पोखरा । “प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो...,” कांग्रेसबाट अलग्गिने निर्णय गर्नुपूर्व अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेसका नेताहरूलाई पठाएको सन्देशको एक अंश हो, यो ।
पार्टी छाड्ने अवस्था आउनुमा वर्तमान सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा र उनको 'गिरोह' रहेको आरोप उनले लगाएका छन् ।
२०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा संलग्न र कांग्रेसमा ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको भए पनि बिहीबारदेखि वाग्लेको त्यो सम्बन्ध विच्छेद भएको छ ।
स्वर्णिम अब वैशाख १० गते हुन उपनिर्वाचनमा तनहुँ १ बाट चुनाव लड्ने र त्यसका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बन्ने तयारी छ ।
तर, झन्डै साढे चार महिनाअघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि उनलाई रास्वपाबाट उमेदवार बन्न प्रस्ताव भने नआएको होइन । कांग्रेसबाटै चितवन वा काठमाडौंको कुनै क्षेत्रमा टिकटका आकांक्षी रहेका वाग्लेले त्यतिबेला रास्वपालाई ‘एकथान सांसद बनेर के काम ?’ भन्ने प्रतिप्रश्नसहित 'अफर' इन्कार गरेका थिए । एमालेबाट आएको अफरलाई पनि उनले त्यसरी नै अस्वीकार गरे ।
कांग्रेसले उनलाई टिकट दिएन । तर, योजना आयोगका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलसँग मिलेर उनले कांग्रेसको घोषणापत्र लेख्ने काममा आफूलाई व्यस्त राखे । पोखरेललाई पनि अफर नआएको होइन । योजना आयोगका पूर्वअध्यक्षद्वय यी दुवैजनाले टिकट नपाएतापनि घोषणापत्र लेखे, कांग्रेसका उमेदवारलाई जिताउन निर्वाचन क्षेत्रहरूमा पुगे, भिडियो सन्देश जारी गरे ।
त्यसकै सिलसिलामा पोखरामा भेटिए, यी दुवै टिकट नपाएका आकांक्षीहरू ।
पोखरामा नै एक अनौपचारिक कार्यक्रममा वाग्लेले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि रास्वपासम्मबाट अफर आएको खुलाएका थिए ।
तर, नयाँ पार्टीमा गएर चुनाव जितेर एकथान सांसद जितेर केही काम गर्न नसकिने, मन्त्री नबनिने र आफूहरू पार्टीभित्र नै सघंर्ष गर्ने क्याटागोरीको रहेको भनेर आफ्ना शुभेच्छुकलाई सुनाए । उनले सुनाएका थिए, कांग्रेससँगको आफ्नो सम्बन्धदेखि देउवाको इकोनोमिक्स कलेजको रिसर्च फेलोका रूपमा प्रचारित कहानीको यथार्थसम्म ।
प्रस्तुत छ, वाग्लेको त्यतिबेलाको भनाइको सम्पादित अंश :
२०३६ सालदेखि आमाले हातमा डोर्याएर लगेर ‘हामीले त निलोमा हाल्ने हो बाबु’ भन्या मलाई याद छ । ०४२ सालको सत्याग्रहदेखिको मलाई सबै थाहा छ । आफ्नै काकाहरू जेल बसेको, किन जेल लगेको भनेर बुझ्न खोज्दा मेरो घरमा साप्ताहिक विमर्श आउँथ्यो ।
प्रनेकाका महामन्त्री गिरिजाप्रसाद कोइराला भनेर तस्बिर आउँथ्यो, ०४२/४३ सालमा ।
यो प्रनेका भनेको के हो भनेर सोध्दा, प्रतिबन्धित नेपाली कांग्रेस भन्ने जवाफ आयो । त्यो जमानादेखिको कांग्रेस हो म । ०४६ देखि त म आफै पनि सक्रिय भएँ । देशविदेश हुँदा पनि सक्रिय भएँ । मैले आजको कांग्रेस चिन्दिनँ ।
टिकटमा अहिले म आफैँ पनि होमिएँ । तर, टिकट दिएनन् ।
अहिले स्वतन्त्रको मुभमेन्ट आयो नि । हाम्रो पोजिसन के हो भन्दा अहिले तीन तप्काबाट हेर्न सकिन्छ अहिलेको राजनीतिलाई ।
एउटा यथास्थितिमा रमाएकाहरूले ठिक छ, यही हो भन्छन् । सानो माइनोरिटी भए पनि उनीहरू पावरफुल छन् । क्याप्चर गरेर बसेका छन् ।
दोस्रो, यो सिस्टम घिनलाग्दो भइसक्यो, अब हामी वैकल्पिक राजनीति गर्नुपर्छ, नयाँ फोर्सबाट जाने हो भन्ने । नेपालमा अब अलिकति समाजशास्त्रको कुरा पनि आउँछ । समाजशास्त्र भनेको खाली भोट लिएर रुल मेकानिजम गर्नेमात्र होइन रहेछ ।
पश्चिममा त परिपक्वता आइसकेको छ । हाम्रोमा त वडाध्यक्षले लेखिदिने सिफारिसका लागि पनि दलमा आबद्धता चाहिन्छ । फरक पार्टीको पर्नुभयो भने त्यो सिफारिस पनि पाउनुहुन्छ । गाउँगाउँतिर पेलानमा पार्छन् ।
भनेपछि, प्याट्रनिक नेटर्वक जुन बन्यो नि पोलिटिक्समा, अब यसलाई विस्तारै चिर्दै जानुपर्छ । हाम्रो चेतनाको स्तर, आर्थिक अवस्थाका कारण पनि यस्तो हुन पुगेको हो ।
तेस्रो विकल्प के हो भने, यो फोहोरी आहालमा हाम फालेर आफै सफा गर्ने हो । हामी चाहिँ त्यो क्याटोगोरीका पर्यौँ ।
मलाई अस्ति धेरै गाली गरे, ‘किन स्वतन्त्र लड्ने आँट नगरेको भनेर’ ।
पछि त समाचार पनि आइसक्यो । केपी ओलीले पनि कन्फर्म गरे । गोविन्दजी (गोविन्द पोखरेल) लाई दाङ देउखुरीबाट, मज्जाले उहाँले जित्नुहुन्थ्यो । कांग्रेसको उमेदवार नभएको ठाउँ, एमालेले ब्याक गरेपछि त जितिन्थ्यो, कांग्रेसको भोट हामीलाई नै आउँथ्यो ।
मलाई काठमाडौं–७ बाट ओलीले अफर गर्नुभएको थियो । तर, हामी गएनौँ ।
एकथान सांसद त बनिन्थ्यो, उहाँ र म दुवै सांसद हुन्थ्यौँ, नोभेम्बर २२ देखि हामी सांसद हुन्थ्यौँ । तर, गएनौँ ।
कारण के भन्दाखेरि, एकथान सांसद बनेर के काम ?
त्यो ढ्यापढ्याप गर्ने हो, मन्त्री बन्न पाइँदैन । ठूलो परिवर्तन गर्न पाइँदैन । अब त हाम्रो क्यापिटल लिमिटेड छ । एकचोटि अवसर पाउने हो के हामीजस्तो मान्छेले ।
त्यसपछि त यसले पनि केही गरेन भन्छन भनेर बरु त्यो संचित गरेर राखौँ, अझै जगेर्ना गर्रौं, जोगाऔँ । पछि राम्रो प्रधानमन्त्री भएको, हाम्रै पुस्तकाका गगन थापाहरू टाइपका प्रधानमन्त्री भएको बेलामा त्यस्तो क्याबिनेटमा गएर ३/४ वर्ष...। म त क्लियर छु । मैले यो देशमा ड्याम्म हान्न पाउने मौका भनेको कम्तीमा तीनवर्ष होला, बढीमा पाँच वर्ष ।
त्यो पूँजी जोगाउनु पर्यो नि त । अहिले नबिग्रने, पोलुटेड नहुने । जितेर गएपछि शेरबहादुर देउवाको क्याबिनेटमा बसेर के नै गर्न सकिएला ।
वैकल्पिक राजनीतिको कुराहरूमा अहिलेलाई, रवीन्द्र मिश्र मेरो एकदम नजिकको साथी हो । लन्डनमा उनी बीबीसीमा म लन्डन स्कुल अफ इकोनोमिक्समा पढ्थेँ । चुनाव हारेपछि उसलाई राजीनामा दिन लगाएको मैले नै हो ।
उनले मलाई २० वर्षदेखि नै अब यसरी हुँदैन, अब छुट्टै तरिकाले अगाडि बढ्नुपर्छ भनेका थिए । तर, मैले मानिनँ । विवेकशील साझाले उधुमै मच्चाएर गभर्निङ पार्टी पनि बन्न सक्थ्यो होला नि त । त्यतिबेला थुक्क गएको भए हुनेरहेछ भन्ने लाग्थ्यो होला ।
तर, मेरो चेतनाले, ७०/८० देश हेरेको, यत्रो अध्ययन ५० वर्ष पुग्न लागिसकेको उमेरले निकालेको निष्कर्ष के हो भने, आजको विन्दुमा (सायद पाँच वर्षपछि मेरो भ्यू चेन्ज पनि हुन सक्छ) चाहिँ स्थापित पुराना पार्टीहरूमा नै छिरेर सकिने हदसम्मको सुधार गर्नको लागि पहल गर्ने हो । चुनौती त हामीलाई थाहा छँदै छ । तर, ‘ग्लामर अफ होप’ पनि छँदै छन् है ।
यही गगन र विश्वप्रकाशको उदाहरण होपफुल होइन ? यस्तो बुढो पार्टीमा सारा शक्ति, संसार लाग्दा पनि खोसेरै, लडेरै, भिडेरै महामन्त्री भए नि त । त्यसैले आशा पनि छ ।
तर, यही टिकट वितरणकै प्रक्रिया हेर्दा कसरी बाँडिए, क–कसलाई केके शर्तमा बाँडिए भन्दाखेरि घिन पनि लाग्छ । तर, यो एउटा पाठ पनि हो । अब आन्तरिक पार्टीमा पनि प्राइमरि इलेक्सनमा जानुपर्छ । टाउके नेताहरूले टिकट बाँड्ने सिस्टम त एउटा अप्रजातान्त्रिक नै भइहाल्यो, अब प्राइमरिमा जाऔँ ।
यसको सशक्त उदाहरण ऋषि सुनक हुन् । ३५ वर्षमा राजनीतिमा लागेको मान्छे पाँच वर्षमा अर्थमन्त्री र सात वर्षमा प्रधानमन्त्री भए । यी सब हुनुको पछाडि ओपन प्राइमरी इलेक्सन सिस्टम हो ।
शेरबहादुर देउवाले जस्तो त्यहाँ पनि बोरिस जोन्सनले टिकट बाँड्ने भएको भए ऋषि सुनकले टिकट पाउँथ्यो त ? त्यसकारण नेपाली माटो सुहाउँदो केही गर्नुपर्छ ।
शेरबहादुर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको रिसर्च फेलोको रूपमा प्रचारित छन् । त्यो गलत हो । उहाँ चाहिँ पञ्चायत छिर्न थाल्यो भनेर डराएर किसुनजी (कृष्णप्रसाद भट्टराई) ले महेश आचार्य र ०३६ सालको बहुदलपछि मन्त्री बन्ने हल्ला चलेको मलाई याद छ । चिरञ्जीवी वाग्ले, महेश आचार्य, रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरूलाई म चिन्छु ।
०३६ सालमा नै बहुदल आउँछ र मन्त्री बन्छु भन्ने पुस्ता हो । बहुदल नआएपछि अर्जुननरसिंह केसी, परशुनारायणहरू पञ्चायत छिरे । हारेर ०४२ सालसम्म उनीहरू पुगे । ०४२ मा सत्याग्रह मा पनि हार खाए । ०४२ सालमा रुख चिह्न पाएको भए पञ्चायतबाट चुनाव लड्न गिरिजाप्रसाद कोइराला पनि तयार थिए । किसुनजी र गणेशमानले मान्नुभएन ।
त्यतिबेला राजा पनि अनुदार । जनवर्गीय संगठनको सदस्यता लिनुपर्ने भनेको हुनाले, नभए एउटै चिह्नमात्र देऊ, जनवर्गीय संगठनको सदस्य हुन पर्दैन भनेको भए कांग्रेस पार्टी नै त्यतिबेला रहँदैनथ्यो । गिरिजाबाबुको होल टिम नै शेरबहादुर लगायत सबै पञ्चायतमा छिर्थे ।
सत्याग्रहपछि पनि धेरै नेताहरूलाई होल्ड गर्न गाह्रो भयो । सुदूपश्चिमको त्यत्तिको नेता भएपछि शेरबहादुर देउवालाई त्यो पृष्ठभूमिमा बेलायत पठाइयो । उहाँ पढ्न गएको होइन, जोगिन गएको हो । तर, उहाँलाई रिसर्च फी स्टाटस भनेर बीपीका साथीहरूले फन्डेड गरिदिएका थिए । देउवाले त्यहाँ पुस्तकालय प्रयोग गर्न पाउने र एउटा प्राध्यापक असाइन गरे पुग्थ्यो । ती असाइन गर्ने प्रोफेसर चाहिँ प्रख्यात थिए । रिसर्च फी स्टाटसको लागि फन्डेड थिए । ६/७ महिना पुस्तकालय प्रयोग गर्यो, प्रोफेसरलाई भेट्यो, त्यत्ति हो ।
लन्डन स्कुल अफ इकोनोमिक्सको ग्राजुअट, रिसर्च फेलो होइनन् । नेपालमा बहुदल आइसकेपछि पनि देउवा लन्डनमा नै बसिरहेका थिए । त्यसपछि नै नेपाल फर्केका हुन् ।