विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब अन्तिम चारमा पुगेको छ ।
पेनाल्टी सुट आउटमा आर्मीका सेसेहाङ आङदेम्बे प्रहार पोस्ट बाहिर गएपछि जावलाखेलले आर्मीलाई ६–५ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा पुगेको हो ।
जावलाखेलका विशाल तामाङको गोल निर्णायक बन्यो ।
पहिलो सुटआउट आर्मीका टंक बस्नेतले गरेको गोलले पोस्ट चुम्यो । दोस्रो सुट गरेका जाउलाखेलका विशाल तामाङले पनि बललाई जाली चुमाए । त्यसपछि आर्मीका टेकबहादुर बुढाथोकीले प्रहार गर्दै गोल गरे । जावलाखेलका फोडीफोफानाले पनि गोल गर्दा आर्मीका जिलेप्सीजंग कार्कीले अर्को गोल थपे । जावलाखेलका ईश्वर गुरुङ, आर्मीका सन्तोष केसी र जावलाखेलका छिरिङ लामाको प्रहार पनि गोलमा परिणत भयो ।

ट्राइबेकरमा आर्मीका किपर विकेश कुथु र जावलाखेलका समीरराज ठोकरले गोल गर्दा दुवै टिम पाँच–पाँच गोल गर्न सफल भएका थिए । तर, आर्मीका आङदेम्बेको प्रहार पोस्टमाथिबाट बाहिरियो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तीस मिनेट थपिएको अतिरिक्त समयमा पनि आर्मी र जावलाखेलका खेलाडीले कुनैपनि गोल गर्न सकेनन् ।
त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
आर्मीका लागि क्याप्टेन जिलेप्सीजंग कार्की र जवालखेललाई क्याप्टेन सिमान्त थापाले नेतृत्व गरेका थिए । आर्मी हालै सम्पन्न झापा गोल्डकपको उपाधि विजेता हो ।