site stats
राजनीति
यस्तो बन्दैछ प्रचण्ड सरकार, अझै पाएन पूर्णता

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथ केहीबेरमा हुने भएको छ । नेपाली कांग्रेसले आठ मन्त्रालय पाएको भए पनि चारजनालाई मात्रै अहिले सरकारमा सहभागी गराउने भएको छ ।

पार्टीभित्रको आन्तरिक विवादका कारण चार मन्त्रीमात्रै पठाउन लागेको कांग्रेसले जनाएको छ ।

पुस १० मा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि यो सातौं पुनर्गठन हो । यस बीचमा प्रधानमन्त्री दाहाल स्वयम्ले विश्वासको मत लिएका छन् ।

Himalayan Bank
Agni Group

आज कांग्रेस, माओवादी, जसपा, नेकपा एसलगायतका राजनीतिक दलका नेताहरु सरकारमा सहभागी हुँदैछन् ।

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्त्वमा सरकारमा पठाउँदैछ । खड्का उपप्रधान तथा रक्षामन्त्री हुनेछन् भने डा. प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् । रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङ सहरी विकास मन्त्री हुने गरी नामावली पठाएको हो ।

Global bank

कांग्रेसमा इतर समूहले सम्मानजनक सहभागिता नभएको भन्दै सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको थियो ।
इतर समूहका नेता डा. शेखर कोइरालाले आफू निकट पदाधीकारीहरूसँग शुक्रबार बिहान छलफल गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।

छलफलपश्चात् नेता कोइरालाले आफ्नो समूहले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश पठाएको बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले बाह्रखरीलाई जानकारी दिए । “हामी छलफलमा बसेको थियौं । सम्मानजनक सहभागिता नभए आफ्नो समूह सरकारमा नजाने र बाहिरै बस्ने भनेर हामीले प्रधानमन्त्री र सभापति दुबैलाई भनेका छौं,” परियारले बाह्रखरीसँग भने । 

समूहले आफूहरूले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको छ । संस्थापन समूहले भने २ वटा मन्त्रालय दिने तयारी गरेको छ । समूहले एक मन्त्रालय थपेर सहमहामन्त्री जीवन परियार वा वद्री पाण्डेलाई मन्त्री बनाउने तयारीमा छ । 

छलफलमा नेता शेखर कोइराला सहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार सहभागी थिए ।

सो समूहबाट धनराज गुरुङ र डिगबहादुर लिम्बु मन्त्री बन्ने तयारी थियो ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने भएको छ । पार्टीबाट श्रेष्ठको नाम पठाइएको प्रमुख सचेत गंगाराम चौधरीले जानकारी दिए । 

उनका अनुसार सत्ता गठबन्धनबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने टुंगो लागेको छ । “हामीले अध्यक्षको नाम पठायौं । भूमि मन्त्रालय पार्टीले पाएको छ,” उनले बाह्रखरीसँग भने । 

त्यसैगरी जसपाले अशोक राईलाई नै दुई मन्त्रालयको जिम्मेवारी दिएको छ ।

राईले २ बटा मन्त्रालयको जिम्मेवारी एकसाथ पाएका छन् । पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मात्र होइन वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिएको छ । 

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दुवै मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी दिए ।

त्यसैगरी नेकपा एसका तर्फबाट उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपंक्षी मन्त्रालय र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी हुँदैछन् ।

नेकपा माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारीमा लैजाने भएको छ भने ऊर्जा मन्त्रालयको जिम्मेवारी शक्ति बस्नेतलाई दिने भएको छ ।

माओवादीका तीन मन्त्रीको जिम्मेवारी कायमै राखिएको छ । सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा, पर्यटन मन्त्री सुदन किराँती र सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको भूमिका कायमै रहनेछ ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले शरतसिंह भण्डारीलाई श्रममन्त्री बनाउने भएको छ भने नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पठाउने भएको छ ।

अझै पाँच मन्त्रालय प्रधानमन्त्रीसँगै रहने छ । कांग्रेसका केही र रास्वपालाई पनि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्रीको रहेको स्रोत बताउँछ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय