site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सकसकी
Ghorahi CementGhorahi Cement

कसरी सकसकाउँछ यो जीउ, मैले आजसम्म बुझ्न सकेको छैन । हुन त शरीरसम्बन्धी यस्ता जाबा कुरा कुनै पनि मित्र चिकित्सकसँग सोध्यो भने सजिलैसँग थाहा पाउन सकिने थियो होला तर पनि आफ्नो लागि भने ‘शरीरको यत्र–तत्र बेला–बखतमा विनाकारण सकसकाइरहनु’ विकट प्रश्न र अनेकौँ झन्झटको कारण नै बन्दै आइरहेको छ ।

कसैलाई मेरो जीउ किन सकसकाउँछ भनेर कसरी सोध्नु । सोधिहाले पनि सजिलैसँग भनिहाल्छन्, ‘लुतो आयो होला, जुम्रा पर्यो होला, अथवा नुहाएनौ होला अनि सकसकायो’ आदि आदि ।

मलाई पूरा विश्वास छ मेरो शरीर सकसकाएको मयल परेर पक्कै होइन, किनकि कतिपटक मेरो आँखा सकसकाएको छ, मुखै सकसकाएको छ, छालाभित्रको मासु र हाड समेत सकसकाएको छ । त्यहाँ त मयल परेन होला ।

Agni Group

एकपटक हत्केला सकसकाएर उधुम भयो । खस्रो भित्तोमा हत्केला दलँे कन्याएँ, केही सीप लागेन । एउटा ढुल्याउने ऐना ल्याएर आँखा गाडी–गाडी सकसकाएको ठाउँमा हेरेँ । समयसँगको निरन्तरको कुस्ता–कुस्तीमा जर्खरिइसकेका मेरा हात र हत्केलाहरू छिपिइसकेका र चिमोटे पनि नदुख्ने भइसकेका थिए ।

तैपनि हत्केला सफा थियो । त्यहाँ केही देखिएन । पिताजी ज्योतिष भए तापनि वर्तमान ज्योतिषिविधिमा पटक्कै विश्वास नगर्ने मजस्तो मान्छेले त्यसरी गौड गरेर आफ्नै हत्केला हेरिरहेको देख्दा ‘बल्ल बुद्धि फिरेछ तपाईंको’ भन्दै मेरी श्रीमतीले समेत खुशी व्यक्त गरेकी थिइन् ।

Global Ime bank

म आफ्नो हत्केलामा भविष्यका कथा होइन, आफूलाई सकसक पार्ने के हो भन्ने कुराको अन्वेषण गर्दै थिएँ भन्ने कुरा उनले बुझेकै थिइनन् ।

हत्केलाभित्रपट्टि कताकता कुतकुती लागि नै रह्यो । मैले कति गर्दा पनि त्यसको कारण पत्ता लगाउन सकिनँ ।

त्यो दिन मेरो घाँटी सकसकाएको कुरा म कहिल्यै बिर्सन सक्तिनँ । म सुपारी खान्न । पानी असाध्यै पिउनुपर्छ मलाई । मेरा मुखका–घाँटीका भित्ताहरू वर्षाको इनार जस्तै सधैँ पानी रसाइरहने रसिला र ओसिला नै भइरहन्छन् ।

फेरि खस्रो मसिनो खानेकुरा खाँदा खाँदा खाक्सीले झैँ घाँटीको सानो नलीलाई दिनको दुईतीनपटक माझिरहेको हुन्छु । टाँसिएका ससाना कसरलाई समेत भित्र कताकताबाट हुलुक्क हुलुक्क आउने अमिलो झोलको पचकाले सिलित्तै बगाएर लगेको हुन्छ ।

त्यसैले मेरो घाँटीमा गएर कुनै फोहरमैला जम्ने सम्भावना नै थिएन । बेहान खाना खाएपछि दुई फूल ल्वाङ मुखमा हालेर क्याम्पस हिँडेको थिएँ । एकाएक घाँटीभित्रको दाहिने भित्तापट्टि के हो रगरगाएको अनुभव गर्न लागेँ । अनेकौँ पटक ख्वाक्क ख्वाक्क गरेँ ।

भित्रैदेखि घाँटी झन्झन् खसखसाउन लाग्यो मानौँ, एउटा साङ्लो नै हिँडिरहेको थियो त्यहाँ । दुई ठाउँमा त मोटरसाइकल नै रोकेर खोक्नुपरेको थियो ।

खोक्दा खोक्दै क्याम्पस पुगेँ । हत्तरपत्त एक गिलास पानी पिएँ । झन् सुकेको घाँटीमा च्याप्पै भयो त्यो सकसकाउने वस्तु । घाँटी ठाडो पारेर पानी गलगलाउँदा पनि त्यो सकसकाउने वस्तु घाँटीको भित्तोबाट पखालिएन । विनाकारण केही पनि हुँदैन भन्छन् तर त्यो दिन घाँटी सकसकाएको कारण मैले आजसम्म बुझ्न सकेको छैन ।

व्याकरणविद्हरूले लगाएको अर्थ जस्तोसुकै होस्, मैले बुझेको सकसक, चकचक, रगरग, खसखस सबै शब्दको अर्थ भने एउटै हो— अस्थिरताको स्थिति । सामान्यतया सकसकचाहिँ बाहिरपट्टि र खसखसचाहिँ भित्रपट्टि हुन्छ ।

यसै हो भनूँ भने पनि फेरि नाकभित्र सकसकाएकोलाई खसखसाएको भन्न मिल्दैन । फेरि, मलाई यो सकसकी त्यस्तो बेलामा बढी लाग्दछ, जब मेरा दुवै हात, खुट्टा र अझ मन समेत कुनै कार्यमा व्यस्त रहन्छन् ।

चित्ररचना गर्दा हातभरि रङ्गै–रङ्ग लागेको बेला, मोटरसाइकल चलाइरहेको बेला, अप्ठ्यारामा उभिएको बेला, भात निल्नै लागेको बेला, यस्ता–यस्ता बेलामा नै मेरो शरीरको यत्र–तत्र सगबगाउन लाग्दछ, कहिले पिउन लागेको चिया पोखिन्छ, भात सर्कन्छ, जीउभरि रङ्गै–रङ्ग हुन्छ, बोली लटपटिन्छ, ठेस लाग्छ, चढेको वाहन नै ढल्छ अनि मलाई सकसक शब्दलाई नै सराप्न मन लागेर आउँछ ।

मेरो सानो च्यान्टे मोटरसाइकल छ । त्यसैमा चढेर शहर जाने आउने  गर्छु । एकपटक त्यसैमा चढेर गइरहेको बेलामा भित्रैदेखि केले हो कुन्नि, कुतकुती लगाउँदै ल्यायो नाकमा । सिफलको ओरालो, मोटरको ताँती, मान्छेको भीड, त्यस्ता बेलामा झोक्का दिएर हाछ्यूँ गर्नुपर्यो ।

शरीरको सन्तुलन नै बिग्र्यो र मोटरसाइकल एकजना पदयात्रुलाई धक्का दिँदै एउटा डोब्ल्याङमा हेलिन पुग्यो । त्यो दिन मैले अस्पताल र पुलिससँग बिताउनुपरेको थियो ।

शहरको गल्लीभित्र मोटरसाइकल चलाउँदा दुइटै हात व्यस्त रहन्छन् । एउटाले गति–नियन्त्रक र अर्कोले गतिवाहकको सञ्चालन गरिरहेको हुन्छ । त्यस्तो बेलामा समेत शरीरका कुनाकाप्चामा के हो के सगबगाउन थाल्दछ । मैले धेरैपटक मोटरसाइकल नै पार्किङ गरेर चिलाएको ठाउँमा कन्याउनुपरेको छ ।

खेलेको, बसेको, सुतेको बेलामा सगबगाइदिए त केही थिएन, तर त्यस्तो अप्ठ्यारो बाटोबाट हिँड्दा जीउ सगबगाउनुलाई त नरककै पुर्जी भनिदिए अत्युक्ति हुँदैन ।

मोटरसाइकले चढिरहेको बेलामा एकपटक डँडाल्नो सगबगाएर उधुम भयो । जाडोको बेला अनेक पतरी लुगा, सगबगाएको ठाउँसम्म केही गरे पनि हात पुग्न सक्दैनथ्यो । लाएकै लुगामा शरीर बटारी–बटारी दल्ने प्रयत्न गरेँ । केको हुन्थ्यो । मोटरसाइकल रोकेर डटपेन डँडाल्नामा छिराएर कोतर्नुपर्यो ।

त्यस्तै आच्छुआच्छु पार्यो एकपटक भन्नै नहुने ठाउँमा सगबगाएर । बसेको गद्दामा नै बेस्करी सकसकाएको ठाउँ दल्दै जाँदा मोटरसाइकल लड्खडाएर एउटा ट्याक्सीले झन्डै ज्यानै लिइदिएको थियो । अर्कोपटक, दिमाग सकसकाइ रहनाले एउटा ट्याक्सीले हानेर हात भाँचिदियो । हातमा प्लास्टर गरियो । प्लास्टरभित्र समेत के हो के सगबगाएर मर्लान पारिदियो ।

मेरो मनस्पटबाट त्यो दिनको लज्जाजनक घटना अझैसम्म बिलाउन सकेको छैन । अड्डाको समय, बसभित्र मानिसहरू परालका कलीझैँ  एक सूत्रमा बाँधिएर एकताको सगौरव प्रमाण दिइरहेका थिए । एउटा अन्तरमा मेरो देब्रे हात कागतपत्रले टिलटिलती परेको ब्याग च्यापेको च्याप्यै अड्किएको थियो । अर्को हात भने दुई औँलाले बसको डन्डी समाएर सारा शरीरलाई सन्तुलित राख्ने प्रयत्न गर्दै थियो ।

त्यस्तो चेपो र अप्ठ्यारो परेको बेलामा मेरो लुगाभित्र करङमा के हो रगरगाउन लाग्यो । एकाएक मेरा दुवै हात सगबगाए, रगरगाएको ठाउँमा पुग्न तर भीडले चलहलै गर्न नसक्ने गरी दुवै हातलाई जकड्याइदिएको थियो । अन्तर चेतनाको गहिराइले मात्र अनुभव गरिरहेको त्यो रगरगी भन्झन् तैरँदै छालाको सतहमा नै उत्रेर सगबगाउन लाग्यो ।

कसैले काउकुती नै लगाइदिइरहेको अनुभव गर्न लागेँ मैले । मेरो सिँगै शरीर बटारिन लाग्यो । आफूसँगै च्यापिएर उभिएकाहरू ‘कति चलेको’ भन्न लागिसकेका थिए, तर मेरो करङमा भने सगबगी पनि बढ्न लाग्यो कि शायद त्यहाँ ढाडी जुम्राहरूका बीचमा विश्वयुद्धकै तरखर भइरहेको छ र लिखा चमकनाहरू हाहाकार गरेर भाग्दै छन् ।

बेहान मात्र न्वाएको, गन्जी पनि सुकिलै थियो । त्यसमाथि पनि ‘चमचमाउँदो राजधानीमा बस्ने मजस्तो आधुनिक र सुपहित मान्छे–मयल जुम्रा परेर त हुनै सक्दैन । मयल र जुम्राबाट उठेका कल्पनाको तरङमा मभित्र जुम्रा, लिखा र चमकनाहरू सगबग गर्न लागे ।

‘ओहो ! के मै मात्र जुम्र्याहा हो त ? के अरूलाई जुम्रा पर्दैन ? के हाम्रो शिक्षा जुम्राको विष हो ?’

हुरीको हावाझैँ हनहनाउँदै प्रवाहित भएको मेरो कल्पना तरङले मानव–सभ्यता, संस्कार र शिष्ट शहरका पानाहरू पल्टाउन लागे, अनि मेरा दूषित आँखाभरि सगबगाउन लागे मानव रगत पिएर पोटिलाएका र ढलीमली साम्राज्य चलाइरहेका ढिल जुम्राहरू ।

अनि दुईवटा चट्टानी नङका बीचमा परेर छट्पटाइरहेका चमकना र लिखाहरू, बाँच्न सगबगाउनेहरू र मार्न सकसकाउनेहरू निर्धा र बलियाको भागदौडले भरिभराउ यो पृथ्वीपिण्ड नजाने के के तरङ्गिदै थिए मेरा कल्पनामा, कसैको धम्की र रूखो आवाजले मलाई झसंग झस्काइदियो ।

एउटी महिला, क्रुद्ध भएर मलाई हेर्दै थिइन् र एउटा युवक ‘पात्तिएको मान्छे’ भन्दै मलाई गाली गर्दै थियो । पहिले त मैले कुरै बुझ्न सकिनँ तर पछि थाहा पाएँ । सगबगाइरहेको मेरो दाहिने करङ अनायास ती महिलाको पिठ्यूँमा स्वतः घस्रन पुगेछ ।

कुनै वासना थिएन, चाहना थिएन, आकर्षण थिएन, केवल करङको सगबगी थियो । म लाजले भुतुक्क भएँ । माफी मागेँ । क्याम्पस पुगेपछि एकजना मित्रले मेरो दाहिने कञ्चटबाट एउटा ढाडी जुम्रा टिपेर मेरो हत्केलाको माझमा राखि दिए ।

के बस यात्राभरि करङदेखि कञ्चटसम्म रगरगाउँदै हिँडिरहने त्यही ढाडी हो त ? असम्भव ! मेरो जुम्रा हुनै सक्दैन त्यो के गर्नु, सकेको भए म त्यस जुम्राको रगत जँचाएर हेर्ने थिएँ, त्यसले पिएको रगत मेरो हो कि होइन भनेर ।

केही दिनसम्म मेरो टाउकोभरि लाजका कीटाणुहरू स्याउँस्याउँ सगबगाइरहे विरोधी देशका जासूसहरू सगबगाएझैँ । साँच्चै भन्ने हो भने जासूसहरू पनि त जुम्रा नै त हुन् नि देशका । ती पनि पत्तै नपाउने गरी सुरुक्क एउटाको शरीरबाट अर्कोकोमा पस्दछन्, कोही कीटाणुझैँ त्यहीँ जन्मन्छन् र शरीरभरि सगबगाउन लाग्दछन्, अनि शरीर धनीले पत्तै नपाउने गरी तिनको रगत पिउँदछन् ।

आफ्नै आँखाअगाडि आफैँले रचना गरेका मानवरूप लामखुट्टेहरू र अणुबम बोकेका फट्याङग्राहरूका चित्र कृतिहरू नदेखेर मेरा आँखाले वायुमण्डलभरि कीटाणुहरूको सगबगी देख्न लाग्यो ।

हुन पनि आजको औषधि विज्ञानले धेरै प्रकारका रोगाणु कीटाणुहरूको पत्ता लगाइसकेको छ । जल, थल, आकाश पाताल सबैतिर ती व्याप्त छन् । एक्वारियमको माछाझैँ सुध्याइएको हावा र पानी पिएर बाँच्न चाहने मान्छे समेत रोगाणुबाट ग्रस्त भएर मर्दछ भने मजस्तो पाषाणयुगीय प्रवृत्ति समेत नपखालिइसकेको मान्छेको शरीरमा कीटाणु सगबगाउनु कुन ठूलो कुरा भयो र ! झन् साह्रो जुम्रा त कीटाणुहरूको गोलियथ नै भयो ।

जुम्रा र कीटाणुका प्रश्नले मेरो दिमाग सगबगाउन लाग्यो । प्रत्येक मानवीय प्रश्न समेत कीटाणुमुक्त छैन भने मेरो शरीर मात्र कसरी कीटाणुमुक्त होला । म आँखा गाडेर आफ्नै हात हेर्न लागेँ । धूलाका कणहरू परस्परमा टाँसिएर एउटा पिण्ड बनेजस्तै मलाई आफ्नो शरीर पनि कीटाणु नै कीटाणु मिलेर बनेको मानवमूर्ति पिण्डजस्तो लाग्न थाल्यो ।

मैले आफ्नो सिंगै  शरीर स्याउँस्याउँ कीटाणुले सगबगाइरहेको अनुभव गर्न लागे । बाँचुन्जेल र मेरो मुटुको तातो पाउन्जेलसम्म मात्र यी कीटाणुहरू पनि बाँचिरहने छन् यो धरतीको पिण्डमा जीवजगत् बाँचेजस्तै गरेर । म मर्नासाथ तिनले मेरो शरीर छाड्दै जानेछन् र हावामा विलीन हुन पुग्नेछन् । वायुमण्डलमा देखिने तरंग सबै तिनै कीटाणुको सगबगी हो ।

सकसकीलाई शायद हाम्रा पिता पुर्खाले कुनै न कुनै प्रकारका घटना अथवा दुर्घटनाका लक्षण देखाउँदै तत्सम्बन्धी बलियो धारणा बनाउँदै आएका छन् । तर, हत्केला सकसकाए धनार्जन हुन्छ, डँडाल्नो सकसकाए डन्डा पाइन्छ, पैतालो सकसकाए हिँड्न पाइन्छ आदि आदि जनधारणामा मेरो पटक्के विश्वास छैन ।

मेरो लागि मौकामा जे सकसकाए पनि धोएर, टकटक्याएर, सुकाएर साम्य पार्न सकिन्छ । तर, शरीरको भित्री गहिराइमा, आँखाभित्र, पाखुराभित्र, घाँटीभित्र, हत्केलाको भित्रैपट्टि आउने र विचार, भावना, कल्पना आदि आदि दिमागको सगबगीलाई के गर्ने ? कतै यो सगबगीनै स्वयं जीवन त होइन ।

फेरि सगबगी स्वयंको अनुभूति पनि त सगबगी नै हो नि । ओहो ! उसो भए के मानव इतिहास भनेकै चिलाउने र कन्याउनेको इतिहास हो त ? हो, अवश्य पनि । मानिसका आन्तर अनुभूति एवम् अनुभवहरू नसगबगाइदिएका भए मानिस दुईखुट्टे पशुबाट आज चेतनशील मानिस बन्दै आएर यत्रो प्रगति गर्न किमार्थ सक्ने थिएन ।

जसभित्र केही पनि सगबगाउँदैन त्यो जड हो । जसभित्र केही सगबगाउँदछ, तर सगबगी शान्त पार्ने कोशिस गर्दैन, त्यो पशु हो । जो आफ्ना आन्तर सगबगीलाई शान्त पार्ने क्रममा निरन्तर लागिरहेको हुन्छ, त्यो मानिस हो ।

प्रत्येक समयको स्पर्शले मानिसलाई कुतकुती लगाउँदछ, उसभित्र जिज्ञासा पैदा गरिदिन्छ । उसका सुषुप्त चेतना सजीव र जाग्रत् बनी सगबगाउन लाग्दछन् । त्यसैले सगबगाउनु रोग हो भने कन्याउनु त्यसको उपचार हो । अनि, सगबगी नै जीवन्तताको परिचय पनि हो ।

शरीरको सगबगीबाट जीवन्तताको र आन्तर सगबगीबाट चेतनशीलताको बोध हुन्छ । यो दुई सगबगीको मात्रा नै सही अर्थमा मानव–समाज, सभ्यता र संस्कृतिको भिन्नभिन्न पहिचान हो । त्यसैले पनि आजकल मलाई शारीरिक र मानसिक दुवै प्रकारका सगबगीले आकर्षण गर्न लागेका छन् । अस्तु ।

(मिश्रको ‘अन्तर तरङ्ग’ निबन्धसंग्रहबाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC