site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटौला र खाँणको चर्चाबीच तनहुँ–१ मा गोविन्द भट्टराई उमेदवार

पोखरा । तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

तनहुँ–१ मा रामचन्द्र पौडेलको इच्छा रहेसम्म अरू कसैले अवसर पाएनन् । तर, अब उनी राष्ट्रपति बनेसँगै तनहुँ–१ मा दोस्रो पुस्ताले अवसर पाएका छन् । 

कांग्रेसमा निरन्तर खटिरहने तर अवसर नपाउने नेताका रूपमा चिनिने गोविन्द भट्टराईलाई कांग्रेसले तनहुँ–१ मा उमेदवार बनाउने निर्णय गरेको छ ।

२०४८ सालयता लगातार पौडेल उमेदवार बनेको यो क्षेत्रमा कांग्रेसका तर्फबाट दोस्रो उमेदवारको रूपमा भट्टराईलाई अगाडि सारिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने भट्टराईलाई आइतबारको पदाधिकारी बैठकले अगाडि सार्ने निर्णय गरेको हो ।

उसो त पौडेल राष्ट्रपति बनेलगत्तै यो क्षेत्रमा अन्यत्र जिल्लाका उमेदवारलाई लडाउने भन्ने चर्चा पनि नचलेका होइनन् । तनहुँ–१ का लागि पूर्व गृहमन्त्री बालकृष्ण खाँणदेखि झापामा पराजित कृष्ण सिटौलासम्मको चर्चा चलेको थियो ।

यहाँसम्म कि राष्ट्रपतिका आकांक्षी कृष्ण सिटौलालाई उपनिर्वाचनमा तनहुँबाट उमेदवार बनाउने भनेर नै पौडेललाई राष्ट्रपतिमा अघि सारिएको भन्ने चर्चा पनि थियो । अर्कातर्फ, भट्टराई अगाडि बढे आफूहरूको पालो नआउने हुँदा बरु बाहिरका नेताहरूलाई नै यो क्षेत्रमा उमेदवार बनाउनको लागि तनहुँबाट नै लबिइङ पनि नभएको होइन ।

बाहिरबाट नेता ल्याएर चुनाव लडाइने चर्चाकैबीच चैत ६ गते एक कार्यक्रममा भट्टराईले नेता आयात नगर्ने चेतावनी दिएका थिए ।

“यो ठाउँ नेताहरू धेरै भएको जिल्ला हो । यहाँका नेताहरू सक्षम छन् । यहाँ अन्यत्रबाट नेता झिकाएर लडाउनुपर्ने अवस्था छैन । यहाँ नै प्रशस्त नेता छन् । यहाँ आयात होइन नेताको निर्यात गरिन्छ,” उनले भनेका थिए ।

तनहुँबाटै पनि यो क्षेत्रमा गण्डकीका पूर्वमन्त्री डोबाटे विश्वकर्मादेखि पूर्वसभापति रघुनाथ पौडेल, रामचन्द्र अधिकारी, दीपक भट्टराई संविधानसभा सदस्य रामचन्द्र पोखरेललगायतका नेताले आकांक्षीका रूपमा नाम टिपाएका थिए । तनहुँ कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले १२ जना आकांक्षीको नाम संकलन गरेको छ ।

तर, आकांक्षी थुप्रै भएपनि भट्टराइले बाजी मारेका छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका भट्टराई तीन कार्यकाल केन्द्रीय सदस्य बने । २०५३ सालमा उनी नेविसंघको सभापति बने । तरुण दलमा उनी महासचिव बनेका छन् । दुईवटा भ्रातृ संस्थामा प्रभावकारी पदमा बसेर काम गरेका उनी अहिले पार्टीको केन्द्रीय सदस्य छन् ।

कांग्रेसको संसदीय बोर्डले टिकटको टुंगो लगाइसकेको छैन । तर, आफूले टिकट पाउनेमा विश्वस्त भएर आइतबार नै भट्टराई काठमाडौंबाट तनहुँ फर्किएका छन् ।

“पार्टीको काममा धेरै वर्ष बिताएँ, बल्ल पहिलोपटक अवसर पाएको छु,” बाह्रखरीसँगको फोन सम्पर्कमा उनले भने ।

सामाजिक सञ्जालमा पनि उनका शुभेच्छुकहरूले बधाई दिँदै जितका लागि शुभकामना दिइरहेका छन् । पौडेल राष्ट्रपति बनेपछि तनहुँ–१ का जनता झनै खुसी भएको र यसले निर्वाचनमा आफूलाई नै फाइदा पुग्ने उनको विश्वास छ ।

“तनहुँ–१ बाट निर्वाचित नेता राष्ट्रपति बन्नुभएको छ । यसले यहाँका मतदातामा उत्साह बढाएको छ । उहाँहरू एकदमै खुसी हुनुहुन्छ, मंसिर ४ को निर्वाचन भन्दा यसपटक झनै बढी जनताले मलाई मत दिनेछन,” उनले भने ।

मंसिर ४ को चुनावमा पौडेलले यो क्षेत्रबाट २५ हजार ३१८ मत ल्याएर विजयी बनेका थिए । एमालेका उमेदवार एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएका थिए । स्वतन्त्र उमेदवार गोविन्दराज जोशीले भने छ हजार ८७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२ र राप्रपाका विनोद घर्तीले दुई हजार ४८३ मत ल्याएका थिए ।

त्यतिबेला यहाँ ६८ हजार १५८ मत खसेको थियो । अहिले १० दलीय गठबन्धन भएकाले आफू नै गठबन्धनको साझा उमेदवार भएको भट्टराईको दाबी छ । आफ्नो उमेदवारीलाई उनी तनहुँ कांग्रेसमा दोस्रो पुस्ताको अवसरको रूपमा पनि चिनाउन चाहन्छन् ।

“दोस्रो पुस्तालाई अवसर आएको पनि हो, अर्कातर्फ तनहुँ कांग्रेसलाई संगठित बनाएर एक ढिक्का बनाउने जिम्मेवारी पनि हाम्रै काँधमा आएको छ,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro