
बुटवल । प्राचीन राजधानी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्ताबेज तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूको कार्यशाला गरी विश्वसम्पदा सूचीमा सूचीकृतका लागि दस्ताबेज तयार पार्ने कामलाई तीव्रता दिइएको हो ।
शनिबार र आइतबार अन्तर्राष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अस्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत), प्रा. डा. यूकियो निसिमुरा(जापान) सहित नेपालका तर्फबाट विज्ञहरू काई वाइजे, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशीको उपस्थितिमा मनोनयन दस्ताबेजका लागि विधागत विषयमा गहन छलफल गरिएको छ । मनोनयन दस्ताबेजमा पुरातात्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातात्वविद् वसन्त बिडारीले विज्ञहरूले निकालेको निष्कर्षमा सुझाव दिएका थिए ।
लुम्बिनी विकास कोषका प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्वसम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्ताबेजलाई अन्तिम रूप दिन विज्ञहरूसँग छलफल अगाडि बढाइएको छ ।
आइतबार विज्ञहरूको कार्यशालामा सरोकारवाला सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरूसँग पनि छलफल गरिएको छ । छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय(अवधेशकुमार त्रिपाठी)ले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरि मनोनयन दस्ताबेजलाई अन्तिम रूप दिन विज्ञहरूलाई आग्रह गरे । उनले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुँदा कपिलबस्तुको ऐतिहासिक र पुरातात्विक महत्त्व विश्वले चिन्ने बताए ।
हालसम्म गरिएका अध्ययन, अन्वेषण, बौद्धकालीन अवस्था उल्लेख गरेका तीर्थयात्रीहरूको भ्रमण जस्ता आधारले तिलौराकोट विश्व सम्पदा सूचीका लागि योग्य भइसकेको उपाध्यक्ष मैत्तयको भनाइ छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले तिलौराकोटलाई विश्व सम्पदाका रूपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरूलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।