site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीको लाठी प्रहारबाट घाइते लिम्बूको मृत्यु 

विराटनगर । कोसी प्रदेश नामकरण विरोधमा सहभागी एक आन्दोलनकारीको मृत्यु भएको छ । नाम खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू लागेहाङको मृत्यु भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । टाउकोमा चोट लागेका लिम्बू मंगलबार राति अचानक बेहोस भएपछि उपचार गर्न प्रतिष्ठानमा लगिएको थियो ।  

Himalayan Bank
Dabur nepal
Agni Group

बिहीबार राति २ बजे उपचारकै क्रममा उनको मृत्यु भएको पदमका भाइ दीपेन्द्र खजुम लिम्बूले जानकारी दिए । मृतक लिम्बू मोरङको बेलबारी नगरपालिका–२ निवासी हुन् । 

लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डरको भूमिकामा थिए । फागुन १७ गते प्रदेश–१ को नाम कोसी नामकरण गरिएको थियो । त्यसपछि पहिचानवादी समूहले खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

Global bank

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिव दिलकुमार लावतीले सरकारले सहिद घोषणा नगरुन्जेल मृतकको शव नउठाउने बताए । उनले भने, “मन्त्रिपरिषद्को निर्णय भई सहिद घोषणा नगरुन्जेल शव उठाउँदैनौँ ।”
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय