाट बढेको न हो ।  

जनताले सुशासनको अनुभूति गरे भने स्वःस्फूर्तरूपमा गणतन्त्र दिवस मनाउन थाल्नेछन् । तर, राजनीतिक नेताहरूले अहिले जस्तै विचार, व्यवहार र आचारमा नयाँ राजा बनिरहने हो भने गणतन्त्र दिवस मनाउँदैमा सामन्ती अधिनायकवादीको अवशेष पनि बाँकी नै रहन्छ ।  

गणतन्त्र दिवसका उपलक्ष्यमा नेताहरूको मति सप्रोस् । सबै नेपालीलाई शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC