site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकतान्त्रिक गठबन्धनमा सबैको ध्यान २ नम्बर प्रदेश, समानुपातिक सूचीले क्षेत्र बाँडफाट ओझेलमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस आन्तरिक छलफलमा व्यस्त बनेपछि लोकतान्त्रिक गठबन्धनको काम ओझेलमा परेको छ । गत असोज १९ गते गठित लोकतान्त्रिक कार्यदलले न्यूनतम साझा कार्यक्रम र अवधारणा बनाएर गठबन्धन बनाउन बाटो खोल्ने भनिए पनि त्यसको जिम्मेवारी पाएको कार्यदलले अझै अवधारणा तयार पारेको छैन् । 

‘‘कांग्रेस समानुपातिकको गृहकार्यमा व्यस्त भएका कारण अवधारणा बनाउन ढिलाई भएको खबर पाएका छौं,’’ लोकतान्त्रिक गठबन्धन निर्माणका लागि गठित कार्यदलका सदस्य राष्ट्रिय जनता पार्टी, नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले भने, ‘‘अवधारण नबनेका कारण कार्यदलको बैठक बस्न सकेको छैन ।’’ 

कांग्रेस आन्तरिक छलफलमा व्यस्त भएका कारण आफूहरुले कार्यदलमा पेश गरेको प्रस्तावको प्रतिक्रियासमेत नआएको उनले बताए । लोकतान्त्रिक गठबन्धन निर्माण गर्न बनेको कार्यदलले सुस्त गतिमा काम गरिरहे पनि अन्य दलहरु गठबन्धन बन्नेमा भने ढुक्क छन् । ‘‘कांग्रेस नेतृत्वमा गठबन्धन बन्ने अवश्यम्भावी छ, नबनेर सुखै छैन,’’ नेता शुक्लले ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेश नम्बर २ मा तालमेल गर्न जटिलता भएकाले कार्यदल सुस्त गतिमा अघि बढेको जस्तो देखिएको उनले बताए । राजपा र संघीय समाजवादी फोरम मिलेपछि आफूहरु प्रदेश नम्बर २ मा बढि देखिएको र सोही क्षेत्रलाई कांग्रेसले पनि आधार क्षेत्र मानेका कारण तालमेल मिलाउन जटिलता देखिएको शुक्लको भनाई छ । राजपा–संघीय समाजवादीले पेश गरेको संयुक्त प्रस्तावमा प्रदेश नम्बर–२ मा दुई तिहाई अर्थात् ३२ मध्ये २४ सिट दावी गरिएको छ । 

कार्यदलकै अर्का सदस्य नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीले पनि कांग्रेसकै कारण लोकतान्त्रिक गठबन्धन निर्माणमा ढिलाई भएको बताए ।

‘‘हामीहरुले चुनावी तालमेल गर्ने सम्पूर्ण जिम्मा शीर्ष नेताहरु दिएर तल हामीहरु मिलाउँछौं भनेका हौं’’ उनले भने, ‘‘ तर शीर्ष नेताहरुबीच सिट संख्या, कुन क्षेत्र कसले लिने र कति लिने भन्ने बारे छलफल हुन नसकेका कारण कार्यदल सुस्त रुपमा अघि बढेजस्तो देखिएको हो ।’’

कार्यदल सदस्य चौधरीले पनि लोकतान्त्रिक गठबन्धन बन्नुको विकल्प नभएको बताउँदै भने, ‘‘हामीहरुबीच तालमेल नहुने कुरै छैन । पछिल्लो राजनीतिक घट्ना क्रमका कारण तालमेल जसरी पनि हुन्छ ।’’ 

गठबन्धनमा सहकार्यका आधारहरु केलाई मान्ने, चुनावी तालमेल हुँदा सिट संख्या विभाजनको आधार के हुने, गठबन्धनले अपनाउने आचार संहिता कस्तो बनाउने र निर्वाचनको परिणाम पछि गठबन्धनलाई कसरी अघि बढाउने भन्ने लगायतका विषयमा अवधारणा तयार नभएका कारण कार्यदलको बैठक बस्न सकेको छैन । कार्यदलको अवधारण बनाउने जिम्मा कार्यदल सदस्य तथा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई दिइएको छ । 

कार्यदलको काम केही ढिला भएको कार्यदलका सदस्य कांग्रेस नेता पूर्णबहादुर खड्काले स्वीकार गरे । औपचारिक ढंगले शीर्ष तहको छलफलसँगै साझा कार्यक्रम र अवधारणामा समेत छलफल सुरु भएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १८:२२
प्रतिक्रिया दिनुहोस्