
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा बुधबार नामिबियाले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ४८ रनको जित निकालेको छ ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ३८२ रनको विशाल लक्ष्य पछ्याएको पीएनजीले ४६.२ ओभरमा सबै विकेट गुमाएर ३३३ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको नामिबियाले ३८१ रनको योगफल खडा गरेको थियो ।
नामिबियाका कप्तान गेहार्ड इरास्मसले १२५ रन बनाए । उनले ११३ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे । निकोलास ड्याभिनले ९० र जान निकोल लोफ्टी इटोनले ६१ रन बनाए । जान ग्रीनले ३३, कार्ल बिर्केन्टोकले १९, रुबेन ट्रम्पेलमनले १७ र पिकी या फ्रान्सले १३ रन जोडे ।
पीएनजीका सेमो कामेअले पाँच विकेट लिए । काबुअ मारेअले दुई र असद भालाले एक विकेट लिए ।
३८२ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको पीएनजीका चाल्र्स एमिनीले १०९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान असद भालाले ५७, सेसे बाउले ५४, किप्लिन डोरिगाले ४७, चाड सोपेरले २८ र रिले हाकुरेले १२ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पेलमन र बर्नार्ड स्कल्जले समान तीन विकेट लिए । गेरार्ड इरास्मसले दुई विकेट लिँदा बेन सिकोन्गो र साउन फोउचेले समान एक विकेट लिए ।
प्लेअफमा आजै भएको अर्को खेलमा क्यानडाले अमेरिकाविरुद्ध २६ रनको जित निकाल्यो । क्यानडाले प्रस्तुत गरेको १९९ रनको लक्ष्यसहित मैदान उत्रिएको अमेरिकाले ४७.३ ओभरमा सबै विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको क्यानडाले ४९.४ ओभरमा सबै विकेट गुमाएर १९८ रनको योगफल खडा गरेको थियो ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको क्यानडा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । यस्तै, तालिकाको चौथो स्थानमा रहेको नामिबियाले दुई खेलबाट दुई अंक जोडेको छ । तालिकाको पुछारमा रहेको पीएनजी दुई खेल खेल्दा पनि अंकविहीन छ ।
प्लेअफमा आईसीसी विश्वकप क्रिकेट लिग–२ को अंक तालिकाको पुछारका अमेरिका, नामिबिया, यूएई र पीएनजीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिगका क्यानडा र जर्सी गरी ६ टिमको सहभागिता छ ।
राउन्ड रोविन लिग पद्धतिमा सञ्चालन भइरहेको प्रतियोगिताका शीर्ष दुई टिमले जिम्बाब्वेमा हुने विश्वकपको छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा यी दुईसँगै सुपर लिगको पुछारका पाँच र लिग–२ को शीर्ष तीन टिम प्रतिस्पर्धामा हुनेछन् ।
हालसम्म लिग–२ बाट स्कटल्यान्ड, ओमान र नेपालको सहभागिता पक्का भइसक्दा सुपर लिगबाट आउने पाँच टिमको टुंगो लाग्न भने बाँकी छ ।