श्रम न्याय त संसारमा सबैभन्दा पहिले पूर्वीय क्षेत्रमा र नेपालमा व्यवस्थित गरिएको रहेछ । पौराणिक कालको पूर्वीय सनातन समाजमा ईसा पूर्व छैटौं शताब्दिदेखि नै श्रम नियमनको थालनी भएको इतिहास पाइन्छ । याज्ञवल्क्य स्मृति, नारद स्मृति, विष्णु पुराण आदि हिन्दु ग्रन्थहरू र इसापूर्व तेश्रो शताब्दीको कौटिल्य अर्थशास्त्रमा समेत श्रम र ज्याला भुक्तानीबारे उल्लेख गरिएको छ । सनातन संस्कृतिको 'संघे शक्ति कलियुगे' भन्ने संस्कृत श्लोकले त्यही समयमै पनि संघको शक्तिको महत्त्व थाहा भएको झल्काउँछ ।
विदुषां शास्त्रतः शक्तिः वीराण सा च शस्त्रतः ।
धन त्रमादितोऽन्येषां शक्तिः सर्वस्व संघतः ।।
यसको अर्थ हो विद्वान्ले जुन शक्ति शास्त्रहरूबाट प्राप्त गर्नेगर्छन् त्यही शक्ति वीरहरूलाई शस्त्रबाट प्राप्त हुन्छ । अरू सामान्य मानिसहरू त्यही शक्ति धन र श्रमबाट प्राप्त गर्छन् । तर, सङ्गठनहरूबाट यी सबै शक्तिहरू सबैलाई प्राप्त हुन्छन् । सबै शक्तिभन्दा संगठन शक्ति सर्वेसर्वा हुन्छ । भगवान बुद्धले 'संघम् शरणम् गच्छयामी' भनेर संगठित शक्तिको महत्त्व दर्शाउनु भएको थियो ।
लिच्छवी कालमा (सन् ४००) कर्मचारीलाई कर्मकर भनी परिभाषित गरिएको थियो । सर्वप्रथम हिन्दुधर्मको आधारमा विसं ७५० मा लिखित कानुन विकसित भएर कानुनको आधारमा काम सुरु भइसकेको थियो । जयस्थिति मल्लले चौधौं शताब्दीमा नै कामकै आधारमा चार जात ३६ वर्ण वर्गीकरण गरेर मानव न्याय शास्त्र जारी गरेका थिए ।
नरभुपाल शाह र पृथ्वीनारायण शाहले दास राख्न नपाउने नसिहत जारी गरे । मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो। पहिलोपटक विसं १९१० मा मुलुकी ऐन जारी गरिएको थियो । जंगबहादुर राणाले बेलायत यात्राबाट फर्केलगत्तै यो ऐन बनाएकोले यसमा युरोपको ठूलो छाया परेको छ भन्ने पनि गरिन्छ । तर यो नितान्त मौलिक कानुन हो ।
नेपालको कानुनको इतिहास हेर्दा १४औं शताब्दीमा नै राजा जयस्थिति मल्लले मानव न्यायशास्त्र जारी गरेका थिए । विसं १९१० को सन्दर्भमा विसं १९१० ( सन् १८५४)को मुलुकी ऐनलाई राम्ररी अध्ययन गर्ने हो भने यो कानुन निकै परिपक्व देखिन्छ । कानुनको अध्ययन गर्दा पश्चिमा देशहरूलाई अग्रपङ्क्तिमा राखेर अध्ययन गर्ने हाम्रा कानुनविद्ले हाम्रो आफ्नो मौलिक कानुनलाई त्यति वास्ता गरेको पाइन्न ।
पूर्वीय दर्शन पश्चिमाभन्दा कानुनको विकासमा धेरै पुरानो छ । नेपाली कानुनको स्रोत हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा लिपिबद्ध ज्ञान, विचार, अवधारणा र सिद्धान्त हुन् । यी स्रोत धेरै पुराना र एकदमै विश्वसनीय छन् । ऋग्वेद ५००० वर्षअघि नै लेखिएको बताइन्छ । पूर्वीय सभ्यताको इतिहास हेर्दा करिब ५००० बीसीमा नै इन्दु भ्यालीको सभ्यताको सुरु भएको पाइन्छ ।
मानव सभ्यतालाई चलायमान र व्यवस्थित बनाउनका लागि जुन ज्ञान विचार, अवधारणा र सिद्धान्त विकसित गरियो तिनै कुरा हाम्रो कानुनहरूमा प्रतिविम्बित भएका छन् । मुलुकी ऐन, १९१० मा हिन्दु दर्शनको भने पूर्ण प्रभाव रहेको पाइन्छ । जसरी हिन्दू धर्ममा अधिकारभन्दा कर्तव्यलाई बढी ग्राह्यता दिइएको छ त्यसरी नै मुलुकी ऐनमा पनि अधिकारभन्दा कर्तव्यलाई नै बढी महत्त्व दिइएको छ ।
मुलुकी ऐन सारवान र कार्यविधि दुवै कानुनी व्यवस्था भएको कानुनी दस्तावेज हो । मुलुकी ऐन, १९१० मा १६३ वटा महलहरु छन् जसमा "अदालतीको बन्दोबस्तको", "कैदी झिकाउन्याको", "म्यादको" लगायतका छुट्टै महलहरूमा कार्यविधि कानुनसम्बन्धी व्यवस्था गरिएको छ भने "जग्गा जमीनको", "मोही तलसिङको", "अंशबण्डाको" झारा खेतालाको ( श्रमको) लगायतका विभिन्न महलहरूमा सारवान् कानुनी व्यवस्था पाइन्छन् ।
यस हिसाबले नेपाली शासकहरू जनता शोषित गर्ने नभई जनतालाई शोषणबाट जोगाउन कानुन जारी गर्ने अनौठा शासकमा पर्छन् । संसारको पहिलो 'लेबर ल' त सन् १८५३ मै अर्थात् अमेरिकाको १८८९ को मे डेको आन्दोलनअघि नै नेपालमा जारी भइसकेको थियो भन्न हामीले किन नसक्ने ?
हामी नेपाली ट्रेडयुनियनवादीले त त्यही दिन श्रम दिवस मनाउनुपर्ने हो । तर, हामीले त यो बहसै छोडेका छौँ । उठाएकै छैनौ । अब चै किन चुप लाग्ने ?
जंङगबहादुरपछिका कुशासकहरूलाई गाली गर्दै नेपालको देशको र संसारको ऐतिहासिक श्रम आन्दोलनलाई हामीले किन बिर्सेका हौँ ?
हामी अमेरिका र पश्चिमाहरूको पछि लाग्यौँ । हाम्रा शासकहरू, श्रम इतिहासकार पनि त्यतै लागे ।
जतिखेर मिश्रमा तानाशाह फिराउन र दास नेता स्पार्टाकासहरूको संघर्ष थियो त्यतिखेर त नेपाल र पूर्वीय संस्कृतिमा राम राज्य थियो । जतिखेर अमेरिकी र पश्चिमीहरू श्रम नियमनको आन्दोलनमा थिए नेपालका शासकहरूले मुलुकी ऐन जारी गरी भरियाको ज्याला तोकिदिएका थिए ।
अमेरिकामा र युरोपमा त मजदुरहरूको आन्दोलन थियो तर नेपालमा कुन मजदुर या भरियाले न्यूनतम ज्याला तोक्नु पर्ने माग गरेका थिए र ? कोसँग माग नै राखेका थिए ?
यस तथ्यलाई लिएर नेपालको श्रम आन्दोलनको, श्रमको स्वर्ण इतिहास ( Golden labour History) मैले भन्ने गरेको छु ।
विक्रम सम्वत् २००३ सालको मजदुर आन्दोलनकै ऐतिहासिकतामा र अमेरिकाबाट सुरू भएको र विश्वले हावा सरह बगाइल्याएको 'मे डे' को हौवालाई पुनर्विचार गरी पूर्वीय विचारको, अभियानको संचार गर्ने अभियानको सुरू गर्ने आन्दोलनको पनि किन यही दिनबाटै सुरू नगर्ने ?
नेपालको स्वर्ण श्रम संसारको इतिहास संझाएर वर्तमान शासकहरूलाई पाठ सिकाउने, जंङ्गबहादुरजस्तै श्रम नियमनको पक्षमा उदाहरणीय शासक बन्न वर्तमान शासकहरूले प्रेरणा लिउन् भन्ने चेत खोल्ने र खुलाउने राष्ट्रिय श्रम दिन पनि मनाउने किटान गर्ने प्रण गर्दै अन्तर्राष्ट्रिय मे दिवस मनाऊँ !