site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यानो कोठा चिसो मन 
Tiktok banner adTiktok banner ad

‘मेरा मुटुहरू, मायाहरू...!’

यस्तैयस्तै आवाज आइरहेछ पल्लो बेडबाट । कम्बलभित्रबाट फुत्त महिला निस्किन्छिन् र बेडबाट तल झर्छिन् । म हेरिरहन्छु ।

उनको मोबाइल बेडमै हुन्छ । आवाज प्रस्टै सुनिन्छ, ‘मेरा मायाहरू, मेरा मुटुहरू, एउटा मिठो गीत गाइदिनु न ल ।’

महिला वार्डबाट बाहिरिन्छिन् । सायद वासरुम गएकी होलिन् । उनी बाहिरिएको करिब तीस मिनेटपछि पुनः बेडमा आइन् । उनको मोबाइलमा भने माया र मुटुहरूसहित केही आवाज आइरहेका थिए ।

मैले त्यति ध्यान दिइनँ । म बिरामी आमालाई कुरिरहेको थिएँ । उनी उसैगरी बेडमा कम्बलभित्र पसिन् ।

मंसिरको अन्तिम सप्ताह चलिरहेको छ । काठमाडौंलाई जाडोले घप्लक्क अँगालो मार्दै थियो । अझ बेलुकीको समय चिसो निकै बढ्दो थियो । तथापि, कोठा दक्षिणतर्फ भएकाले भित्र त्यति जाडो थिएन । मैले यताउता हेरेँ एसी कतै छ कि भनेर, तर रहेनछ । तैपनि, कोठा न्यानो नै थियो । कोठा न्यानो भए पनि मन भने चिसै हुँदो रहेछ अस्पतालमा !

आमाको अस्पताल बसाइको दोस्रो दिन थियो । म पुग्दा साँझको ५ बजिसकेको थियो । साँझ पर्दैै गर्दा क्रमशः अस्पतालको भीड कम हुँदै थियो । अस्पतालमा हेर्यो, संसारका बिरामी सबै त्यहीँ छन् जस्तो लाग्ने ! अहिले कुनै न कुनै रोग नभएको मान्छे भेट्नै कठिन छ । त्यसैले त औषधिको व्यापार धेरै नै चम्केको छ । अस्पतालको व्यापार दिन दुईगुना रात चौगुना फैलिएको छ ।

भाइ रामकृष्ण खाना खान घर गएको छ । परिस्थिति जे जस्तो भए पनि खानैपर्ने रहेछ । अरू बेडका बिमारी कुरुवाहरू पनि खाना खाने तरखर गर्दै थिए । आफन्तहरू सबै घर गइसकेका छन् । आमासँग म एक्लै छु ।

आमा बेडमा निदाइरहनुभएको छ । म आमाको अनुहार हेरिरहेको छुु । अस्पतालको बसाइ कहाँ सजिलो हुन्छ र ? हरेक बिरामीलाई चाँडै निको भएर आफ्नै घर फर्कने हतार हुन्छ । कतिको त्यही अस्पताल अन्तिम हुन्छ, घर फर्कनै पाउँदैनन् ।

दुःखसुखको चौतारी हो जीवन । हाँसोे र रोदनबीच हामीले आफ्नो उमेरको गाडीलाई धकेल्नु छ अघिअघि । तर, समयभन्दा माथि हामी पुग्न सकेका छैनौँ । समयले हामीलाई धकेलिरहेको छ ।

अस्पताल रमणीयस्थलमा छ । केही ठूला–साना रुखहरू छन् । गाडीका ध्वनि सुनिँदैन । बगैँचामा फूलहरू ढकमक्क फुलेका छन् । तर, अस्पतालमा जाने व्यक्तिहरूको मन फुल्न सकेको छैन । रुखहरूबाट झरेका पात हेर्छु, हामी पनि जसरी रुखबाट पात अलगिन्छन्, त्यसैगरी अलग हुन्छौँ ।

सुगन्धित फूल जब ओइलाएर झर्छ, त्यसलाई कसैले वास्ता गर्दैन । हाम्रो जीवन पनि त्यही हो । सास रहुन्जेलको आस नै भनौँ । यस्तै कुरा खेल्दै मन विह्ल हुन्छ । आमा मस्त निद्रामा हुनुहुन्छ । म आमाको अनुहार हेरिरहन्छु ।

भाइ रामकृष्ण आमाको रिपोर्ट ‘राम्रो आयो दाइ’ भन्छ । यद्यपि, आमा झनै शिथिल हुनुभएको छ । त्यही रिपोर्ट हेरेर चित्त बुझाउन खोज्छौँ हामी । मन भने आत्तिरहन्छ ।

अस्पताल बस्ने कसैलाई रहर हुँदैन, यो त बाध्यता हो । त्यही बाध्यतासँगै आमाको रोग निको बनाउनु हाम्रो प्रमुख लक्ष्य थियो । हामी डाक्टर र नर्सको निगरानीमा आमालाई कुरिरहेका छौँ, फिमेल मेडिकल वार्डको बेड नं. ३८ मा । यो वार्डमा १२ वटा बेडहरू छन्, प्रायः सबै बिरामीले भरिएका । खाली हुनै पाउँदैनन् । यस्ता अस्पताल काठमाडौंमा धेरै छन्, जहाँ गए पनि यस्तै भीडभाड हो ।

पल्लोपट्टि मेल मेडिकल वार्ड छ । दुवै गरेर ३४ बेड छन् । उनीहरूलाई हेर्ने जम्मा दुईजना नर्स मात्र छन् । तिनलाई भ्याइनभ्याइ हुन्छ । कहिलेकाहीँ त नर्सहरूलाई आपतै पर्दौ रहेछ । एकैचोटि यता पनि बोलाउँछन्, उता पनि । उनीहरूको धैर्य देखेर म दंग पर्छु ।

एक दिन भाइले भन्यो, ‘दाइ, औषधि लिन जाऊँ ।’

मैले भनेँ, ‘किन दुईजना जानु, एकजना गए भइहाल्छ नि !’

‘धेरै हुन्छ दाइ, त्यसैले जाऊँ भनेको ।’

एकजनालाई बोलाएर सबै बिरामीहरूको औषधि लिन पठाउँदा रहेछन् । दुईजनाले पनि बोक्न हम्मेहम्मे पर्यो हामीलाई । औषधिकै भरमा बाँच्नुपर्ने हामी, अहम्को पहाड निरन्तर चढिरहन्छौँ !

बेड नं ३७ मा ती महिला कम्बलभित्र पुनः एकोहोरो भन्दै थिइन्, ‘मेरा मुटुहरू, मेरा मायाहरू, म आएँ है ! म त अस्पतालमा छु, मलाई भेट्न कोको आउनुहुन्छ ? ल ल डबल ट्यापट्याप गर्नु न हो, कति कन्जुस हो तपाईंहरू त ! मलाई त खोइ केही पनि आएन । कस्तो निष्ठुरी हो तपार्इंहरू त ! लु एउटा गीत गाउनु त, कस–कसलाई कण्ठ छ मेरो गीत ?’

थोरैथोरै कुरा सुनिन्छ । एकोहोरो उनी बोलिरहेकी छन् । फोनमा कल्याङकुलुङ् आवाज आउछ । ध्यान नदिउँभन्दा पनि मेरो ध्यान उतै खिचिरहेको छ ।

यता, आमा मस्त निद्रामा हुनुहुन्छ । मैले आमालाई उठाउने कोसिस गरिनँ । औषधिले निन्द्रा लागेको छ, केही समयपछि आफै उठ्नुहुन्छ । म असमञ्जसमा छु, उनले के गरेकी होलिन् यस्तो ?

तुरुन्तै सोध्ने कुरा पनि भएन । कुरुवाहरू सुत्ने तरखर गर्दै छन् । एक मनले सोचेँ– यिनी मानसिक रोगी पो रहिछन् कि क्या हो !

बेड नं ३९ का दाइ तीन महिनादेखि पत्नीको उपचारमा हुनुहुन्छ । उहाँ यहाँको रैथानेजस्तै बन्नुभएको छ । एकजना बहिनी सबै बिरामीहरूको हालखबर सोध्ने, सहयोग गर्ने, निकै सहयोगी थिइन् । ती बहिनी तालिमप्राप्त सेल्फडिफेन्डर रहिछन् । उनको नाम भने बिर्सेँ ।

म प्रायः बिहान र बेलुकाको समयमा पुग्ने भएकोले त्यहाँको चलनमा त्यति भिज्न सकिरहेको छैन । अरूसँग बोल्न पनि के बोलौँजस्तो हुन्छ । सबै बिरामी अनि आफन्तको पीडा प्रस्टै बुझ्न भने सकिन्छ । सधँै हतारको जिन्दगी, अस्पतालमा हतार देखिएको छैन । कुर्नुभन्दा अर्को उपाय पनि त छैन !

यति बेला म श्रीबाबु कार्कीको निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’भित्रको एउटा निबन्ध ‘नियतिको आकस्मिकता’ सम्झिरहेको छु । श्रीबाबुले कोरोनाकालमा आफ्ना पिताजीको उपचारका क्रममा एक महिनाभन्दा लामो समय अस्पताल बस्दा लेखेको निबन्धका हरफहरूले त्यो त्रासदपूर्ण समयको झल्को गराएको छ । अहिले त्यो बेलाको जस्तो नभए तापनि अस्पताल बसाइ सधैँ सबैका लागि सकसकै घडी हो ।

अहिले आमा उठ्नुभयो । पानी खुवाएँ । केही कुराकानी भयो । ‘निमोनियाले समातेको रहेछ, चाँडै निको भएर घर जानुपर्छ । लौ, औषधि खाने बेला भएछ, खानुस्’ भनेँ ।

आमाले हल्का खाना खानुभयो । मैले खुवाउनुपर्ने औषधि खुवाएँ । साँझ क्रमशः ढल्किँदै छ । कोही सुतिसकेका छन्, कोही बिरामीकै सुसारमा छन् । रात निसासिँदो हुँदै छ । पल्लो बेडको बिरामी बहिनीका कोही कुरुवा थिएनन् । उनी अबेर रातिसम्म के–के भन्दै थिइन् ।

भाइ रामकृष्ण खाना खाएर आएपछि मैले सोधेँ, ‘ती बहिनीले के गरेकी हुन् ?’

‘टिकटक लाइभ गरेकी रे दाइ !’

म फिस्स हाँसेँ । टिकटकमा त्यति ध्यान नदिने मलाई के थाह टिकटक लाइभ ! अर्को कुरा, अस्पतालको बसाइमा मैले टिकटक नै बिर्सेछु । जमानाअनुसार चल्न नजान्नु मेरो कमजोरी होला भन्ने ठानेँ ।

रात छिप्पिँदै गयो । भाइले ‘दाइ, घर जानु’ भनेपछि मात्रै म घरतिर लागेँ । बाटोभरि ती बहिनीको कुरा सम्झिरहेँ । तापनि, मन भने आमा कहिले स्वस्थ हुनुहुन्छ होला भन्ने लागिरह्यो ।

उता, अर्को भाइ डिल्ली चिन्तित छ, आमाको स्वास्थ्यस्थितिलाई लिएर । केही दिनदेखि छोरा लोकेशसँग कुराकानी हुन सकेको छैन । ऊ पनि चिन्तित छ । म्यासेज गरिरहन्छ र आमाको स्वास्थबारे जानकारी लिइरहन्छ ।

आमा बेडमा सुुतिरहँदा बाल्यकालको सम्झना फिल्मको रिलझैँ घुमिरहन्छ । आमाका दुःखका कथा लेख्दा ठूलै महाकाव्य बन्न सक्छ । जीवनका आरोह–अवरोहका गन्थनै भनौँ, दुःखसुख, मायामोहले जेलिएको हाम्रो नियति यस्तै यस्तै हो ।

माया जतिसुकै गाढा भए पनि विछोडका ब्रजपात कति बेला पर्छ, थाहै हुँदैन मान्छेलाई । समयको यो नियतिलाई कसैले रोकेर रोक्न सक्दैन । जीवनमा पर्ने दुःखसुख हाम्रै दौँतरी न हुन् । हाम्रो जन्मसँगै हुर्केका ।

आमासँगै बसिरहँदा कति बेला कति बेला मन भारी हुन्छ । नर्सहरूले रगत निकाल्दा होस् वा आमाले दुख्यो भन्दा, मन चसक्क हुन्छ । मनमा गाँठो पारेरै भए पनि ‘औषधि खाएपछि ठिक हुन्छ आमा’ भनेर सम्झाउनुभन्दा अरू हामीले के नै गर्न सक्थ्यौँ र ?

आमा लामो समय अस्पताल बस्नुभएको छैन । आधा दर्जन बढी सन्तानकी हाम्री आमा निकै स्वस्थ हुनुहुन्थ्यो । सम्झेँ– जोर गाग्री पानी बोक्ने, आफ्नो खेती उतार्ने, सन्तानलाई पनि स्याहार्ने हाम्री आमा आज निरीह अस्पतालको शय्यामा पल्टिनुभएको छ । हामी नजिकै बसेर हेरिरहेका छौँ ।

भोलिपल्ट ती बहिनीसँग कुराकानी भयो । टिकटकका बारेमा भने केही कुरा भएन । यो आ–आफ्नो इच्छाको कुरा हो । आफँै बिरामी अनि अस्पतालको बसाइमा भने यो अलिक भद्दा नै लाग्यो । अरूलाई डिस्टर्ब नहोस् भनेरै उनी कम्मलभित्र पसेकी हुनुपर्छ ।

कुराकानीकै बीच उनको फोनमा घण्टी बज्छ । उताबाट सानो छोरा ‘ममी, कहिले आउने ?’ भनेर रुँदै थियो । छोरासँग उनी गहभरि आँसु पारेर ‘चाँडै आउँछु’ भन्दै थिइन् ।

उनी भन्दै थिइन्, ‘मलाई धेरै रोगले गाँजेको छ । जिन्दगीको के भर छ र ! पुलिसको जागिर – श्रीमान् एकातिर, छोेरा एकातिर, आफू एकातिर । बिजोग छ दाजु ।’

म निःशब्द उनको कुरा सुनिरहेँ । मैले उनको कुरामा फर्काउने कुनै शब्द भेटिनँ । मनमनै यति भनेँ– ईश्वरको लीला अपरम्पार छ ।

उनको कुरा सुनिसकेपछि पीडा भुल्नकै लागि टिकटकमा रमाएकी रहिछन् भन्ने लाग्यो । केही गीतमा मोडलिङ गरेकी रहिछन् । केही लोकगीत पनि गाएकी छु भन्थिन् ।

वास्तवमा भन्ने हो भने हाम्रो शरीर रोग नै रोगको अड्डा हो । खानपान र मिसावटले पनि होला, त्यसको असर हामीले निरन्तर भोगिरहेका छौँ । जे जस्तो भए पनि पेट भर्ने बहानामा हामी दिनहँु विष सेवन गरिरहेका छौँ । उमेरको नदी नतर्दै कैयौँ मान्छे जीवनको नदी पार गरिसकेको हामीले देखिरहेका छौँ ।

हामीले जताबाट जे जसरी कुरा गरे पनि राज्यसत्तासँगै गएर ठोकिन्छ । विगतदेखि वर्तमानसम्मका शासकवर्गले जनतालाई दिएको भन्दा जनतासँग असुल गरेको फेहरिस्त धेरै देखिन्छ । जता र जहाँ हेरे पनि विकृतिका चाङ बढी देखिन्छ । जनताको स्वास्थ्यसँग खेलबाड भइरहेको छ । र त बग्रेल्ती खोलिएका अस्पतालहरूमा भीड देखिन्छ ।

जहाँ म छु, यो सरकारी अस्पताल हो । विशेषतः प्रहरीलाई उपचार गर्न खोलिएको अस्पताल हो । यहाँ प्रहरीका परिवारलाई सहुलियत दरमा उपचार हुँदो रहेछ । अहिले पब्लिकका लागि पनि खुला गरिएको रहेछ ।

तथापि, पब्लिकभन्दा प्रहरीकै परिवार तथा प्रहरीको उपचार भइरहेको छ । काठमाडौंको मुटु महाराजगन्जमा अवस्थित यो अस्पताल मध्यम आय भएका मान्छेका लागि निकै राम्रो छ ।

हाम्रो मुलुकमा भीआईपी जो कोही बिरामी भए भने नेपालमा उपचार गर्दैनन् । किनकि, यहाँ उनीहरूलाई कसैैमा भरोसा र विश्वास नै छैन । जबकि, आममानिस यहीँ निको भइरहेका छन् ।

कान्छो भाइ नेपाल प्रहरीमा जागिरे भएकाले आमाको उपचारका लागि यहाँ ल्याइएको हो । अस्पताल बसाइकै क्रममा आमा निकै गल्नुभएको थियो । करिब एक हप्तासम्म त राम्रै थियो, त्यसपछि भने उहाँको हाउभाउमा परिवर्तन आउन थाल्यो ।

अमेरिकामा बसोबास गर्ने भाइ डिल्ली आइपुग्यो । अहिले हामी पाँच भाइ नै आमाको समीपमा छाँै । आमाको स्वास्थ्यको रिपोर्ट ठिक आउँथ्यो, तर स्वास्थ्य अवस्था बिग्रँदो थियो । डाक्टर र नर्सहरूको प्रयास राम्रो थियो ।

स्वास्थ्यमा केही सुधारका संकेत देखिएपछि डिल्ली अमेरिकातिर फर्कियो । कहिले आईसीयू त कहिले जनरल वार्ड गर्दै २४ दिन बितिसकेछ, अस्पताल बसाइको । बिरामी गल्नु त छँदै छ, कुरुवा पनि बिरामी पर्दा रहेछन् अस्पतालमा त ! हुन त यो नौलो कुरै भएन, आफूलाई संसार देखाउने जननीका लागि हामी जे जस्तो भोग्न पनि तयार थियौँ । बस्, आमाको स्वास्थ्य ठिक हुनुपर्यो ।

यसका लागि मसहित भाइ बासु, डिल्ली, रामकृष्ण, भतिज विवेक, नवीन, राजु र मदन दत्तचित्त भएर लागेका थियौँ । आमाको स्वास्थ्यको कामना गरेर अस्पतालमा हामीलाई सान्त्वना दिने आफन्त, साथीभाइहरूको कमी थिएन ।

सान्त्वना भन्ने ठूलो कुरा रहेछ, आशाको सञ्चार गराउँदो रहेछ । हामी आमा स्वस्थ्य हुनुहुन्छ भन्नेमा आशावादी थियौँ । रामकृष्ण र म भने आमाको बिग्रँदो स्वास्थ्यका विषयमा परिचित थियौँ । तैपनि, सबैलाई आश्वासन दिइरहेका थियौँ ।

काठमाडौंमा रहँदा अरू बिरामीहरूलाई डिल्ली ऊनीको पछ्यौरा दिन्थ्यो, कहिले जुस तथा फलफूललगायत सामग्री पनि । आमाको स्वास्थ्य अवस्था ठिक होस् भनेर मानव सेवा आश्रममा गई दीनदुःखीलाई खाना वितरण गरेको थियो ।

धनभन्दा मन ठूलो छ उसको । कसैको दुःख देख्नै चाहँदैन, झटपट सहयोग गरिहाल्छ । झन् आमाको यस्तो अवस्थामा ऊलगायत हामी सबै विह्वल थियौँ । २०५७ सालमा बुबालाई गुुमाएपछि हाम्रोे छानो भनेकै आमा हुनुहुन्थ्यो । त्यसैले हामी हाम्रो छानो उजाडिएको देख्न चाहँदैनथ्यौँ ।

प्रयास निरन्तर थियो । दिदीहरू मैयाँ र तुलसी निरन्तर आमाको समीप हुन्थे । भान्जा उद्धव पनि हामीसँगै रहन्थे । दिउँसो भेट्न आउने आफन्तको भीड नै हुन्थ्यो अस्पतालमा ।

बेलुका भने उही सन्नाटा छाउँथ्यो । निरन्तर व्यस्त दैनिकी अस्पतालको कुरुवामा सीमित थियो । यही समयमा आमाको अनुहार हेर्यो, विगतका चित्र फनफनी घुम्न थाल्दथ्यो ।

दाजुभाइ धेरै भएको पनि एकप्रकारले राम्रै हो । पालैपालो आमाको सेवामा लाग्न सकियो ।

धेरै समय बसेपछि अस्पताल पनि आफ्नै घरजस्तो लाग्ने रहेछ ! बिरामी आउने जाने क्रम उस्तै थियो । बेड नं. ३७ की बहिनी केही दिनमै डिस्चार्ज भएर घर फर्किइन् । उनी भन्दै थिइन्, ‘अब दुई महिनापछि आउनु भनेका छन् डाक्टरले । यो जिन्दगीको के नै भर हुँदो रहेछ र, तैपनि अनेकाँै रोग लुकाएर हाँस्नुपरेको छ ।’

हो जीवन भनेकै यही नै हो । जीवनरूपी भवसागरमा डुबेपछि जे जस्तो पनि सहनुको उपाय हुँदैन । ६३ वर्षसम्म आमा लामो समय अस्पताल बस्नुभएको रेकर्ड छैन । आमाको जीवनको कथाका पाटाहरूको साक्षी हामी स्वयम् छौँ ।

जुन दिनदेखि आमाबुवाको दुःख बुझ्ने भएँ, त्यसै दिनदेखि मैले कहिल्यै गुनासो गरिनँ । एसएलसी दिएर चुपचाप सहरमा दुःख गरेँ । र, बुबाका केही दुःख कम गर्ने प्रयास गरेँ । लेख्दै गएमा एउटा बृहत् ग्रन्थ बन्न सक्छ । जिन्दगीले क्रमशः लेखाउला नै, अहिलेलाई भने अस्पतालकै प्रसंग ।

धेरै दाजुभाइ हुनुका धेरै फाइदा छन् । र, बेफाइदा पनि । नकारात्मक पनि छन् । सकारात्मक पनि । यी सबैको फल भने लाभदायक नै लागेको छ, आजसम्म । आमाले दुःखका पहाड बोकेर हामीलाई गरी खान सक्ने बनाउनुभयो । पछिल्लो अवस्थामा सबै भाइहरूको प्रगति देखेर आमा दंग पर्नुहुन्थ्यो ।

बुबाले हाम्रो पौरख देख्न पाउनु भएन, आमा साक्षी हुनुहुन्थ्यो । आमा दुईपटक अमेरिका पुग्नुभयो । संसार देख्नुभयो । बुबाले आकाशमा देखाउनुभएको चिलगाडीमा आमा चढेर अमेरिका पुग्नुभयो ।

२४ दिनको अस्पताल बसाइपछि आमालाई घर लगियो । पहिला ‘मलाई घर लैजाओ न’ भन्ने आमाको मुहारमा घर लैजाँदै गर्दा कुनै खुसी देखिएन । घर लगेको तेस्रो दिनमै आमा बिहानीको मिर्मिरे तारालाई साक्षी राखेर भगवान्को घरतर्फ प्रस्थान गर्नुभयो ।

बापछि आमाको त्यो महाप्रस्थानको बाटो हामीले रोक्न सकेनौँ । आमाको अन्तिम यात्रामा यति लेख्नसकेँ–
जीवनको अन्तिम विश्राममा 
दुःखका भारी बिसाएर 
दाउराको ओछ्यानमा 
आगोको संगीत सुनेर 
धुवाँको सिँढी चढ्दै 
आमा परमधामको मार्गमा 
हिँड्नुभयो 
हामी 
निरीह बनेर 
टुलुटुलु हेरिरह्यौँ ! 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro