site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसमा इतर समूहले टुंग्यायो मन्त्रीको नाम ! देउवाको रोजाइ को ?

काठमाडौं । सरकार विस्तारको विषय पेचिलो बनिरहँदा सत्तारूढ दल नेपाली कांग्रेसभित्र गुटउपगुटको छलफल तीव्र भएको छ ।

सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले यस विषयमा दैनिक कुराकानी गरिरहेका छन् ।

कांग्रेसभित्रको गुट र उपगुटको व्यवस्थापन गर्नै समस्या परेका कारणले अलिहेसम्म पूरै नाम भने टुंगो लागिसकेको छैन । तर गुट उपगुटले भने आफ्नो समूहबाट नामावली टुंगो लगाएर बसेका छन् ।

Himalayan Bank
Dabur nepal
Agni Group

त्यसमध्ये शेखर कोइराला समूहले उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बुलाई पठाउने भएको छ ।

“यी नाम करिब टुंगो लागिसकेको हो,” सो समूहका एक नेताले भने, “रातारात परिवर्तन गरिएन भने सरकारमा जाने टुंगो लागेका नाम यिनै हुन् । त्यसबाहेक हाम्रो समूहबाट थप एकजनाको लागि लविइङ गर्ने कुरा भएको छ । तीनजना पाएको खण्डमा जीवन परियारलाई पठाउने तयारी छ ।”

Global bank

तर कांग्रेसले अहिलेसम्म कति मन्त्रालय पाउने भन्ने निर्णय भइसकेको छैन । सत्ता गठबन्धनमा मन्त्रालयको संख्या र नाममा विवाद छ ।

कम्तिमा पनि ८ मन्त्रालय पाउने निश्चित भएको दाबी कांग्रेस नेताहरूको छ । 

सुरूवातमा १० मन्त्रालय दाबी गर्ने भनेको कांग्रेसले ८ मन्त्रालय जुनसुकै हालमा पनि लिनुपर्ने पार्टीभित्र दबाब बढेको छ ।

कांग्रेसले ७ देखि ८ मन्त्रालय पाए इतर समूहलाई कति मन्त्रालय दिन्छन् भन्ने बहस पनि कांग्रेसभित्र छ । सभापति शेरबहादुर देउवा निकट एक नेता पार्टीले ८ मन्त्रालय पाउने र त्यसमध्ये २ मन्त्रालय शेखर समूहलाई दिने तयारी भएको बताए ।

“८ मन्त्रालय हामीले पाउने हो । त्यसमध्ये शेरबहादुर देउवाले शेखर समूहलाई २ मन्त्रालय दिएर आफूले बाँकी मन्त्रालय राख्छन्,” देउवा निकट ती नेताले भने । 

स्रोतका अनुसार देउवाले अर्थ मन्त्रालयका लागि प्रकाशशरण महतलाई बचन दिइसकेका छन् । बाँकी नाम भने छलफलमै रहेको छ ।

“सरकारको नेतृत्व गरेर कसलाई पठाउने भन्ने कुरा भइरहेको छ । त्यसमा उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि रहेका छन्,” स्रोतले भन्यो, “अहिलेसम्म निर्णय भइसकेको छैन ।”

यसैको तयारी स्वरूप पार्टीको इतरसमूहले बिहीबार छलफल गरेको थियो ।

नेता कोइरालाको कार्यालय बालुवाटारमा बसेको बैठकमा कोइरालाले समूहका नेता तथा सांसदहरूको राय लिएका थिए । निकट नेता तथा सांसद सुनील शर्माले छलफलमा सांसदहरूले आ–आफ्नो आकांक्षा राखेको बताए । 

“साथीहरूको कुरा सुन्न र धारणा बनाउन उहाँले बैठक बोलाउनुभएको हो,” उनले भने, “सबैले आ–आफ्नो धारणा र आकांक्षा राख्नुभयो । सबैले अवसर पाउनुपर्ने जानकारी गराउनुभयो र मन्त्री बन्दा नयाँ सबैलाई समान अवसर दिनुपर्ने धारणा राख्नुभयो ।”

नेता कोइरालाले बैठकमा सम्बोधन गर्दै समूहले बढीमा ३ मन्त्रालय पाउने अवस्था रहेको बताएका थिए । पार्टीले सात मन्त्रालय पाए आफ्नो समूहले दुई र आठ मन्त्रालय पाए तीन मन्त्रालय पाउने अवस्था रहने बैठकमा कोइरालाले ‘ब्रिफिङ’ गरेका थिए । 

उनले आफू भने सरकारमा नजाने भन्दै भुगोल, क्षेत्र, लिङ्ग, सिनियर–जुनियर मिलाएर पार्टीले मन्त्री पठाउने तयारी गरेको बैठकमा जानकारी गराएका थिए । 

“उहाँले आफूलाई नेतृत्व लिएर सरकार जान सभापतिले भनेको कुरा जानकारी गराउनुभयो । साथै उहाँले आफू सरकारमा सहभागी नहुने र आफ्नो तयारी १५औं महाधिवेशनका लागि हुने बताउनुभयो,” शर्माले बाह्रखरीसँग भने, “सबैलाई समान अवसर प्राप्त हुन्छ भन्दै यो सरकारमा समूहले बढीमा पाए ३ मन्त्रालय पाउने जानकारी गराउनुभयो । ७ मन्त्रालय कांग्रेसले पाए समूहको भागमा २ मन्त्रालय पर्ने साथीहरुको बुझाइ छ ।”

सहमहामन्त्री समेत रहेका जीवन परियारले पनि समूहले मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गरेको बताए । तर, समूहले व्यक्तिको नाममा भने निर्णय गरिनसकेको बाह्रखरीलाई जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय