
काठमाडौं । इर्लिङ ब्राउट हालान्डले पाँच दिनको अन्तरालमा दोस्रो ह्याट्रिक गरेको दिन म्यानचेस्टर सिटीले शनिबार राति बर्नलीलाई ६–० ले हराउँदै एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ ।
हालान्डले गत मंगलबार राति च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लाइपलिगविरुद्ध पाँच गोल गरेका थिए । त्यसको पाँच दिन बित्न नपाउँदै नर्वेका फरवार्ड हालान्डले शनिबार राति ह्याट्रिक गरेका हुन् । जारी सिजन हालान्डले सबैखाले प्रतियोगितामा गरी ४२ गोल गरिसकेका छन् ।
रुड भान निस्टलरोय र मोहम्मद सालाहले बनाएको एकै सिजन धेरै गोल गर्ने कीर्तिमान तोड्नबाट हालान्ड दुई गोलले मात्र पछाडि छन् ।
गएराति हालान्डलाई युयिनल अल्भारेज र दुई र कोल पाल्मरले एक गोल गरेर साथ दिएका थिए । हालान्डले ३२औँ मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो । ३५औँ मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर बनाए । ५९औँ मिनेटमा हालान्डले ह्याट्रिक गरेका थिए ।

६२औँ मिनेटमा अल्भारेजले चौथो गोल थपे । ६८औँ मिनेटमा बैकल्पिक खेलाडी कोल पाल्मरले पाँचौँ गोल थपे । पाल्मर ६३औँ मिनेटमा हालान्डको स्थानमा मैदान छिरेका थिए । ७३औँ मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो थपेपछि सिटीले सहज जित निकालेको हो ।
पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले छैटौँ पटक एफए कपको सेमिफाइनलमा स्थान बनाएको हो । सिटीले पछिल्लोपटक २०१८/१९ उपाधि जितेको थियो ।