site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हराएको नौ मतले पुनः मतगणनाको आदेश 
SkywellSkywell

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा गत वैशाख ३० गते मतदान सम्पन्न भयो । मतदान सकिइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना अगाडि बढायो । 

मतदान भइसकेपछि जेठ १० गते पोखरा १८ को मतगणना हुँदै थियो । मतगणनामा कांग्रेसबाट उमेदवार बनेका शिवप्रसाद तिमिल्सिना तीन मतले विजयी बनेको खबर आयो । 

निर्वाचन अधिृकतको कार्यालयले घोषणा नगरेता पनि खसेको भन्दा ९ मत कम भेटिएको भन्दै नेकपा (एमाले)ले मतगणना बहिष्कार नै ग¥यो । एमालेले पुनः मतगणनाको माग पनि राख्यो । मतगणनास्थल बाहिर पनि एमालेले पुनः मतगणनाको मागसहित नाराबाजी गर्दै ‘९ मतको’ हिसाब माग्दै प्रदर्शन गरेका थिए ।

KFC Island Ad
NIC Asia

मतदानपश्चात गरिएको मुचुल्काअनुसार मतगणना गर्दा ९ मत कम भेटिएकाले पुनः मतगणना गर्न माग राखेको एमाले पोखराका अध्यक्ष दिलीप न्यौपानेले बताएका थिए । 

महानगरपालिकाका अन्य वडाको समेत मतगणनाका कार्य प्रभावित बन्यो । दिउँसोदेखि एमालेका प्रतिनिधि मतगणना बहिष्कार गरेर बाहिरिएपछि दिनभर पुनः मतगणना हुन सकेन । पछि, मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइले वडा नं. १८ को पुन मतगणना गरिपाउँ भन्ने निवेदन दर्ता भई कानुनी कारबाहीको प्रक्रियामा गइसकेको हुँदा मतगणना अगाडि बढाउन आग्रह गरे ।

Royal Enfield Island Ad

एमालेले त्यतिबेला सेटिङमा मतपत्र गायब गरिएको आशंका गरेको थियो । वडा नं. १८ मा स्थानीयतह निर्वाचनमा चार हजार ३४८ मत खसेको मुचुल्कामा उल्लेख गरिएको थियो । 

तर, मत गन्ने बेलामा भने चार हजार ३३९ मत मात्र भेटिएपछि हराएका मत खोज्नुपर्ने र पुनः मतगणना गर्न एमालेले माग राखेको थियो ।

९ मत हराएता पनि पछि सुचारु मतगणनाको अन्तिम परिणाम आउँदा कांग्रेसका शिवप्रसाद तिमिल्सनाले एक हजार ६४३ मत पाए भने प्रतिष्पर्धी नेकपा (एमाले)का पुष्कलबहादुर थापाले एक हजार ६४० मत पाए ।

हराएको ९ मत खोजी गरेको खण्डमा आफूले चुनाव जित्न सकिने आशा एमालेको थियो ।

तर, मतगणना कार्य अगाडि बढिसकेपछि जेठ १२ गते निर्वाचन अधिकृतको कार्यालयले तीन मतले विजयी भएका तिमिल्सनालाई विजयी भएको प्रमाणपत्र दियो र शपथग्रहण पनि गरायो ।

एमाले भने हराएको मत खोज्न र पुनः मतगणनाको लागि कानुनी उपचारको खोजीमा थियो । 

जेठ १८ गते थापाले मतगणना नियमसंगत तरिकाले नभएको भन्दै पुनः मतगणनाको माग राखेर निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, मुख्य निर्वाचन अधिकृतको कार्यालय र विजयी वडाध्यक्ष तिमिल्सिनालाई प्रतिवादी बनाएर निवेदन दिए ।

त्यसको झन्डै ११ महिनापछि उच्च अदालत पोखराले निवेदक थापाकै पक्षमा आदेश जारी गरेको छ । 

थापाले पुनः मतगणनाबाट वडाध्यक्ष पद जित्लान्, नजित्लान् तर, कानुनी मुद्दा जित्दै गर्दा नयाँ नजिर पनि बसेको छ । कानुन व्यवसायीका अनुसार उच्चको यो आदेश नेपालको हकमा नजिर नै हो ।

निवेदक पुष्कलबहादुर थापाका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर भन्छन्, “यो प्रकृतिको मुद्दाको फैसला चाहिँ अहिलेसम्मको लागि ‘नजिर’ नै हो । हाम्रो मुद्दा नै के थियो भन्दा, मतगणना परिणाम घोषणा गर्ने गरेको निर्णय र मतगणना कार्यसमेत बदर गरी दोहोर्‍याइ मतगणना गरिपाउँ भन्ने थियो ।”

उच्च अदालतका मुख्य न्यायधीश डिल्लीराज आचार्य र न्यायधीश ऋषिराज आचार्यको संयुक्त इजलासले स्थानीयतह निर्वाचनमा खोलिएको मुख्य निर्वाचन अधिकृृतको कार्यालयले ‘पोखरा महानगपालिका वडा नं. १८ को हकमा गरेको निर्वाचन परिणामसम्बन्धी मतपरिणाम बदर’ गरेको हो । 

पूर्णपाठ आइनसकेता पनि उच्चको यो आदेशसँगै वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले बुधबारदेखि वडाध्यक्षको हैसियतमा काम गर्न पाउँदैनन् । 

वैशाख ३० को स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत भनेर जिल्ला अदालत कास्कीका तत्कालीन एक नम्बर न्यायधीश श्रीकृष्ण भट्टराईलाई खटाएको थियो ।

उनै भट्टराईले निर्वाचित भनेर तिमिल्सिनालाई प्रमाणपत्र र पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

अधिवक्ता सुरेन्द्र थापामगरले बहसका क्रममा स्थानीय तह निर्वाचन मतगणनासम्बन्धी निर्देशिका २०७८ को दफा १३२ अनुसारको प्रक्रिया नपुगेको र मतपत्र नै हराएको विषय उल्लेख गरेका थिए ।

स्थानीय तह निर्वाचको मतगणनाको लागि आयोगले स्थानीय तह मतगणना निर्देशिका २०७८ जारी गरेको थियो । 

“उक्त निर्देशिकाअनुसार प्रत्येक पदमा सदर मत कति, बदर मत कति भनेर छुट्याउनुपर्छ । पदअनुसार र व्यक्तिअनुसार छुट्याउनुपर्छ । त्यहाँ छुट्याइएन,” थापामगरले भने ।

स्थानीय तह निर्वाचनमा वडा नं. १८ मा पाँच हजार ८४३ मतदाता थिए । चार हजार ३४८ मत खसेको थियो । गणनाको क्रममा ५०/५० वटा मतपत्रको ८६ वटा मुठा बनाइयो । चार हजार ३०० मत यही मुठामा परे । बाँकी रहेको ४८ मतपत्रको एउटा छुट्टै मुठा बन्यो ।

८७औँ मुठामा ४८ मतपत्र हुनुपर्नेमा ३९ मतपत्र मात्र भेटिए । 

निवेदकको तर्फबाट “मतगणना परिणाम घोषणा गर्ने गरेको निर्णय र मतगणना कार्यसमेत बदर गरी दोहो¥याइ मतगणना गरिपाउँ” भन्ने पक्षमा थापाले बहस गरेका थिए ।

अधिवक्ता मदनप्रसाद तिवारीले उच्चको फैसला आएपछि अब वडाध्यक्षको हैसियतमा तिमिल्सिनाले काम गर्न नमिल्ने बताए । 

“यो संक्रमणकालीन अवस्था हो । यो समयसम्म उहाँले वैधानिकता पाउनुभयो । मतगणनापछि मतपरिणाम जे पनि आउन सक्ला । भोलिको मितिले चाहिँ उहाँले वडाध्यक्षको हैसियतमा काम गर्न पाउनुहुन्न,” उनले भने ।

उच्चको आदेशले वैधानिकता सकिएको र जुन मतको आधारमा विजयी भएका थिए, उक्त मतगणना नै अवैध भएको उनको भनाइ छ ।

“जेठ १२ गते उहाँ जुन अवस्थामा हुनुहुन्थ्यो, उहाँ निर्वाचित भएको प्रमाणपत्र अब लागु हुँदैन । भोलिदेखि उहाँ अफिसमा गएर वडाध्यक्षको हैसियतमा हस्ताक्षर गर्न मिल्दैन । मतपरिणाम नै बदर भएपछि उहाँले काम गर्न मिल्दैन,” उनले भने ।

यता, आफ्नो पक्षमा फैसला आएपछि निवेदक पुष्कल थापाले चाहिँ लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्ने उद्देश्य पूरा भएको प्रतिक्रिया दिए ।

“पहिलेको मतगणना अस्तव्यस्त थियो, स्वस्थ थिएन । त्यसकारण पुनः मतगणना गर्नुपर्छ भन्ने मागदाबी हो,” उनले थपे, “उच्च अदालतलाई धन्यवाद । अब हुने मतगणनाबाट जे परिणाम आउँछ, त्यसलाई सहर्ष स्वीकार हुन्छ ।”

मतगणनापछि आउने नतिजा तिमिल्सिनाकै पक्षमा आए पनि स्वीकार गर्ने उनले बताए । उच्च अदालतले आगामी २०८० वैशाख २० गते पुनः मतगणना गर्न पनि आदेश दिएको छ । 

“आगामी वैशाख २० गते १० बजेदेखि मतगणना हुन्छ । हामीले निर्वाचन कार्यालयबाट मतपेटिका र निर्वाचनका कर्मचारी मगाउँछौँ,” उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

अब हुने मतगणना उच्च अदालतकै रजिष्ट्रार श्रीलाल पौडेलको रोहवरमा हुनेछ ।

यता, नेपाली कांग्रेस कास्कीले भने कानुनी प्रक्रियाकै विषयमा छलफल गरिरहेको छ । कास्की कांग्रेस सभापति किशोरदत्त बरालले भने, “अदालतको फैसला आयो, अब त्यसलाई रोक्न मिल्ने कुनै कानुनी प्रावधान छ कि भनेर कानुनी परामर्शमा छौँ ।”

उच्चबाट आएको आदेशलाई निष्क्रिय बनाउन सकिने अवस्था भेटिएको खण्डमा सर्वोच्च जाने कांग्रेसको तयारीमा छ ।

“कानुनी बाटो भए अगाडि बढ्छौँ, अन्यथा अदालतको फैसलालाई स्वीकारेर अगाडि बढ्ने हो,” बरालले भने । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro