1679145681.jpg)
विराटनगर । झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ध्रुवतारा पहिलोपटक प्रतियोगितामा सहभागी भएको थियो ।
विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो ।
जितको लागि झापाका गौरव धिमालले दुई गोल र प्रविण राईले एक गोल गरेका थिए । सिरहाको तर्फबाट बिनु आलेमगर र विधान लामाले गोल गरे ।
उपाधिसँगै झापाले दुई लाख ११ हजार रुपैयाँ प्राप्त गर्याे । उपविजेता सिरहाले एक लाख ११ हजार रुपैयाँमा चित्त बुझाउन पर्याे ।
प्रतियोगिताको म्यान अफ द फाइनल झापाको गौरव धिमाल बने । यस्तै, उत्कृष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिड फिल्डर सिरहाका सुजन पुलामी, डिफेन्स गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रविण राई, उत्कृष्ट प्रशिक्षकमा झापाका सन्दीप मगर घोषित भए ।
प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापाका प्रविण राई घोषित भए ।
सो अवसरमा खेलकुदमा योगदान पुर्याउने तीनजनालाई सम्मान गरियो । जसमा कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरेको थियो । सम्मानित हुने व्यक्तिहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, ट्रष्टका अध्यक्ष किशोर शाहीले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
फागुन २७ देखि चैत ४ गतेसम्म सञ्चालन भएको गोल्डकपमा मोफसलका ‘ए’ डिभिजनका आठवटा टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।