site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
नेपाली संस्कृति केही सन्दर्भ

संस्कृति कुनै पनि मुलुक र समाजको धड्कन हो । भनिन्छ, समग्र पर्यावरणमा मानव जातिले सृजना गरेका सबै कुरा संस्कृति हुन् । मानिसको समग्र जीवन शैली, चिन्तनप्रणाली, मनोवेग, संवेग आदि सबै संस्कृतिबाटै अभिप्रेरित हुन्छन् । जीवन र जगतलाई हेर्ने दृष्टिकोण, परिवर्तनप्रतिको रूचि, अरूचि तथा श्रमप्रति सम्मान वा उपेक्षाजस्ता महत्त्वपूर्ण विचार र व्यवहार पनि संस्कृतिले नै निरूपण गर्दछ । 

लोकजीवनका आस्था, विश्वास, परम्परा र रीतिरिवाज संस्कृतिमै अन्तध्र्वनित भइरहेका हुन्छन् । संस्कृतिकै प्रभावले मानिस मानिसबीचमा भिन्नता देखिएको हो । वास्तवमा मानिसको मूल प्रवृत्ति र व्यक्तित्व निर्माणमा संस्कृतिले ठूलो भूमिका खेलेको हुन्छ । संस्कृतिले नै मानिसलाई जैविक प्राणीबाट सांस्कृतिक प्राणीमा रूपान्तरण गरेको हो । मानिसलाई पशुजगतबाट अलग्याएर विवेकशील धरातलमा उभ्याउने महत्त्वपूर्ण पक्ष संस्कृति नै हो ।

विविधतायुक्त हाम्रो समाजमा सबै जातिजातिले हुर्काएको आस्था र विश्वासहरूको सङ्गालो हो – नेपाली संंस्कृति ।

KFC Island Ad
NIC Asia

त्यसैले सांस्कृतिक विविधताका दृष्टिले नेपाल सम्पन्न र समृद्ध मानिन्छ । संस्कृतिको अध्ययन र अन्वेषणका लागि आश्चर्यलाग्दा विषयवस्तुको अपार भण्डार छ नेपालमा । मनमोहक प्रकृतिले मात्र हैन विविधतायुक्त संस्कृतिले पनि सुशोभित तुल्याएको छ नेपाललाई । तर, नेपाली संस्कृतिका  आधारभूत पक्षमा वैज्ञानिक तथा वस्तुवादी दृष्टिकोण र विश्लेषणको अभाव अझै खट्किन्छ  । 

संस्कृतिको सही पहिचान वर्तमान परिदृश्यलाई मात्र हेरेर संभव हुँदैन । ऐतिहासिक परिप्रेक्ष्य र आर्थिक जीवन प्रणालीको विशिष्ट सन्दर्भहरूबाट अलग्याएर संस्कृतिको यथार्थ मूल्यांकन हुन सक्दैन । इतिहासको कसीमा जा“च्दामात्रै नेपाली संस्कृति के कसरी परिवर्तन र रूपान्तरण हुँदै वर्तमान स्वरूपमा आइपुगेको हो भन्ने निर्क्योल गर्न संभव हुन्छ । विविध कालखण्डमा नेपालमा देखापरेका संस्कृतिका विविध भावधाराको आकलन गर्न ऐतिहासिक सन्दर्भहरू केलाउनु आवश्यक हुन्छ । नेपाली संस्कृतिले समग्र समाजलाई कतातिर डोर्‍याउँदै लगिरहेछ भन्ने बुझ्न पनि वस्तुवादी विश्लेषणको खाँचो पर्छ ।

Royal Enfield Island Ad

संस्कृतिको चरित्र निरूपण गर्ने गम्भीर सबालमा हामीकहाँ केही अन्योलपूर्ण चिन्तन पाइन्छन् । इतिहास र संस्कृतिका निर्माता एकाध राजा वा महाराजालाई मानेर त्यसैको सेरोफेरोमा टाक्सिरहने यो चिन्तनको धरातल ढुलमुले आदर्शवाद हो । यस्तो प्रवृत्ति कुनै राजा वा शासक खलकको स्तुति र वीरगाथामै रमाउन मन पराउ“छ । यसले विजेता वा शासक खलकले अपनाएका परम्परा र जीवनशैलीलाई नेपाली संस्कृतिको मेरुदण्ड मानेर त्यसको अतिशयोक्तिपूर्ण विश्लेषण गर्छ । यो प्रवृत्ति कुनै राजखलकको वंश परिवर्तनलाई नै इतिहासको युगान्तकारी घट्ना मान्छ अनि त्यसैलाई आधार बनाएर इतिहास र संस्कृतिको विकास तथा परिवर्तनको विवेचना गर्न रूचाउँछ । 

यस प्रकारको चिन्तनले अमुक राजाका पालामा नेपाली समाज र संस्कृतिको आधारभूत चरित्र नै फेरिएको अलौकिक एवं हास्यास्पद विश्लेषण गर्छ । यसले नेपालको सांस्कृतिक विविधताको संवेदनशीलतालाई बेवास्ता गर्दै विजेता शासक वर्गले अपनाएको संस्कृति नै नेपाली संस्कृति हो भन्ने एकाङ्गी तर्क अघि सार्छ । एकताको नाममा विविधता मेटाउन खोज्ने यस्तो चिन्तनबाट नेपाली संस्कृतिको सही पहिचान र प्रस्तुतिमा बाधा पुगिरहेको छ । बृहत्तर नेपालको उदय पश्चात्  विजेताको उन्मादमा हुर्किएका यस्ता चिन्तन र प्रवृत्तिहरूले नेपालका विविध जातिजनजातिबीच सांस्कृतिक सद्भाव बढाउने भन्दा बिथोल्ने काम नै बढी गरेकाले यस्तो चिन्तनको निरर्थकता स्वतः पुष्टि भएको छ । 

वास्तवमा सबै कुराको निर्माता र निर्णायक शक्ति भनेका जनता नै हुन् । जनताको सामथ्र्य,  शक्ति र क्रियाशीलता नै इतिहास र संस्कृतिका अपूर्व ऊर्जा हुन् । संस्कृतिको संरचना निर्माणमा जनसाधारणको भूमिका महत्त्वपूर्ण हुन्छ ।

आफू बाँचेको भौतिक र सामाजिक परिवेश, तिनीहरूसँगको अन्तरक्रिया र जीवन निर्वाहका क्रियाकलापमा विकसित हुँदै जाने विशेष प्रणालीले संस्कृतिको स्वरूप निरूपण हुँदै जान्छ । यसरी जनसमुदायको जीवनक्रिया नै संस्कृतिको सृजना स्रोत र भावधरातल हो ।

जनतालाई केन्द्रमा राखेर इतिहास र संस्कृतिको विश्लेषण गर्ने प्रवृत्ति वस्तुवादी चिन्तन प्रणाली हो । बहुलवादी नेपाली समाजले हुर्काएको विविधतायुक्त संस्कृति नै नेपालको विशिष्ट यथार्थ हो भन्ने आत्मसात् गर्नु पनि वस्तुवादी चिन्तन हो । यसरी विश्लेषण गर्दामात्र नेपाली संस्कृतिको यथार्थ तस्बीर हाम्रो सामुन्ने उभिन सक्छ । 

समाजमा विद्यमान आर्थिक जीवन प्रणालीबाट अलग्याएर संस्कृतिको प्रवृत्ति केलाउन सकिँदैन । राजनीति, संस्कृति आदि सबैको मूल आधार भनेकै आर्थिक जीवन प्रणाली हो । सामाजिक सम्बन्ध, रीतिथिति, जीवनशैली र आपसी व्यवहारलाई त्यस समयको आर्थिक प्रणालीले नै दिशा र आकार दिन्छ । आर्थिक जीवन प्रणालीमा आएको परिवर्तनसँगै संस्कृतिमा पनि क्रमशः परिवर्तन र रूपान्तरण हुँदै जान्छ । संस्कृति कोठाको भित्तामा झुन्डिएको तस्बिरजस्तो सँधै स्थिर रहने वस्तु हैन । विकासक्रमको इतिहासले भन्छ– मानव जातिको आरंभिक लामो जीवन जंगल, गुफा तथा ओढारमा बितेको थियो । त्यस परिवेशमा स्वभावतः सबैले मिलेर काम गर्ने र बरावरी बाँडेर खाने सामाजिक क्रियाको विकास भयो ।

आर्थिक प्रणालीको यस परिवेशले तत्कालीन मानव समाजमा   सामुदायिक चेत र जिम्मेवारीको सूत्रपात गरायो । यही चलन आरंभिक संस्कृतिको पहिलो मानवीय चेतना थियो । समयक्रममा घुमन्ते जीवनलाई परित्याग गरेर मानिसले कृषिजन्य आर्थिक प्रणालीमा हाम्फाल्यो र निजी संपत्तिको प्रादूर्भाव भयो । कृषिजन्य आर्थिक प्रणालीकै जटिल संरचनामा सामन्तवादको उदय भयो । सामन्तवादी आर्थिक प्रणालीले दास प्रथा जन्म दियो जो नेपालमा कानुनतः हटे पनि अर्कै स्वरूपमा आजसम्म विद्यमान छ । सामन्तवादकै सेरोफेरोमा  वर्गभेद, जातिभेद, छुवाछुत र सतीप्रथा जस्ता सामाजिक विकृतिहरू पनि नेपाली समाज र संस्कृतिमा भित्रियो ।  

समाजको आर्थिक जीवन प्रणालीसँग गाँसेर इतिहास–संस्कृतिको अवलोकन गरियो भनेमात्र यसका उतारचढावका महत्त्वपूर्ण सूत्र फेला पर्छन् ।  

नेपाली संस्कृतिभित्रका बलिया र दुर्बल पक्षलाई वस्तुवादी ढङ्गले केलाउन खोज्दा यसतर्फ पनि ध्यान पुर्‍याउनु आवश्यक हुन्छ । समयका विविध कालखण्ड काटेर नेपाली संस्कृति आजको अवस्थामा आइपुगेको छ । नेपाली इतिहासको एउटा लामो कालखण्ड सामन्तवादको प्रभाव र प्रभुत्वमा रहयो । नेपाली समाजमा व्याप्त भाग्यवादी संस्कृति त्यसैको प्रतिफल हो ।

भूत, प्रेत, ख्याक, पिशाचको मनोवैज्ञानिक दबाबले लामो समयसम्म नेपाली समाज आक्रान्त भयो । शासक खलकको गुणगानमा चाकडीको संस्कृति हलक्क मौलायो । स्वर्ग र नरक अनि पूर्वजन्म र भाग्यको कथामा जनसमुदायलाई अल्मल्याउने संस्कृतिको सञ्जाल त्यसैबेला व्याप्त भयो ।

पौरख र परिश्रमबाट टाढिदै गएका सामन्त शासकहरू र तिनका चाटुकारहरूले यसमा मलजल हाल्दै गए । परिणामतः ऐजेरुझैँ पलाउँदै गएको यो प्रवृत्ति अझै पनि हाम्रो समाजको तीव्र रूपान्तरणमा वाधक बनिरहेकै छ । सामन्तवादले तेर्स्याइदिएको भाग्यवादी संस्कृतिको प्रभावका कारण आफ्नै बुद्धि र मेहनतभन्दा कुनै चमत्कारको बलमा केही पाउने आशा गर्ने प्रवृत्ति पनि व्याप्त छ हाम्रो समाजमा ।  

नेपाली संस्कृतिभित्र दुर्बल पक्षहरूमात्र हैन सबल पक्ष पनि छन् । नेपाली संस्कृतिको अर्को महत्त्वपूर्ण पाटो यसमा अन्तर्निहित पौरख र परिश्रमको चेत हो ।

तर त्यसखाले प्रवृत्ति र चेतनाको विस्तृत खोजी, पहिचान र संरक्षण हुन सकिरहेको छैन । नेपाली समाजमा कतिपय यस्ता वर्ग र समुदाय छन् जो निरन्तर आफ्नै पौरख र परिश्रममा बाँचिरहेकाछन् र अझै बाँच्न चाहन्छन् । ढाँट र छलकपटको खेती गर्न उनीहरू जान्दैनन् ।

सरलता, निष्कपटता र उदारता उनीहरूको सांस्कृतिक जीवनका बलिया पक्ष हुन् । आफ्नै परिश्रम र पसिनाबाट आर्जित वस्तुमा गर्व गर्नु तिनको पौरखवादी संस्कृतिले सिकाएको उत्कृष्ट चेतना हो । 

खोजी गर्ने हो भने पौरख, परिश्रम र उत्पादनमुखी मूल्यमान्यतामा आधारित रीतिस्थिति हाम्रो समाजमा धेरै पाइन्छन् ।

प्राक्संस्कृतिको अवशेषका रूपमा अझसम्म पनि नेपाली संस्कृतिमा साझा चौतारी, साझा गौचरन, बनजंगल, धारा, कुवा, पोखरी आदिको संरक्षण गर्ने सांस्कृतिक चेत बाँकी नै छ ।  व्यक्तिले सबैका लागि र सबैले व्यक्तिका लागि काम गरिदिने हुरी, पर्मजस्ता अनेकौ उन्नत संस्कृति पनि हाम्रा गाउँघर र पहाडहरूमा जीवितै छन् ।

 

जातिभेदको विस्मयकारी परम्पराभन्दा फरक अपेक्षाकृत समतामूलक समाज र संस्कृति पनि हाम्रा कतिपय जनजातीय समुदायहरूले जोगाइराखेका छन् ।

महिलालाई संकुचनको घेराभित्र नराखेर सम्मानजनक व्यवहार गर्ने सांस्कृतिक समुदायहरू पनि हामीसँगै छन् । आफ्नो अपूर्व सीप र सृजनाले मुलुक, समाज र संस्कृतिलाई सुन्दर र समृद्ध बनाइराख्ने शिल्प सौन्दर्यका धनी शिल्पकार र कालिगढ परम्परा पनि नेपालमा जीवितै छन् । 

नेपाली संस्कृतिको कुरा गर्दा यसमा अन्तर्निहित गतिमयता र लचकताको चर्चा गर्नु पनि  उत्तिकै आवश्यक हुन्छ ।

आजभोलि सांस्कृतिक गतिशीलता र परिवर्तनको केन्द्रस्थल नेपालका सहर बजारहरू भएका छन् । सहर बजारको आर्थिक जीवन प्रणालीमा देखापरेको व्यापक विस्तार र परिवर्तनले सहरी संस्कृतिमात्र हैन ग्रामीण समाज र संस्कृतिसमेत प्रभावित हुनथाल्नु यसैको एक उदाहरण हो ।

सहर बजारको परिवर्तनबाट ग्रामीण समाजमा विद्यमान पुरातनवादी सोच र संस्कृतिको जग पनि क्रमशः हल्लिन थालेको देखिँदैछ । सहर बजारस“ग निरन्तर सम्पर्कमा रहनुपर्ने कारणले यहाँको नवीन सोच र संस्कृतिको गुञ्जन चारैतिर फैलिँदैछ ।

आर्थिक जीवनलाई क्रियाशील बनाउने क्रममा मानिसहरू परम्परागत सांस्कृतिक बन्धनलाई भत्काउँदै नयाँ परिवेश अनुकूल आफ्नो तीव्र रूपान्तरणतर्फ अग्रसर हुँदैछन् । सहर बजारको आर्थिक जीवनमा समाहित हुँदैगएको नयाँ पिढीमा जातपात, धर्म, वंश परम्पराका सांस्कृतिक संकुचनहरू बिस्तारै मेटिँदै गएका संकेतहरू देखिँदैछन् । नेपाली संस्कृतिभित्रको यो गतिशीलताले एउटा नौलोे र फराकिलो धरातल सृजना गर्दै जाने राम्रो लक्षण पनि देखाएको छ ।

नेपाली संस्कृतिका यस्ता अनेकन् संवेदनशील आयामहरूको गम्भीर विवेचना हुन बाँकी नै छ । संस्कृति संरक्षण र संवर्धनकै प्रश्नमा पनि सामाजिक जीवनलाई निरन्तर ऊर्जा दिइरहने गतिशील र पौरखवादी संस्कृतिको पक्षपोषण गर्नु युक्तिसंगत ठहरिन्छ ।

समाजलाई अग्रगामी दिशातिर उन्मुख हुन नदिने परम्परा र रीतिरिवाजलाई संस्कृतिको नाममा जोगाईराख्दा समाज र संस्कृति दुवै टाक्सिन्छ, फड्को मार्न सक्दैन । यी सबै पक्षको खोजीनीति र विवेचना गरी नेपाली संस्कृतिलाई गतिमय बनाउन अत्यन्तै आवश्यक छ । आखिर हामीले गर्व र गौरव गर्ने त हाम्रो पौरखी संस्कृतिको नै हो । रुढीग्रस्त संस्कृतिको हैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro