site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चितवन २ को स्थलगत अवस्था : कतै उत्साह, कतै निराशा

चितवन । भरतपुर वडा नम्बर ५ की शिल्पा बानियाँलाई गत वर्षको वैशाखमा भएको स्थानीय निर्वाचनमा भोट हाल्न नपाउँदा नराम्रो लागेको थियो । उनको पुर्ख्यौली घर गुल्मी हो । त्यतिबेलासम्म उनले गुल्मीबाट बसाइँसराइको कागज ल्याइसकेकी थिइनन् ।

भोट हाल्न नपाउँदा आफू पछि परेको महसुस गरेपछि उनले चुनावलगत्तै बसाइँसराइको कागज ल्याइन् । मतदाता नामावलीमा नाम दर्ता गराइन् । मंसिरको चुनावमा सहभागिता जनाइन् ।

जीवनमै पहिलोपटक मताधिकार प्रयोग गरेपछि उनी दंग परिन् । उनलाई पहिले राजनीतिक विषयमा खासै चासो हुँदैन थियो । अहिले चासो बढेको छ । उनी वैशाख १० को उपनिर्वाचनमा भोट हाल्न आतुर देखिन्छिन् ।

शनिबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भोट माग्दै उनको क्षेत्र पुगेका थिए । उनको रविप्रति विशेष लगाव देखिन्छ । भन्छिन्, "हिजो रवि यही क्षेत्रमा आफैँ भोट माग्दै आउनुभएको थियो ।"

उनी रविको भोट माग्ने शैलीमा आत्मीयता भएको बताउँछिन् । "...अरू पार्टीका उमेदवार न मंसिर ४ को निर्वाचनमा यसरी आएका थिए, न यसपालि आएका छन् ।"

Global Ime bank

तर, बानियाँको डेराभन्दा पर वडा–चोकको एक किराना पसलमा भेटिएका गोपाल पौडेललाई उपनिर्वाचनमा कुनै चासो छैन । चुनावी जाँगर पनि देखिँदैन । रविको 'सामान्य' असावधानीका कारण चुनाव गर्नुपरेकाले आफूलाई कुनै उत्साह नभएको उनको भनाइ छ । 

"उहाँको नागरिकताको विवाद रहेछ । उहाँजस्तो पढेलेखेको मान्छेलाई त्यो विषयको जानकारी पहिले नै नभएको होइन, त्यति विवाद समाधान गरेर आएको भए त मतदाता खुसी नै हुन्थे । अहिले फेरि निर्वाचन हुनुको प्रथम कारण लामिछाने नै हुनुहुन्छ," पौडेलले भने । 

पसलमा आएकी सुनुकुमारीलाई भने फेरि अर्को उपचुनाव हुने डर छ । रविको नागरिकताको विषय सुल्झिए पनि राहदानीको विषय नसुल्झिएकाले फेरि उपनिर्वाचन हुने भय उनमा छ । पटकपटक उपचुनाव गरेर राज्यको ढुकुटी सक्दा त्यसको भार प्रत्येक नागरिक उठाउनुपर्ने उनको भनाइ छ । 

"रवि आफू सक्षम मान्छे हुनुहुन्थ्यो । त्यति हुँदाहुँदै पनि यसरी आफ्नै मतदाताले दु:ख पाइराख्नुपर्ने कारण उहाँको कानुनी दायित्वप्रतिको अक्षमता हो । राष्ट्रपति वा उपराष्ट्रपति भएर उपनिर्वाचन हुनु एउटा कुरा हो । तर यसरी पद खारेज भएर उपनिर्वाचन हुनुमा ढुक्क हुन सकिएको छैन," सुनुकुमारी भन्छिन् । 

वडा नम्बर ५ कै अर्का स्थानीय ताराचन्द्र सापकोटा पनि फेरि उपचुनाव हुन लागेकाले निराश छन् । नयाँ दलमा सत्तामोहबाहेक अरू नदेखिएको उनको गुनासो छ ।

"जो आए पनि त्यस्तै रहेछ । यसअघि आशालाग्दा व्यक्ति आए भनेर मत दिइयो उनी पनि सत्ताकै पछि लागे । त्यतिमात्र नभएर कानुनको पालना नगरेको भन्दै उनैको पद गयो," उनको गुनासो थियो ।

सापकोलाई पनि राजनीतिप्रतिको मोह घट्दै गएको छ । अहिले कुन उमेदवार कति सक्षम छ भन्दा पनि कुन उमेदवार अरूभन्दा कम खराब छ भनेर छान्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । निर्वाचनमा आफूले आफ्नो मताधिकार प्रयोग गर्न मात्र मत हाल्ने गरेको उनी बताउँछन् ।

चुनावी प्रचारबाट थाकेर फर्किएका नेपाली कांग्रेसका एक कार्यकर्ता भीमनारायण यसपटक पार्टीले साख फर्काउन सक्नेमा आशावादी देखिन्छन् । 

त्यस्तै, ८९ वर्षीय पदमप्रसाद भुसाल भने आफूले हरेकपटक परिवर्तनका लागि मत हालेको बताउँछन् । "परिवर्तन आउँछ भनेरै पञ्चायतविरुद्ध बहुदलको पक्षमा मत हालियो । राजतन्त्रको विरुद्ध गणतन्त्रलाई अँगाल्दै मत हालियो, संस्था बदलिए तर परिस्थित खै बदलियो कि बदलिएन," भुसाल भन्छन् ।

आफूले परिवर्तनकै लागि भनेर गत मंसिरमा नयाँ र युवा उमेदवारलाई भोट हालेको बताए । तर, नयाँबाट पनि आशावादी हुन नसकिएको उनको भनाइ छ । 

उनलाई पनि उपचुनावप्रति खासै चासो छैन । तर, मतदान नैसर्गिक अधिकार भएकाले मतदान भने गर्ने उनको सोच छ ।

वडा नम्बर ७ का प्रेम वस्तीका वृद्ध दम्पत्ति बाबुराम सापकोटा र रूपा सापकोट नयाँ अनुहार र आशालाग्दा उमेदवारलाई मत दिने बताउँछन् । रूपा भन्छिन्, "जसले आफ्नोपन देखाउँछ, हामी वृद्धाहरूलाई आदर गर्न जान्दछ र विशेष गरी जसले हाम्रो क्षेत्र विकास गर्न सक्छ, उसैलाई मत दिन्छु ।"

बाबुरामको भनाइमा उनले अहिलेसम्म कहिल्यै पनि पार्टी हेरेर मत दिएका छैनन् । विगत सम्झिँदै उनी भन्छन्, "एकपटकको निर्वाचनमा मलाई मन नै नपर्ने राजनीतिक दलका एक उमेदवार घरै आएर आशीर्वाद दिनुपर्‍यो भन्दै आए । त्यो वर्ष मैले उनलाई नै मत दिएँ ।"

तर, त्यसपछि आफूले दल हेरेर मत नदिएको उनको दाबी छ । उनी दल भन्दा पनि उमेदवार व्यक्तिगत रूपमा कस्तो छ भनेर हेर्नुपर्नेमा जोड दिन्छन् ।

सापकोटा दम्पतीको घरबाट केही टाढा कांग्रेसकै एक क्रियाशील सदस्य भेटिए । उनी पार्टीलाई नै मत दिनुपर्छ भन्ने मानसिकतामा छैनन् । उमेदवार हेरेर मतदान गर्ने उनको भनाइ छ ।

मंसिर ४ मा भएको निर्वाचनबाट चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका उमेदवार उमेश श्रेष्ठ र नेकपा (एमाले)का उमेदवार कृष्णभक्त पोखरेललाई भारी मतले हराएका थिए ।

रवि लामिछाने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत बनेका थिए । तर, मन्त्रीको पद ग्रहण गरेकै ३३औँ दिनमा उनले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरी निर्वाचनमा भाग लिएको हुँदा उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतले मन्त्रीसहित सांसद पदसमेत खारेज गरिदिएको थियो ।

माघ १३ मा सांसदविहीन बनेको चितवन–२ ले वैशाख १० को उपनिर्वाचनबाट नयाँ सांसद पाउँदै छ । जहाँ २१ जना उमेदवार मैदानमा छन् । ठूला राजनीतिक दलहरूमध्ये नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने उमेदवार छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu