पोखरा । पछिल्ला दुई चुनावमा रामचन्द्र पौडेलविरुद्ध स्वतन्त्र उमेदवारी दिइरहने व्यक्ति हुन्, गोविन्दराज जोशी ।
कांग्रेसका पूर्वसहमहामन्त्री जोशी 'स्वतन्त्र' हुनुको कारण चाहिँ ०७४ को प्रतिनिधि सभा निर्वाचन हो । रामचन्द्र पौडेल तनहुँ १ बाट उमेदवार हुन चाहन्थे । जोशीको इच्छा पनि त्यहीँबाट उमेदवार बन्ने थियो ।
तर, पौडेलले उक्त क्षेत्रको टिकट आफैँले राखे । त्यसपछि जोशीले बागी उमेदवारी दर्ता गरे ।
कांग्रेसको राजनीतिका यी समकालीन दुईजनाको तिक्तता त्यसपछि झनै बढ्यो । पौडेलले निर्वाचन आयोगमा जोशीविरुद्ध उजुरी दिए । जोशीको उमेदवारी खारेज भयो ।
अनि सुरु भयो जोशीको, ‘पौडेल हराऊ अभियान ।’
०४८ सालयता तनहुँमा कहिल्यै नहारेको कांग्रेस ०७४ मा हार्यो । पौडेल नेकपा (एमाले)का (हाल नेकपा एकीकृत समाजवादी) किसान श्रेष्ठसँग पराजित भए ।
त्यसपछि कांग्रेसबाट जोशीको बहिर्गमन भयो । कांग्रेसले जोशीलाई पाँच वर्षको लागि निलम्बन गरिदियो । तर, जोशीले पार्टीले कारबाही गरेको पत्र हालसम्म पनि नपाएको आइतबार एक कार्यक्रममा बताएका छन् । आइतबार नै कांग्रेसले उनीमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयको औचित्य नरहेको जोशीको भनाइ छ ।
०७४ को चुनावबाट पार्टीबाट नै बिदा भएका जोशीले पौडेलविरुद्ध उमेदवारी दिन भने छाडेनन् । ०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा पनि उनले स्वतन्त्र उमेदवारी दिए । गठबन्धनका उमेदवार पौडेलले चुनाव त जिते, तर 'कैँची' चुनाव चिह्न लिएका जोशी पनि तेस्रो बढी मत ल्याउने उमेदवार बने ।
पौडेलले २५ हजार ३६१ मत ल्याएर विजयी बन्दा प्रतिष्पर्धी एमालेका एकबहादुर रानामगरले १९,९८१ मत ल्याए । यी दुईबीचको अन्तर पाँच हजार ३८० छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार जोशीले ६ हजार ८८६ मत ल्याएका छन् । जोशीले चुनाव हारेपनि तनहुँमा आफ्नो व्यक्तिगत 'शक्ति' पनि देखाए ।
यही बुझेरै कांग्रेसको आइतबारको कार्यसम्पादन समितिको बैठकले जोशीलाई फकाएर निर्वाचन आफ्नो पक्षमा पार्न निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । जोशीसँग सम्बन्ध सुधार गर्दै कांग्रेसका उमेदवारलाई जिताउन महामन्त्री गगनकुमार थापाले पनि सक्रियता देखाएका छन् ।
जोशीले भने आइतबार नै कांग्रेसको यो चुनावी रणनीतिमात्र रहेको बताउँदै जनतालाई दिग्भ्रमित पार्न खोजिएको आरोप लगाएका छन् ।
पौडेल उमेदवार हुँदा स्वतन्त्र उमेदवारी दिएका जोशीले सोमबार आफ्नो उमेदवार भने दर्ता गराएनन् । उनले उमेदवारी दर्ता नगरे पनि चुनावको नतिजा नै पल्टाउन सक्ने प्रभावका कारण सबै दलले उनलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् ।
तनहुँको उपचुनावमा 'हेभिवेट' नेतासहित ९ जनाको उमेदवारी परेको छ । सारमा हेर्दा चुनाव त्रिपक्षीय हुने देखिन्छ । यही त्रिपक्षीय निर्वाचनमा जोशीको समर्थन निर्णायक बन्न सक्छ ।
बढ्यो गगनको सक्रियता
‘जोशी फ्याक्टर’को प्रभाव बुझेरै उनको पूर्वपार्टी कांग्रेसबाट तनहुँको निर्वाचनमा खटिएका महामन्त्री गगन थापाले गोविन्दराजका छोरा दीपकराज जोशीसँग संवाद अगाडि बढाएका छन् ।
कांग्रेसले निलम्बन फुकुवा गरेपछि आइतबार नै थापासँग दुई घण्टा दीपकराजले 'वान अन वान वार्ता' गरेका थिए ।
वार्तामा आफूले प्याकेजमा डिल भए कांग्रेसलाई सघाउन र पार्टीमा फर्किन कुनै समस्या नरहेको उनले बताए । महामन्त्री थापाले भने कुनै आश्वासन दिन सकेनन् ।
आइतबार कांग्रेसको निर्णयलाई भने दीपकराज ‘नाटक, जालझेल र चुनावको अगाडि अपनाएको हत्कन्डा’ भन्न मन पराउँछन् । ‘प्याकेज डिल’मा नै उनको फोकस छ ।
के हो त त्यो प्याकेज डिल ?
दीपकराज भन्छन्, “हाम्रा मान्छेहरूको क्रियाशील सदस्यता छैन । हिजो जसरी विजयकुमार गच्छदारको समूहलाई तलदेखि माथिसम्म भागबन्डा गरेको थियो, त्यो तरिकाले दिनुपर्यो नि ।”
कारबाही फिर्ताका नाममा 'सिधै भोट दिन जाऊ' भन्न नमिल्ने उनको तर्क छ । आफ्ना शुभेच्छुकको सात हजार मत एकै ठाउँमा जाने तर कसलाई जान्छ भन्ने निर्णय भइनसकेको उनले बताए । त्यो मत कांग्रेसलाई नै दिन पार्टीले ‘विन–विन’ प्रस्ताव ल्याउनुपर्ने माग दीपकराजको छ ।
“बुवालाई स–सम्मान ल्याउनुपर्यो, त्यसमा पार्टीले के गर्न सक्छ भन्ने कुरा हो । गोविन्दराज जोशी १७/१८ वर्षसम्म पावर र पार्टीमा पनि नभएपछि जो मान्छे हाम्रा पछि लागेका छन्, उनीहरूलाई कारबाही फुकुवाले के अर्थ राख्छ ? त्यसको मूल्यांकन पार्टीले गरे राम्रो होला, नगरे हार्छ,” उनले भने ।
कांग्रेसले बेवास्ता गरेमा आफूहरू विचारका लागि यसअगाडिदेखि नै लड्दै आइरहेको र त्यसलाई नै निरन्तरता दिइरहने दीपकराजले बताए ।
“विन–विन गेम खेले फाइदा हुने हो, हामीलाई त के छ र १७/१८ वर्षदेखि लडिरहेको हो, लडिरहौँला,” उनले थपे, “हामीले पार्टी खोलेको पनि होइन, त्यही पार्टीले दु:ख दियो, पार्टी बिग्रियो भनेर विचारको हिसाबले लडेको हो । अरू पार्टीमा गएको भए पनि फरक कुरा । हामी त स्वतन्त्र समूह बनेर लडिरहेको हो, उनीहरूले त्यति पनि बुद्धि पुर्याउँदैनन् भने घाटा उनीहरूलाई नै हो ।”
गगनसँगको भेटमा दीपकराजले व्यक्तिगत कुरा गरेको बताए । आफूहरूले कांग्रेसमा भाग खोजेको नभई प्लेटफर्म खोजेको कुरा उनले महामन्त्री थापालाई सुनाएका छन् ।
“गगनलाई तिम्रै पालामा कांग्रेस सकियो भने इतिहासले माफ त गर्दैन होला भनेको छु । सकियो भने, गोविन्दराज जोशी जस्ता व्यक्तिलाई पनि कारबाही गर्नु पनि एउटा च्याप्टर हुन्छ । त्यो च्याप्टर नराख्ने बनाउँछौँ भने गर भनेको छु,” जोशीले भने, “गगनले सुनेर गए, उनले केही गर्लान्, नगर्लान् । मैले आफ्नो कुरा राखेको छु ।”
अंकगणित
गत मंसिरको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ–१ मा प्रत्यक्षतर्फ चौथो बढी मत रास्वपाले ल्याएको थियो । रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । तर, यही क्षेत्रमा रास्वपाले भने समानुपातिकमा तेस्रो बढी मत पाएको छ ।
कांग्रेस २० हजार १५८ मतसहित पहिलो, नेकपा (एमाले) १६ हजार ६८३ मतसहित दोस्रो बन्दा रास्वपाले १२ हजार ७७३ मत पाएको छ । चौथोमा माओवादी केन्द्रले सात हजार ३२६ मत पाएको छ ।
प्रत्यक्षमा ६ हजार मत पाएको रास्वपाले समानुपातिकमा कसरी दोब्बर बढी पायो ?
रास्वपाको समानुपातिक मत बढ्नुमा त्यही ‘जोशी फ्याक्टर’ को पनि सहयोग छ । स्वयम् दीपकराज जोशी यसलाई स्वीकार गर्छन् । अहिले उपनिर्वाचनमा रास्वपाले भर्खरै कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उमेदवार बनाएको छ ।
के उपनिर्वाचनमा रास्वपालाई मत दिने हो जोशी समूहले ?
दीपकराज भन्छन्, “स्वर्णिमलाई मैले व्यक्तिगत रूपमा चिन्छु, रास्वपाका सदस्यहरू हाम्रै भाइहरू छन् । नजिकका साथीहरू छन् । तर, कुनै गिभ एन्ड टेकको विषयमा कुराकानी भएको छैन । मंसिरको चुनावमा मलाई नै रास्वपाबाट चुनाव लड्न प्रस्ताव आएको थियो ।”
तर, रास्वपालाई मत दिनेभन्दा पनि कांग्रेसमा फर्किने र त्यहीँ संघर्ष गर्न उचित हुने उनको तर्क छ ।
उनी भन्छन्, “कुरा के हो भन्दा, रास्वपा पार्टीले राम्रो गर्ला, नराम्रो गर्ला फरक पाटो हो । एमाले, कांग्रेस दुइटै पार्टी एउटा विश्वविद्यालय हुन् । विश्वविद्यालयका दुईचार प्रोफेसर खराब हुँदैमा विश्वविद्यालय नै भत्काउनुपर्छ भन्ने होइन । एउटा इतिहास छ, त्यसलाई बनाउन, सुधार गर्न सकिन्छ ।”
आफ्ना लागि विकल्प भए पनि बुवा गोविन्दराज जोशीको हकमा भने अर्को पार्टीमा जाने विषय नै नआउने उनको भनाइ छ ।
दीपक उनै व्यक्ति हुन्, जो गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेसँग मिलेर व्यास नगरपालिकाको मेयरमा उमेदवारी दिएका थिए ।
अनि, मंसिरमा सम्पन्न चुनावमा पनि उनका बुवा गोविन्दराज जोशी तनहुँ १ बाट उमेदवार बनेका थिए । त्यतिबेला जोशी समूह र तनहुँ एमालेबिच एउटा भद्र सहमति भएको थियो– गोविन्दराज जोशी उमेदवार बन्ने, एमालेले आफ्ना उमेदवारको समर्थन फिर्ता लिने र जोशीलाई सघाउने ।
तर, अन्तिममा एमालेले आफ्ना उमेदवार फिर्ता लिएन । जोशी पनि हारे, एमालेका उमेदवार पनि हारे ।
उनले अन्तिमसम्म केही हुने र नभए तटस्थ बस्न सकिने बताए । "अहिलेको राजनीतिमा गिभ एन्ड टेक त हुन्छ । भर्खर नोमिनेसन भएको छ, यसलाई नै मत दिने भन्ने केही भएको छैन । अहिले तटस्थ नै छौँ । चुनावसम्म केही होला । चुनावसम्म को उमेदवारले के भन्छ हामीलाई हेर्ने मौका पनि छ । ‘विन–विन’ हुने प्याकेज नआउँदासम्म हामीले सहमति चाहिँ गर्दैनौँ," उनले भने ।