
जनकपुरधाम । आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि बारा निर्वाचन क्षेत्र २ मा जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस भएको छ ।
बुधबार बसेको जसपा क्षेत्रीय समितिको बैठकले अध्यक्ष यादवलाई उमेदवारको रुपमा सिफारिस गरेको हो ।
बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकोले उपनिर्वाचन गराउने निर्वाचन आयोगको तयारी छ ।
यादव प्रमुख दलसँग तालमेल गरी उमेदवार बन्ने रणनीतिमा छन् भने सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उमेदवार उठाउने घोषणा गरेका छन् ।

जनमतले यहाँ नेकपा (माओवादी केन्द्र)का नेता शिवचन्द्र कुशवाहालाई बुधबार नै पार्टीमा भित्र्याएका छन् । गत निर्वाचनमा कुशवाहा रामसहाय यादवसँग ३५४ मतले मात्रै पराजित भएका थिए । यादवले १३ हजार ८२२ मत ल्याएका थिए भने कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका थिए ।