
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्ले र रमेश खरेललाई उमेदवार बनाउने भएको छ ।
रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ का लागि सभापति लामिछाने, तनहुँ–१ का लागि डा. वाग्ले र बारा–२ का लागि खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उमेदवारको टिकट प्रदान गरे ।
सो अवसरमा सभापति लामिछानेले तीनैजना उमेदवार आसन्न उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचित भएर हामी ‘तीन भाइ’ सँगै सांसदका रूपमा उभिनेछाँै ।”
सभापति लामिछानेले मुलुकको सेवा गर्न तयार क्षमतावान् व्यक्तित्वहरू आफ्नो पार्टीबाट निर्वाचित हुने जिकिर समेत गरे । उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।”

रास्वपाका उमेदवार डा. स्वर्णिम वाग्लेले नयाँ राजनीतिक युगको सुरुआत गर्दै देश विकासका लागि एकजुट भएर उमेदवारी दिएको बताए ।
यस्तै, अर्का उमेदवार रमेश खरेलले देश विकासका लागि आफूहरू एकजुट भएको बताए । रासस