site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनहुँ–१ मा एमालेबाट उमेदवार बन्न चाहन्छन् एकीकृत समाजवादीका नेता
SkywellSkywell

पोखरा । “माननीय रामचन्द्र पौडेल राष्ट्रपति हुनु भई रिक्त भएको तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कोही हकदार छ भने त्यो एकीकृत समाजवादी हो,” गएको फागुन २८ गते नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठले फेसबुकमा लेखेको स्ट्याटस हो यो ।

यो स्ट्याटस लेखेपछि तनहुँ–१ मा एकीकृत समाजवादीबाट उमेदवार बनाउनुपर्ने मागसहित उनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललाई पनि भेटे । उनले शीर्ष नेतालाई भेटेनन् मात्र, गठबन्धनबाट आफू साझा उमेदवार नबने पार्टीमा नरहनेसम्मको चेतावनी समेत दिए ।

“तनहुँ–१ मा टिकट पाउनको लागि के–के गनुपर्छ, के–के भन्नुपर्छ, सबै भनेर आएका छौँ,” श्रेष्ठले भने ।

KFC Island Ad
NIC Asia

तर, सत्ता गठबन्धनबाट तनहुँ–१ मा नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई उमेदवार बन्ने लगभग पक्कापक्की भइसकेको छ । श्रेष्ठको चर्चा पनि सेलाएको छैन ।

बुधबार (हिजो) नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग उनको भेटको तस्बिर सार्वजनिक भएको छ । त्योसँगै एमाले तनहुँमा उमेदवारका रूपमा उनको चर्चा चुलिएको छ ।

Royal Enfield Island Ad

कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको कार्यतालिकाअनुसार यही चैत २० गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । योसँगै तनहुँ–१ मा एमालेबाट उमेदवार बन्ने व्यक्तिका विषयमा अनेक अड्कलबाजी भइरहेको छ ।

गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका पौडेल २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका उमेदवार एकबहादुर रानामगरले १९ हजार ९४३ मत पाएका थिए । राना अहिलेको उपनिर्वाचनमा उमेदवार बन्ने चर्चामा छैनन् ।

बुधबार एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको सचिवालयले एउटा तस्बिर सार्वजनिक गर्‍यो । फेसबुकमा राखिएको उक्त तस्बिरमा गुरुङसँगै एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्की, मनमाया श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, रनसिंह नेपालीलगायत नेताहरू छन् । बुधबार सार्वजनिक यो तस्बिर सोमबारको हो । उनीहरूबीच धादिङको सिक्रेखोलास्थित एउटा रेस्टुरेन्टमा भेटवार्ता भएको थियो । समाजवादीका नेताकै चाहनामा भेटवार्ता भएको स्रोतको भनाइ छ ।

एमाले तनहुँले आज उमेदवारका आकांक्षीको नाम संकलन गरेर प्रदेश कमिटीमा पठाउँदै छ । निर्वाचन सम्मुखमा हुँदा समाजवादीका नेतासँग भएको गुरुङको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अरू पार्टीका नेतालाई प्रवेश गराएर एमालेबाट उमेदवार बनाउने चर्चा पनि नचलेको होइन । गुरुङसँगको भेटवार्ताको उक्त तस्बिरले श्रेष्ठ एमाले प्रवेश गरेर उमेदवार बन्ने चर्चामा थप मलजल गरेको छ ।

मंगलबार मात्र एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन् । अध्यक्ष माधवकुमार नेपालबाट पार्टी नचल्ने निष्कर्षसहित छाडेको उनको भनाइ छ ।

एमालेबाट उमेदवार बन्ने चर्चामा रहेका श्रेष्ठ ०७८ भदौ १९ गते एकीकृत समाजवादीको गण्डकी प्रदेश सचिव चयन भएका थिए । उनी मंसिर ४ गतेकै निर्वाचनमा सत्ता गठबन्धनबाट उमेदवार बन्न चाहन्थे । कारण, अघिल्लो निर्वाचनमा आफूले जितेको क्षेत्रमा अरू दलले दाबी नगर्ने गठबन्धनभित्र समझदारी बनेको थियो ।

०७४ को निर्वाचनमा तनहुँ–१ मा एमालेका किसान श्रेष्ठले रामचन्द्र पौडेललाई हराएका थिए । पछि श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश गरेर मन्त्री बने । ०७९ मा पनि तनहुँ–१ एकीकृत समाजवादीले नै पाउनेमा सो पार्टीका नेताहरू आशावादी थिए । प्रदेश कमिटीको सचिव भएका कारण प्रतापलाल टिकटका प्रबल दाबेदार थिए ।

त्यहाँबाट जितेका श्रेष्ठ बारातर्फ लागेका थिए । रिक्त ठाउँ उनी आफैँले अघिल्लोपटकको निर्वाचनमा हराएका पौडेललाई छाडिदिए । तत्कालीन गठबन्धनबाट साझा उमेदवारका रूपमा पौडेलले टिकट पाएपछि श्रेष्ठको सम्भावना सकिएको थियो ।

पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचनमा तनहुँ–१ नछाड्न श्रेष्ठलगायत नेताहरूले अध्यक्ष माधव नेपाललाई भेटेर दबाब नै दिइसकेका छन् ।

मंगलबार जंगलीले पार्टी छाड्नुमा अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । प्रदेश सचिव श्रेष्ठको बुझाइ पनि करिब त्यस्तै छ । ‘तनहुँ–१ छाडेको खण्डमा आफू पार्टीमा रहन नसकिने’ चेतावनी उनले नेतृत्वलाई प्रस्ट रूपमा दिएका छन् ।

उनी पुरानो पार्टी एमालेमा नजिकिन थालेको पनि केही अगाडिदेखि नै हो । “एमाले पार्टीमा कोही धेरै मान्छे योगदान गरेका छन् भने सीमित मान्छेमा म पर्छु,” उनले आफ्नो एमाले मोहबारे भने ।

डेढ हप्ताअघि पनि उनले गुरुङसित पोखरामा भेटवार्ता गरेको खुलेको छ । “भेटघाटको विषय उपनिर्वाचन पनि एक हो । तर, पुरानै पार्टीमा फर्किन उहाँहरूले इच्छा देखाइरहनुभएको छ र त्यसकै लागि सकारात्मक वातावरण बनाउन उपमहासचिवसँग भेट भएको हो,” स्रोतले भन्यो ।

पोखराको लेकसाइडनजिक होटेल गुडविलमा गुरुङसित प्रतापलालसहित एकीकृत समाजवादी तनहुँका नेताहरूले भेटवार्ता गरेका थिए । भेटमा उनीहरूले पुरानै पार्टीमा फर्कने मनसाय व्यक्त गरेपछि गुरुङले एमालेभित्र कुराकानी गरे । पार्टीबाट सकारात्मक प्रतिक्रिया पाएपछि उनीहरूबीच दोस्रोपटक भेट भएको बताइन्छ ।

सोमबार धादिङको भेटवार्ता गुरुङ काठमाडौं जाने र प्रतापलालसहितका नेताहरू काठमाडौंबाट फर्कने क्रममा भएको हो । “उहाँहरूले समाजवादीका नेता भेट्ने भनेर काठमाडौंमा नै कुरिरहनुभएको थियो, तनहुँको कार्यक्रम सकेर जाँदा ढिलाइ हुनपुग्यो । गोरखाको पालुङटारमा रहेका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले पनि भेट्ने भनेपछि ‘तपाईंहरू आउँदै गर्नुहोस्, बाटोमा भेटौँला’ भनेको हो । धादिङमा भेट त्यसरी भएको हो,” स्रोतले भन्यो ।

उक्त भेटमा समाजवादीका नेताहरूले पार्टीका शीर्ष नेताहरूलाई बताएको कुरा सुनाएको स्रोतको भनाइ छ । “हामीले अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, घनश्यामलगायतलाई भेटेर हामी पार्टीमा रहन सकिँदैन, रहिएन भनेका छौँ,” उनीहरूले गुरुङसित भनेका थिए ।

श्रेष्ठ भने उक्त भेटलाई ‘रमाइलो’ भन्छन्, “हामी काठमाडौंबाट दमौली फर्किरहेका थियौँ । उहाँ (पृथ्वीसुुब्बा)चाहिँ लमजुङबाट एउटा कार्यक्रम सकाएर काठमाडौं फर्किंदै हुनुहुँदो रहेछ । खानीखोलाभन्दा माथि जम्काभेट भयो । बस्यौँ, छलफल गर्‍यौँ । कुराहरू पनि गर्‍यौँ ।”

स्रोतका अनुसार एकीकृत समाजवादीका शीर्ष नेताहरूलाई पार्टीमा नरहेको जानकारी गराउनसाथ उनीहरूले गुरुङलाई फोन गरेर भेट्ने समय मागेका थिए । भेटमा श्रेष्ठले आफू पार्टी नै प्रवेश गरेर भए पनि उपनिर्वाचनमा एमालेबाट उमेदवार बन्ने आकांक्षा व्यक्त गरेका थिए । पार्टी सकारात्मक भएको खण्डमा श्रेष्ठले पनि टिकट पाउन सक्ने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् ।

उक्त भेटबारे श्रेष्ठले पार्टी एक गराउने र उपनिर्वाचनका विषयमा छलफल भएको बताए । गुरुङले पनि पार्टी एक हुनुपर्नेमा जोड दिएका थिए ।

श्रेष्ठ भन्छन्, “अलिअलि सिग्नल त उहाँहरूले दिनुभएको छ । म त ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तनहुँ–२ बाट नै लडेको हो । त्यो बेलामा एमाले पार्टी जोगाएको हो । कांग्रेसको दबदबा र चर्को प्रभावलाई घटाएको नै हामीले हो । माओवादीको दमनमा पार्टी टिकाएको पनि हामीले नै हो । माओवादीबाट अपहरणमा नै परेको पनि हुँ ।”

टिकट पाएको खण्डमा निर्वाचनमा प्रतिस्पर्धा गर्न उनी तयार छन् । “एमालेका कार्यकर्ता साथीहरूले ‘पेल्छन्, तपाईं आएर चुनाव लड्दिनुभए हुन्थ्यो’ भन्ने खालको कुरा गर्नुभएको छ । मैलेचाहिँ एमालेबाट बाहिर आइयो, आफ्नै पार्टी छ, गठबन्धन छ, गठबन्धनबाट आशा गर्ने भनेर त्यतैतिर लागिरहेको छु । टिकट पाउने कुरा अहिले नै टुंगोमा चाहिँ पुगेको छैन । साथीहरूको कुरामा भर पर्छ,” श्रेष्ठले भने ।

अहिलेसम्म गठबन्धनको कुरा गरे पनि श्रेष्ठ एमाले फर्कने तय भइसकेको स्रोतको दाबी छ । “टिकट पाए चुनावअघि नै प्रवेश गर्छन् । पाएनन् भने चुनावपछि प्रवेश गर्छन् । उनी एमालेमै फर्किन्छन्,” स्रोतले भन्यो ।

एकीकृत समाजवादीकै शंकरनारायण श्रेष्ठ पनि एमालेमा फर्केर निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहन्छन् । तर, तनहुँ–१ का लागि एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ प्रबल दाबेदार हुन् । संघमा वनमन्त्री भइसकेका र गण्डकी प्रदेश सरकारको अर्थ मन्त्रालय सम्हालिसकेका गुरुङले मंसिर ४ मा तनहुँ–२ बाट प्रतिस्पर्धा गरेका थिए । त्यति बेला उनी कांग्रेसका शंकर भण्डारीसित पराजित भएका थिए । किरणले पनि पृथ्वीसुब्बालाई भेटेर आफू प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताइसकेका छन् ।

संगठनको मत, सिनियर नेताको हिसाबले सबैलाई मिलाएर अगाडि बढ्न सक्ने हुँदा किरणको सम्भावना रहेको स्रोत बताउँछ । ०७४ मा किरण प्रदेशसभाका लागि प्रतिस्पर्धी बने । जितेपछि मुख्यमन्त्री बन्न चाहन्थे । तर, पार्टीले पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनायो । पृथ्वीसुब्बाको सरकारमा उनी अर्थमन्त्री बने ।

उपनिर्वाचनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै उमेदवारको टिकट दिने हुन् । त्यसक्रममा ओलीले परामर्श लिँदा पृथ्वीसुब्बा, पद्या अर्याल, किरण गुरुङलगायत नेताहरू नै पर्छन् । त्यसकारण टिकट कसले पाउँछ अहिले नै भन्न सकिने अवस्था छैन ।

तनहुँ–१ कै लागि एमालेबाट सर्वेन्द्र खनाल, टुकराज सिग्देल, पूर्णबहादुर गुरुङ, दीपकराज जोशी, मोहनकुमार विश्वकर्मालगायत नेताहरूको नाम पनि चर्चामा छ । यीमध्ये खनाल नेपाल प्रहरीका पूर्वआईजीपी समेत हुन् । खनाल यसअघि नै तनहुँ–१ का लागि टिकटका आकांक्षी थिए । तर, एमालेले उनलाई काठमाडौं–६ मा उमेदवार बनायो । खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार शिशिर खनालसित पराजित भएका थिए ।

आंकाक्षी सिग्देल एमालेको तनहुँ इन्चार्ज र पोलिटब्युरो सदस्य हुन् । कसैलाई नचिढ्याएका, शालीन र भद्र नेताको छवि बनाएका सिग्देल संविधानसभा सदस्य पनि हुन् ।

यस्तै, पूर्णबहादुर गुरुङ कांग्रेसबाट एमाले प्रवेश गरेका नेता हुन् । उनले गएको निर्वाचनमा तनहुँ–२ ‘क’बाट प्रदेशसभातर्फको टिकट पाएका थिए । तर, पराजित भए ।

गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा हारेका दीपकराज जोशी पनि उपनिर्वाचनमा एमालेबाट उमेदवार बन्न चाहन्छन् । उनी कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा हुन् । व्यासको मेयरका लागि उनले एमालेसँग मिलेर उमेदवारी दिएका थिए ।

तनहुँमा अझै पनि गोविन्दराजको प्रभाव छ । व्यक्तिगत प्रभाव र एमालेको साथ पाए आफूले निर्वाचन जित्न सक्ने भन्दै दीपकराजले पनि टिकटका लागि ‘लबिइङ’ गरिरहेका छन् । गोविन्दराज भने प्रतिनिधसभा निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

एमालेले ‘पब्लिक फिगर’ उमेदवार पनि खोजी गरिरहेको बताइन्छ । त्यो खोजीमा अटाउन सक्ने नाम हो, स्वर्णिम वाग्ले । स्रोतका अनुसार ओलीले मंसिरको निर्वाचनताका नै वाग्लेलाई भेटेर एमालेका तर्फबाट उमेदवार बन्न आग्रह गरेका थिए । तर, वाग्लेले मानेनन् ।

उनी नआएको खण्डमा अरू पब्लिक फिगरको खोजी पनि गरिरहेको एमाले स्रोत बताउँछ । त्यसका लागि पोखरा विश्वविद्यालयका डिन अमर नागिलासहितको टोलीले समेत लबिइङ गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro