
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–४’ले दुई हप्तामा १५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सुरुका चार दिनमा करिब सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले दुई हप्तामा १५ करोड रुपैयाँभन्दा माथि ग्रसकलेक्सन गरेको हो ।
“दुई हप्तामा १५ करोडभन्दा माथि ग्रसकलेक्सन भएको छ,” चलचित्र ‘छक्का पञ्जा–४’का वितरक मनोज राठीले बाह्रखरीसँग भने ।
यो पटक आफ्नो चलचित्रले युवा पुस्ताका दर्शकलाई पनि हलसम्म तानेको कलाकार तथा निर्माता दीकपकराज गिरीले बताएका छन् । सुरुका तीन दिन यो पटक आफ्ना रेगुलरभन्दा पनि युवा पुस्ताका दर्शक सिनेमा हेर्न आएको उनी बताउँछन् । त्यसपछि नियमित दर्शक आएको उनको भनाइ छ ।
युवा पुस्ता सिनेमा हेर्न आउनु आफैंमा राम्रो भएको भन्दै दीपक सिनेमा हेर्ने संस्कृतिको विकास गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए ।

‘छक्का पञ्जा’ सिरिजको सम्पूर्ण रेकर्ड ‘छक्का पञ्जा–४’ले तोड्नेमा दीपक ढुक्क छन् । पछिल्लो समय मल्टिप्लेक्स थपिएकाले पनि ग्रसकलेक्सन बढ्ने गरेको उनको भनाइ छ । ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ रिलिज गर्दै काठमाडौंको सीतापाइलामा ३९१ सिट क्षमताको दुई पर्दासहितको सीके सिनेमाजको फागुन १९ गतेबाट ओपनिङ भएको थियो ।
चलचित्र ‘छक्का पञ्जा–४’ दीपकराज गिरी, केदार घिमिरे, बुद्दि तामाङ, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
यसअघिका ‘छक्का पञ्जा’का तीनवटै सिरिज दीपाश्रीले निर्देशन गरे पनि यो पटक पनि हेमराजले निर्देशन गरेका हुन् । चलिचत्र फागुन १९ गते रिलिज भएको थियो ।