site stats
बाह्रखरी :: Baahrakhari
कला
बोर्ड पुगेर भुवनलाई नवलको ‘काउन्टर’

काठमाडौं । चलचित्र विकास बोर्डले साइबर सेक्युरिटी डेस्क स्थापनाबारे जानकारी दिन मंगलबार कायक्रम आयोजना गरेको थियो । बोर्डले कार्यक्रममा सरोकारवाला निकायका पदाधिकारीहरूलाई बोलाएको थियो । निमन्त्रणा स्वीकार गर्दै चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, चलचित्र कलाकार संघलगायत संस्थाका अध्यक्षहरू कार्यक्रममा पुगेका थिए । 

कार्यक्रममा सुरुमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले निर्माताप्रति लक्षित गर्दै जसका लागि कार्यक्रम गरेको हो उही नै नआएको गुनासो गरे । बोर्डले चलचित्रको पाइरेसी रोक्न पहल नगरेको भन्दै आरोप लगाउने तर सोही प्रयोजनका लागि आयोजना गरिएको कार्यक्रममा भने नआएको टिप्पणी गरे ।

कार्यक्रममा सहभागी भएर निर्माताहरूले सुझावको अपेक्षा बोर्डले गरेको तर सरोकारवाला पक्ष नै सहभागी नभएको भन्दै भुवनले असन्तुष्टि जनाए । पछिल्लो समय टिकटकलगायत सामाजिक सञ्जालमार्फत चलचित्र पाइरेसीको क्रम बढेपछि निर्माताहरूले बोर्डले यसको नियन्त्रणका लागि पहल नगरेको भन्दै गुनासो गर्दै आएका छन् । 

Himalayan Bank
Dabur nepal
Agni Group

भुवन केसीपछि बोलेका चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भुवन केसीप्रति लक्षित गर्दै बोर्डले ‘कर्मकाण्डी’ काम मात्रै गरेको बताए । आफूहरूलाई कार्यक्रमसमेत के छ भनेर स्पष्ट नभनिएको भन्दै उनले चर्को असन्तुष्टि जनाए । 

“हिजो बेलुका फोन आएको थियो । त्यो पनि कार्यक्रम के हो स्पष्ट भनिएन । एउटा कार्यक्रम छ भनेर बोलाइयो,” नवलले भने, “कम्तीमा यस्तो कार्यक्रम हुँदै छ भनेर चिठ्ठी पठाउनु पर्‍यो । कार्यक्रमका एजेण्डा के हुन्, स्पष्ट गर्नुपर्‍यो । हामी के–के सुझाव दिने भनेर तयारी गरेर आउँथ्यौं । कतिजना आउनु पर्ने हो, आउथ्यौं । आफ्ना कुरा राख्थ्यौं । यो त कर्मकाण्डी काम भयो ।”

Global bank

चलचित्र विकास बोर्डले पर्याप्त तयारी गरेर सरोकारवाला पक्षलाई कार्यक्रममा बोलाउनु पर्नेमा उनको जोड थियो । उनले समस्या समाधान गर्ने उद्देश्यसहित कार्यक्रम गर्न भुवन केसीलाई सुझाव समेत दिए । 

'पाइरेसी'ले निर्माता डढेर खरानी भइसकेपछिको कानुनी उपचार के काम ?

भ्युज र कमेन्टको लोभमा निर्माताको करोडौँ रुपैयाँ जोखिममा 

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय