site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आउँदो बजेटमा आफ्नो प्रदेशको विकासलाई प्राथमिकता दिन माग गरेछन् । स्वाभाविकै हो कर्णाली प्रदेश विकासका दृष्टिबाट तुलनात्मकरूपमा पछाडि परेकै छ । यसैले कर्णालीलाई प्राथमकिता दिनु न्यायोचित नै हुन्छ ।  

कर्णाली सामाजिक विकासका सूचकहरूमा नै कमजोर देखिन्छ भने भौतिक पूर्वाधारका दृष्टिमा पनि पछि नै परेको छ । अरू सुविधा त परै जा‌ओस् कर्णाली प्रदेशका कतिपय जिल्लाका सदरमुकामसमेत बाह्रै महिना चल्ने सडक सञ्जालबाट जोडिएका छैनन् ।

बिजुली र सञ्चार सुविधाका दृष्टिले पनि कर्णालीका जिल्लाहरू राष्ट्रिय औसतभन्दा निकै पछाडि नै छन् । त्यसको असर शिक्षा र स्वास्थ्य सुविधामा समेत पर्ने नै भयो । फलस्वरूप कर्णाली अविकासको दुश्चक्र उम्कन नसकेको हो ।

यसको मूल कारण त काठमाडौ‌ंको शासनले गरेको भेदभाव र उपेक्षा नै हो । यसैले सबैभन्दा पहिले कर्णालीले न्यायोचित भाग पाउनुपर्छ । सा‌ंसदहरूले माग गरेजस्तै कर्णालीको विकासका लागि विशेष कार्यक्रम र साधन विनियोजन गरिनुपर्छ ।
 
परन्तु, कर्णालीको अविकासमा दोषी भने काठमाडौंमात्र छैन । खासगरी कर्णालीका नाममा अहिलेसम्म ‘तर मार्दै’ आएका ठालुहरू पनि काठमाडौंका शासक जत्तिकै दोषी छन् । पञ्चायतदेखिकै कर्णाली क्षेत्रमा ठालुहरूले ‘विकास बाँडी खाने’ चलन थियो र अहिले पनि कम भएको छैन ।   
 
यसैगरी कर्णालीमा अरू प्रदेशका तुलनामा विकास खर्च गर्ने क्षमताको अभाव देखिएको छ । अर्कातिर, कर्णालीका स्थानीय तहहरूमा भ्रष्टाचार पनि अपेक्षाकृत बढी हुन्छ । विकासको मूख्य आधार शिक्षा र स्वास्थ्य भएको यथार्थ पनि कर्णालीका जनप्रतिनिधिले आत्मसात गरेको देखिएन । 

यसैले कर्णालीका जनतासम्म विकासको प्रतिफल पुगोस् भन्ने त्यहाँका सांसदहरूले वास्तवमै चाहेका हुन् भने थप रकम माग्नुभन्दा पहिले त्यहाँको विकासका निम्ति विनियोजित रकम सदुपयोग हुने वातावरण बनाउनुपर्छ । विशेषगरी ठालुहरूले विकास बाँडेर खान र खुवाउन बन्द गर्नुपर्छ । 

यस्तै वर्षौं सम्पन्न नहुने योजनामा कनिका छर्न लगाउनुको साटो केही वर्ष सडक सञ्जालको विकास र विस्तारमा ध्यान दिनु जरुरी देखिन्छ । सडक सुविधा भरपर्दो भए  निजी क्षेत्रले नै व्यवसायको विकास र विस्तार गर्नेछ । त्यसबाट स्वतः दिगो रोजगारी सिर्जना हुनेछ ।

कर्णालीका बालबालिकाको एउटा पुस्तालाई कम्तीमा १२ वर्ष उचित पोसिलो खानाका साथमा शिक्षा र स्वास्थ्यमात्र उपलब्ध गराउने हो भने अविकासका धेरै लक्षण आफैँ मेटिनेछन् । त्यसका लागि सम्भवतः अहिले शिक्षा र स्वास्थ्यका नाममा भएको भन्दा धेरै खर्च पनि गर्नुपर्दैन । 
  
यसैले कर्णालीको वास्तविक विकासका लागि ठालुहरूको मानसिकतामा परिवर्तन र विकासको भाष्य परिमार्जन सबैभन्दा बढी महत्त्वपूर्ण हुने देखिन्छ । अहिलेकै अवस्थामा त कर्णालीका लागि गरिने विनियोजन बालुवामा पानी खन्याएसरह हुनेमात्रै हो । ठालुहरूलाई पोस्न अब बन्द गरिनुपर्छ ।   


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro