
काठमाडौं । ‘गोल मेसिन’को नामले चिनन थालेका इर्लिङ ब्राउट हालान्डबिना खेलेको साविक विजेता म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा लिभरपुलमाथि ४–१ को विजय हासिल गरेको छ । जितसँगै सिटीले उपाधि होडमा शीर्ष क्लब आर्सनललाई दबाबमा राख्न सफल भएको छ ।
पाहुना टोली लिभरपुलले सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंकविहीन बन्यो । इत्तिहाद रंगशालमा लिभरपुलले मोहम्मद सालाहको गोलबाट १७औँ मिनेटमा अग्रता लिएको थियो ।
तर, लिभरपुलको अग्रता १० मिनेटभन्दा लामो समय टिक्न सकेन । युलियन अल्भारेजले २७औँ मिनेटमा बराबरी गोल फर्काए । उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए । विश्वकप विजेता अल्भारेजको जारी सिजन सिटीबाट यो १३औँ गोल हो । ४६औँ मिनेटमा केभिन डी ब्रुयनाले गरेको गोलबाट सिटीले अग्रता लियो । डी ब्रुयनाले रियाद महारेजको पासमा गरेका थिए ।
५३औँ मिनेटमा कप्तान इल्के गुन्डोगनले सिटीको अग्रता बढाए । अल्भारेजले हानेको प्रहारलाई लिभरपुलका रक्षक एलेक्जेन्डर आर्नोल्डले रोकेका थिए । तर, रिबाउन्डमा प्राप्त बललाई गुन्डोगनले पोस्टको दिशा दिए । ७४औँ मिनेटमा डी ब्रुयनाको पासमा ग्रेलिसले अर्को गोल थपेपछि सिटीले महत्त्वपूर्ण तीन अंक पक्का गर्यो ।

जितसँगै सिटीले २८ खेलबाट ६४ अंक जोडेको छ । त्यो शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंकले पछाडि हो । आर्सनलले लिड्स युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पराजित लिभरपुल २७ खेलबाट ४२ अंकसहित सातौँ स्थानमा छ ।
‘‘लिभरपुलविरुद्ध खेल्न कठिन हुन्छ भनेर हामीलाई थाहा थियो । त्यसमाथि अन्तर्राष्ट्रिय ब्रेकपछिको पहिलो खेल सदैव कठिन हुने गर्छ,’’ सिटीका फरवार्ड ग्रेलिसले भने, “लिभरपुलसँग अग्रपंक्तिमा धेरै खतरनाक खेलाडीहरू छन् । त्यसकारण पनि उनहरूलाई रोक्न कठिन हुनेछ । तर, हामीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयौँ ।’’
सिटीका प्रमुख स्ट्राकर हालान्ड ‘ग्रोइन इन्जुरी’का कारण टिममा थिएनन् । उनी मार्च १८ मा बर्नलीविरुद्धको खेलमा घाइते भएका थिए । जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटी आएका हालान्डले जारी सिजन सबैखाले प्रतियोगितामा गरी ३७ खेलमा ४२ गोल गरिसकेका छन् ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीबाट इत्तिहाद रंगशालामा १००औँ जित दर्ता गरे । जितपछि गोर्डिओलाले भने, ‘‘आज हामीले उत्कष्ट प्रदर्शन गर्यौँ । सुरुदेखि अन्त्यसम्म टिमले साँच्चिकै राम्रो खेल्यो ।’’