site stats
बाह्रखरी :: Baahrakhari
खेल
आसिफलाई मधेस सरकारले दुई लाख रुपैयाँ दिने

काठमाडौं । मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखलाई दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको नाम उच्च पारेको भन्दै सो रकम पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वीरगञ्जका आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा आईरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेलभावना देखाउँदै रनआउट नगरेपछि आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) ले ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’ समेत प्रदान गरेको थियो ।

सो खेलमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि म्याकब्रायनले रन पूरा गर्न पाएका थिएनन् । तर, आसिफले क्याकब्रायनले रन लाइन पार नगर्दा पनि हातमा बल स्टम्प गरेका थिएनन् । सोही खेल भावनाका कारण आईसीसीले आसिफको आर्दशनत व्यवहारको उच्च सम्मान गर्दै वर्षको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको थियो ।

उदाहरणीय खेल भावनाको परिचय दिँदै विश्वभरिका क्रिकेटप्रेमीहरूको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मानस्वरुप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए ।

यसअघि प्रदेश सरकारले गुल्सन झा र आरिफ शेखलाई पनि जनही दुई/दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्