काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदा श्रमिक र तिनका परिवारहरूलाई ठूलो राहत पुग्ने बताए ।
बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
“वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले आर्थिक रुपमा देशलाई चलायमान बनाउन ठूलो योगदान पुग्छ,” उनले भने ।
उनले वैदेशिक रोजगारदाताहरू कोषमा आबद्ध हुन पाउँदासमेत उनीहरूलाई राज्य भएको महसुस पुग्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारमा रहेकाहरूले नेपालमा वार्षिक लगभग एक खर्ब रेमिट्यान्स पठाउने गरेको उनको भनाइ छ ।

उनले विदेशमा श्रमिकहरूले रगत पसिना बगाएर कमाएर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलायमान भएकाले सरकारले यस्ता योजना ल्याउनु स्वागतयोग्य रहेको बताए ।