site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसका शीर्ष नेता प्रत्यक्ष ताक्दै, आफ्नोभन्दा जित्ने खोज्दै 

काठमाडौं ।  कांग्रेसभित्र एउटा भनाई निकै चर्चित छ– कांग्रेसलाई कांग्रेसले नै बढी हराउँछ ।’ 

टिकट सिफारिसदेखि नै विवादको घेराभित्रै रहने र संसदीय बोर्डसम्म आइपुग्दा भागबण्डा गरेर कमजोर व्यक्तिलाई टिकट दिने परिपाटी यसपटकदेखि अन्त्य गर्न चाहेको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य गगन थापा भन्छन्– “यसपटक पार्टीले पहिलेभन्दा फरक तरिकाले टिकट वितरण गर्नेछ । आफ्नो भन्दा पनि चुनाव जित्ने उमेदवार हेरेर टिकट वितरण हुनुपर्छ ।”

आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेश नम्बर २ बाहेक सबैजसो जिल्लाबाट सिफारिस आइसकेको छ ।

कांग्रेसले यसपटक समानुपातिक सूचीमा रहेर सांसद् बनेकाहरुलाई नदोहोर्याउने निर्णय गरेपछि शीर्ष नेताहरुसहित प्रभावशाली नेताहरु चुनावी मैदानमा होमिन लागेका छन् ।

राजपा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपालसँग गठबन्धन र क्षेत्र बाँडफाँट टुंगो लगाउन यतिबेला कांग्रेस नेताहरु व्यस्त छन् ।

गठबन्धन बनाएर जाँदा कति कति क्षेत्रमा उमदेवारी दिने भन्नेबारेमा पनि अहिले पार्टीभित्र छलफल भैरहेको कांग्रेसले जनाएको छ ।

तर कांग्रेसका प्रभावशाली नेताहरु जिल्लाबाट प्रत्यक्षकै लागि सिफारिसमा परेका छन् ।

कांग्रेसका अनुसार सभापति शेरबहादुर देउवा डडेल्धुराबाट, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१, महामन्त्री शशांक कोइराला नवलपरासी पूर्व–१, प्रकाशमान सिँह काठमाडौं–१, कृष्णप्रसाद सिटौला झापा–३, पूर्णबहादुर खड्का सुर्खेत–१, डा. रामशरण महत र अर्जुननरसिँह केसी नुवाकोट–२, गोपालमान श्रेष्ठ स्याङ्जा–१ र २ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ सिफारिशमा परेका छन् । 

कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि र कोषाध्यक्ष सीतादेवी यादवको नाम भने सिफारिस भइसकेको छैन । प्रदेश नम्बर २ का पर्साबाहेकका सात जिल्लाहरुले आशन्न प्रदेश सभा र प्रतिनिधि सभाका लागि उमेदवारहरुको नाम सिफारिस गरिनसकेको कांग्रेसले जनाएको छ । यस्तै रुकुम र रोल्पाबाट पनि उमेदवारको सिफारिस आएको छैन ।

बाँकी ६८ जिल्लाले प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उमेदवारका आकांक्षीका नाम पठाइसकेको कांग्रेसका मूख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय राजनीतिमा चिनिएका कांग्रेसका धेरै जसो नेताहरु पनि प्रनितिधि सभाको प्रत्यक्षतर्फ नै चुनाव लड्न इच्छुक देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद कञ्चनपुर–२, रमेश लेखक कञ्चनपुर–३, दिलेन्द्रप्रसाद बडू दार्चुला, बद्रि पाण्डेय बाजुरा, चीनकाजी श्रेष्ठ गोरखा–१, सुरेन्द्र पाण्डेय र कमला पन्त गोरखा–२, दीपक खड्का संखुवासभाबाट प्रत्यक्षतर्फ निर्वाचन लड्न इच्छुक देखिएका छन् । 

यस्तै यूवा नेता गगन थापा काठमाडौं–४, विश्वप्रकाश शर्मा झापा–१, किशोरसिँह राठौर बर्दिया–२, प्रदीप पौडेल तनहुँ–२, रामनाथ अधिकारी धादिङ–२, बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उमेदवारमा सिफारिस भएको कांग्रेसले जनाएको छ ।  

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायर डोटी, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–१ र २, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी चितवन–२, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा कास्की–१, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द बैतडी, सांसदहरु रामकृष्ण घिमिरे, अञ्जली श्रेष्ठ र उमेश श्रेष्ठको नाम चितवन–३, बहादुरसिँह थापा कञ्चनपुर–२ र ३, दिवानसिँह बिष्ट कञ्चनपुर–१, जीवन परियार कास्की–१, शारदा पौडेल कास्की ३, सुजाता कोइराला र डा मिनेन्द्र रिजाल मोरङ–२ तथा डा. आरजु राणा कैलाली–५ तथा बर्दिया–२ बाट प्रत्यक्षतर्फको उमेदवारमा सिफारिसमा परेका छन् ।  

प्रतिनिधि सभा निर्वाचनका लागि सत्तारुढ कांग्रेसका दुई दर्जन नेताहरु विभिन्न जिल्लाबाट प्रत्यक्ष तर्फको उमेदवारका लागि सर्वसम्मत सिफारिशमा परेका छन् । कांग्रेसका विभिन्न १३ जिल्ला कार्य समितिहरुले पार्टी सभापति शेरबहादुर देउवादेखि युवा नेता विश्वप्रकाश शर्मासम्मका नेताहरुलाई प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फको उमेदवारका लागि निर्बिरोध सिफारिसमा परेका हुन् । 

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेर आशन्न निर्वाचन लड्ने निश्चित भएपछि सम्भावित हारबाट जोगिन कांग्रेसका १३ जिल्ला कार्य समितिले प्रतिनिधि सभाका लागि सर्वसम्मत निर्णय गरेको अनुमान गरिएको छ । 

को को हुन् सर्वसम्मत सिफारिश हुने नेता ?
 

क्र.सं.               नेताको नाम       जिल्लाको नाम
१          शेरबहादुर देउवा     डडेल्धुरा
२          प्रकाशमान सिंह     काठमाडौं–१
३          कृष्णप्रसाद सिटौला     झापा–३
४          पूर्णबहादुर खड्का     सुर्खेत–१
५          हृदयराम थानी     सुर्खेत–२
६          नवीन्द्रराज जोशी     काठमाडौं–८
७          बिश्वप्रकाश शर्मा     झापा–१
८          राजीव बिक्रम शाह     जाजरकोट
९          सीता गुरुङ     तेह्रथुम
१०          देउकुमार थेवे     झापा–४
११          डिकबहादुर लिम्बू     मोरङ–१
१२          अमृत अर्याल     मोरङ–५
१३          तीर्थबहादुर लामा     काभ्रे–१ 
१४          राजेन्द्र के.सी.     काठमाडौं–१०
१५          देवकरणप्रसाद कलवार     नवलपरासी (पश्चिम)–१
१६          देवेन्द्रराज कँडेल     नवलपरासी (पश्चिम)–२
१७         अब्दुल रज्जाक गद्दी     रुपन्देही–१
१८         भरत शाह     रुपन्देही–५
१९         सुरेन्द्र आचार्य     रुपन्देही–२
२०         बिरेन्द्रकुमार कनौडिया     रुपन्देही–३
२१         गोविन्द्रराज पोखरेल     प्युठान–१
२२         मोहन आचार्य     रसुवा
२३         हस्तबहादुर मल्ल     मुगु 
   

  

प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  १५:१६
प्रतिक्रिया दिनुहोस्