काठमाडौं । एउटै कलाकारले सयौँ चलचित्रमा अभिनय गरेको हुन्छ । त्यो पनि फरक–फरक चरित्रमा । कसरी सम्भव हुन्छ एकै व्यक्तिबाट भिन्न–भिन्न क्यारेक्टर निर्माण र अभिनय ? बजारमा चलेका कलाकारलाई दिनकै चलचित्रका लागि अफर आइरहेको हुन्छ । कसरी गर्छन् स्क्रिप्ट छनोट ? हरेक चलचित्रको कथा फरक हुन्छ, त्यसको प्रोटागोनिस्ट फरक हुन्छ । फरक भूगोल, भाषा र लवज हुन्छ । आफूले नभोगेको जीवन कसरी चलचित्रमा हुबहु उतार्छन् कलाकारले ? एकै व्यक्तिबाट विश्वसनीय चरित्र कसरी सम्भव हुन्छ ? काम गर्ने तरिका व्यक्तिअनुसार फरक हुन्छ । आफूलाई जसरी सहज हुन्छ, त्यसैगरी काम गर्छन् ।
दयाहाङ राई चलचित्र निर्देशकीय माध्यम रहेको तर क्यारेक्टरको सिचुएसनमा कसरी बस्ने त्यसमा कलाकारले ध्यान दिनुपर्ने बताउँछन् । कुन प्रक्रियाबाट काम गर्ने भन्नेमा कलाकार र निर्देशक दुवै स्पष्ट हुनुपर्नेमा उनको जोड छ ।
निर्देशकले तयारी गराएअनुसार काम गर्नुको विकल्प नहुने दयाहाङ बताउँछन् । यद्यपि, त्यसमा आफ्नो तर्फबाट इम्प्रोभाइजेसन कलाकारले गराउने गरेको र त्यो आफूमा पनि लागु हुने उनी सुनाउँछन् ।
दयाहाङ स्क्रिप्ट हातमा परेपछि त्यसको अध्ययन गर्छन् । स्क्रिप्ट पढिसकेर निर्देशकलाई प्रश्न गर्छन्, “तपाईंले यो कथा कसरी भन्न खोज्नुभएको हो ?”
निर्देशकले कसरी कथा भन्न खोजेको बारे सुनाएपछि दयाहाङ पुनः एकपटक स्क्रिप्ट पढ्छन् । “योपटक म आफ्नो क्यारेक्टर ध्यान दिएर पढ्छु । मेरो क्यारेक्टर मात्रै पढेर पनि हुँदैन । को–एक्टर र अरू क्यारेक्टरको पनि अध्ययन गर्छु,” दयाहाङ भन्छन्, “क्यारेक्टरहरूको सम्बन्ध, त्यो अवस्थासम्म ऊ कसरी आइपुग्यो र ऊ कसरी बाँचिरहेको छ भनेर म खोज्छु । मैले खोजेअनुसार कथा चित्त बुझ्यो भने काम गर्छु, होइन भने गर्दिनँ ।”
त्यसपछि सेटमा पुगेर कसरी काम गर्ने भनेर दयाहाङ सोच्न थाल्छन् । “चलचित्रको त्यो सिनमा जिन्दगीको त्यो सिचुएसनमा म कसरी बाँच्छु होला भनेर खोज्न थाल्छु,” उनी अगाडि थप्छन्, “कुन सिनमा म कसरी काम गर्छु, कसरी रियाक्ट गर्छु, त्यो चरित्र म खोज्न थाल्छु । खोज्ने तरिका विभिन्न हुन्छन् । कहिले भेटेर, कहिले कतै हेरेर वा सोधेर ।”
‘दासढुंगा’मा अमर लामाको मृत्यु भइसकेकाले भेट्न सम्भव भएन । त्यसैले उनले फोटो हेरेर यस्तो हाउभाउ हुन सक्ला भनेर कल्पना गरे । उनलाई चिन्नेजान्नेलाई सोधे ।
उनै दयाहाङले अर्को चलचित्र ‘तान्द्रो’मा त्यसको मुख्य प्रोटागोनिस्टलाई भेटे । तर, पटक–पटक भेटेनन् । कारण, धेरै भेट्दा कतै आफू बढी नै प्रभावित भएर उनको पक्षपोषण त गर्ने अवस्थामा पुग्दिनँ भन्ने डर उनमा पलायो । त्यसैले उनी यस्तो सम्भावनाबाट टाढै रहन हमेसा सचेत हुन्छन् ।
आफूले गर्न लागेको क्यारेक्टर मुख्य हो भने वरपरका चरित्र कस्ता हुन्छन्, उनीहरूको व्यवहार कस्तो हुन्छ, अवरोध के–के हुन सक्छन् भनेर उनी अध्ययन गर्छन् । जसले बलियो चरित्र निर्माणमा सहयोग गर्छ ।
स्क्रिप्टको अध्ययनपछि दयाहाङ क्यारेक्टरलाई मजबुत बनाउनेतर्फ लाग्छन् । कतिपय कलाकार आफ्नो क्यारेक्टर मात्र अध्ययन गर्छन् । दयाहाङ आफ्नो मात्र होइन, आफ्नो को–एक्टरसँगै अरूको चरित्र पनि अध्ययन गर्छन् । र, प्रतिक्रिया दिन्छन् । अरूको चरित्र अध्ययन नगरी आफ्नोमा मात्र केन्द्रित हुँदा सेटमा अरू क्यारेक्टरसँग तादात्म्य नहुने र काम राम्रो ननिस्किने उनको धारणा छ ।
दीपकराज गिरी सबैभन्दा पहिला आफूले गर्ने चरित्र कस्तो छ, अध्यनन गर्छन् । त्यसका लागि आफैँ फिल्डमा जान्छन् । आफूले चलचित्रमा निर्वाह गर्ने चरित्र कस्तो हो र उसको हाउभाउ कस्तो छ, अध्ययन गर्छन् । अध्ययन गर्ने विभिन्न तरिकामध्ये सबैभन्दा पहिला उनी आफैँ सम्बन्धित पक्षलाई भेट्छन् ।
“पत्रपत्रिकाबाट अध्ययन, अरू व्यक्ति तथा शुभेच्छुकबाट उसका बारेमा अध्ययन गरिन्छ । सम्बन्धित व्यक्तिसँगको भेटघाट सबैभन्दा प्रभावकारी माध्यम हो,” दीपक भन्छन्, “आफ्नो लागि म आफैँ जान्छु । नेताको क्यारेक्टर गर्नुप¥यो भने म आफैँ उनीहरूको बारेमा सूक्ष्म अध्ययन गर्छु । म आफैँ पनि राजनीतिप्रति चासो राख्ने र राजनीतिशास्त्रको विद्यार्थी भएकाले सहज पनि हुन्छ ।”
व्यक्ति स्वयंले आफूले चरित्र निभाउन चाहेको व्यक्तिसँग गएर भेट्दा क्यारेक्टर बलियो बनाउन र पटकथा लेखनमा सहज हुने उनको भनाइ छ ।
कथा भन्ने उनको आफ्नै शैली छ । आफ्नो चलचित्रमा मात्र होइन, अरूको सिनेमामा पनि काम गर्नुपरे पटकथा र संवादमा आफैँ ध्यान दिन्छन् । होइन भने अरूका चलचित्रमा कामै गर्दैनन् ।
विपीन कार्की भर्सटाइल एक्टरको छवि बनाएका अभिनेता हुन् । चलचित्रमा उनको क्यारेक्टर स्टोरियोटाइप भयो भन्ने उनले खासै आलोचना व्यहोर्नुपरेको छैन । उनी कसरी काम गर्छन् ? चलचित्रका लागि अफर आएपछि सुरुमा स्क्रिप्ट पढ्छन् । स्क्रिप्ट मन परे साइन गर्छन् । कम्तीमा तीनदेखि चारपटक स्क्रिप्ट अध्ययन गर्छन् । स्क्रिप्टले भन्न खोजेको के हो, कस्तो क्यारेक्टर हो, चरित्रले के भन्छ, अध्ययन गर्छन् ।
चलचित्र खेल्ने÷नखेल्ने केही ‘कन्फ्युजन’ भए साथी समेत रहेका निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङसँग सल्लाह गर्छन् । त्यसबाहेक विपीन श्रीमतीसँग पनि छलफल गर्छन् ।
“चारपटक स्क्रिप्ट पढिसकेपछि यो कस्तो खालको क्यारेक्टर हो, यो क्यारेक्टरले भन्न खोजेको के हो भन्ने बुझिन्छ । क्यारेक्टरको बेसलाइन के हो भन्ने थाहा हुन्छ,” विपीन अगाडि थप्छन्, “आफूले स्क्रिप्ट पढिसकेपछि निर्देशक र लेखकलाई दिने फिडब्याक छ भने दिन्छु ।”
कुन धर्म, संस्कृति, भूगोलको चरित्र हो, विपीन खोज्छन् । धर्म, संस्कृति, उमेर, अध्ययन, जाति र संस्कारले चरित्र निर्धारण गर्ने र त्यसैभित्र रहेर काम गर्ने विपीनको तौरतरिका हो ।
“म दलित समुदायको व्यक्तिको चरित्र निर्वाह गर्दै छु भने उसको उमेर कति हो, उसले कति पढेको छ, उसको पारिवारिक आर्थिक अवस्था कस्तो छ, साथीसंगती कस्तो छ भनेर अध्ययन गर्छु,” विपीन भन्छन्, “यति कुरा थाहा पाउने हो भने धेरै कुरा थाहा हुन्छ । कसरी काम गर्ने धेरै कुरा आफैँ निर्धारण हुन्छ । व्यक्ति कुन समाजमा हुर्किएको हो, यसको आर्थिक अवस्था धनी वा गरिब के हो, साथी कस्ता छन् र कति पढेको छ, त्यहीअनुसार उसको बानी–व्यवहार तथा बोलीवचन हुन्छ ।”
यति थाहा पाउन उनी कुन ठाउँको चरित्र हो, त्यही भूगोलमा पुग्छन् । कुन उमेरसमूहको चरित्र हो, त्यही उमेरका व्यक्तिसँग भेटघाट र हेलमेल गर्छन् । त्यति मात्र होइन, लवाइखवाइ र लवजका लागि सामाजिक सञ्जाल तथा अरू ‘सेकेन्डरी सोर्स’बाट खोजेर हेर्छन् । यसपछि मात्र बल्ल आफूले निभाउन लागेको चरित्र अनुभूत गर्न सकिने विपीनको अनुभव छ । अन्यथा, चरित्र कमजोर हुने उनको भनाइ छ ।
चरित्रलाई न्याय गर्न भूगोल, शैक्षिक योग्यता, परिवेश र समय (चरित्र बाँचेको कालखण्ड)मा स्पष्ट हुनुपर्नेमा उनको जोड छ । नत्र जतिसुकै राम्रो कथा भए पनि अभिनेता÷अभिनेत्रीका कारण चलचित्र कमजोर हुने विपीन बताउँछन् । चरित्रको सही चित्रण नभएको खण्डमा नयाँ पुस्ता र फरक भूगोलमा बसेका दर्शकसामु गलत सूचना पुग्ने उनी सुनाउँछन् ।
‘भष्मेडन’देखि ‘फडिन्द्र’सम्म ‘बिन्दू’देखि ‘पित्तले डन’सम्मका क्यारेक्टरमा मिहिनेत गरेका विपीन दर्शकलाई अनुभूत गराउने चरित्र निर्माणका लागि समय लाग्ने बताउँछन् । पर्याप्त समय र अध्ययन गरे चरित्र निर्माणमा राम्रो काम गर्न सकिनेमा उनी ढुक्क सुनिन्छन् ।
नेपालमा सिनेमा चले त्यसको जस एक्टरले लिने तर नराम्रो भए अपजस निर्देशकलाई दिने प्रवृत्ति छ । यो ठिक नभएको अभिनेता दयाहाङ बताउँछन् । चलचित्र निर्देशकीय माध्यम भए पनि कलाकारको उत्तिकै हात हुने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।
“कुनै निर्देशकले कथा तथा पटकथा यो हो, ल यतिभित्र बसेर काम गरौैँ भनेर छोड्दिन्छन्,” दयाहाङ स्पष्ट पार्छन्, “सीमा तोकेर निर्देशकले स्वतन्त्र छोड्दिएको हुन्छ । स्वतन्त्रताको परिधिभित्र बसेर हामीले मिहिनेत गर्नुपर्छ ।” होइन भने विश्वासिलो चरित्र निर्माण गर्न नसकिने उनी बताउँछन् ।