
काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा देखिएका आर्थिक समस्या समाधान गर्न सकारात्मक हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् ।
शनिबार ललितपुरमा ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै श्रेष्ठले अर्थतन्त्रमा गम्भीर प्रकृतिको समस्या देखिएकाले सरकारले सकारात्मक हस्तक्षेप गरेर समस्या समाधान गर्ने बताए ।
सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यमा सरकार अघि बढिरहेको उनले बताए । अब एक/दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने र अर्थतन्त्रको समस्याका विषयमा सरोकारवालासँग परामर्श गरेर प्रभावकारी कदम चालिने उनले जिकिर गरे ।
श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नीजि क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा नै राखेको जिकिर गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
