site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्टुनका बादशाह
SkywellSkywell

राजा वीरेन्द्रको वंश नाश भयो । रोलक्रममा नरहेका भाइ ज्ञानेन्द्रको भाग्यमा राजकाज लेखेको रहेछ । राजा भए । विभिन्न खालका समाचार आए, टीकाटिप्पणी भए । ज्ञानेन्द्रमाथि नै औंला उठ्योतर त्यसलाई पुष्टि गर्ने आधार कसैसँग थिएन । घटनास्थलको नामोनिशान मेटियो । घटना झनै शंकास्पद भएको अड्कल काटियो तर त्यसभन्दा माथि उठ्न कोही सकेन । राजकाज सम्हालेपछि ज्ञानेन्द्र महत्त्वाकांक्षी हुँदै गए । नेताहरूलाई नजरबन्दमा राखे ।  शान्तिपूर्ण भेला हुन पाउने जनताको अधिकार खोसे । त्यत्तिमै उनी रोकिएनन् । एक कदम अगाडि बढेर शासनसत्ता नै हातमा लिए ।मिडियामाथि लगाम लगाए । शुरुमा हच्किएका मिडियाले बिस्तारै मुख खोल्न थाले । तानाशाही ज्ञानेन्द्रका कदमको विरोध गर्न थाले ।

‘गोरखापत्र’, ‘राइजिङ नेपाल’, ‘रेडियो नेपाल’ र ‘रासस’ले ज्ञानेन्द्रको गुणगान गाए पनि निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरूले शाही ‘कू’को विरोध गर्न थालेका थिए । निजी क्षेत्रकै ‘काठमान्डू पोस्ट’का तत्कालीन सम्पादक प्रतीक प्रधानले फोन गरेर वात्स्यायन (दुर्गा बराल)लाई भने, “अहिलेको राजनीतिक अवस्थालाई व्यंग्य गर्दै एउटा गज्जबको कार्टुन बनाउनु पर्‍यो ।”

प्रधानले विषय त दिए तर यस्तै बनाउन भनेनन् । अनुभवी कार्टुनिस्ट भएकाले पनि होला वात्स्यायनलाई कसैले पनि ‘यस्तो बनाऊ’ भनेर ‘क्राइटेरिया’ तोक्दैनन् ।

KFC Island Ad
NIC Asia

शाही शासनको बिगबिगी थियो । अधिकांश जनता सडकमा थिए । जनतामा छटपटी थियो । यो परिस्थितिलाई नजिकबाट नियालिरहेका वात्स्यायनलाई कार्टुन फुरिहाल्यो । गिरिजाप्रसाद कोइरालाले मरेको घोडा (संवैधानिक राजतन्त्र) लाई बोकेर हिँडेको कार्टुन बनाए । आइतबार ‘काठमान्डू पोस्ट’सँगै ‘कान्तिपुर’ दैनिकमा पनि छापियो । मंगलबारसम्म त उनले सकारात्मक प्रतिक्रिया मात्रै पाए । तर, तेस्रो दिनदेखि त्यसको व्यापक विरोध शुरु भयो । सरकारी सञ्चार माध्यमले त्यसको विरोध गरे । समाचार बनाएर प्रकाशन तथा प्रसारण गरे ।

‘कान्तिपुर दैनिक’ मा सम्पादक नारायण वाग्ले थिए । उनले वात्स्यायनलाई फोन गरेर भने, “दुर्गाजी, प्रहरीले जुनसुकै बेला हामीसहित तपाईंलाई पनि गिरफ्तार गर्ने तयारी गरिरहेको मैले विश्वस्त सूत्रबाट थाहा पाएको छु । गिरफ्तारी दिने मनस्थिति बनाएर बस्नुहोला ।”

Royal Enfield Island Ad

शुरुमा त मुटु चिसो भयो ।उनी मानसिक रूपमा गिरफ्तारी दिन तयार भएर बसे । तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको व्यापक विरोधपछि ज्ञानेन्द्र हच्किए । गिरफ्तारीको आदेश दिन सकेनन् । वात्स्यायनलाई जेल जानु परेन ।

० ० ० 

गत साता शुक्रबार वात्स्यायनलाई भेट्न हामी पोखरास्थित उनको घरमै पुग्यौं । मध्यान्हको २ बजेको थियो । फोनमा उनैले दिएको ठेगाना पछ्याउँदै महेन्द्रपुल नजिकै कन्या क्याम्पसको पश्चिमतर्फ सडक छिरेपछि आउने चोकको पूर्वपट्टि उनको घर फेला पर्‍यो । उनी गेटमै आइपुगेका थिए हामीलाई लिन । सेतै फुलेको कपाल । मझौला कदको जिउडाल । उनलाई पछ्याउँदै हामी पुग्यौं,एउटा पुस्तकालयमा । आफू पुराना पत्रकार अनि कलाकार अनुप र प्रकाशक अजित बरालका बुवा भएपछि पुस्तकालय हुनु नौलो थिएन। सिनित्त परेको पुस्तकालय देख्दा साहित्यप्रति यो सिंगो परिवारको लगाव स्पष्ट झल्किन्छ ।

उत्तरतर्फको सोफामा हामीलाई राखेर उनी बसे घुम्ने मेचमाथि । उनको ठीक माथि एक तमासले घुमिरहेको सिलिङ फ्यानले कोठाको गर्मीलाई चिरिरहेको थियो । त्यही फ्यानको चिसोमा हामी एक घण्टा गफियौं । उनका पुराना पाका गफ सुन्यौैं ।

बाल्यकाल

वि.सं. १९९९ सालमा पोखरामा जन्मिए दुर्गा । दक्षिणतर्फ फाँट,दायाँवायाँ रुखरुखै, उत्तरतिर जंगल र सेत्तै हिमाल । उनको आँगनबाट देखिने दृश्य थियो यो । पोखरालाई प्रकृतिको बरदान भनिन्छ । उनी त्यहीँ ठाउँमा जन्मिए । ब्राह्मण कुल भएकाले उनका बाउबाजे जजमानी गर्थे । विवाह, व्रतबन्ध गर्थे, सप्ताह लगाउँथे । सप्ताह लगाउँदा आठ किसिमका हात्तीको चित्र बनाउनुपर्छ । लेख्न कागज र कलम हुन्थेन । नेपाली कागज त हुन्थ्यो, तर दुर्लभ । बाँसको सुप्लामा लेख्नुपथ्र्यो । कलमका लागि बाँसकै कुची बनाउने चलन थियो । कटुसको बोक्रा पकाएर मसी बनाइन्थ्यो । बुवाले हात्ती बनाएर बाँकी रहेको मसीले बाँसको सुप्ला र घरको भित्तामा हात्ती बनाउँथे दुर्गा । हात्तीमात्रै होइन, पारिपट्टि देखिने रुख र हिमालको चित्र कोरेर उनी आफैं मख्ख पर्थे । मन फुरुंग हुन्थ्यो । अक्षर चिन्नुभन्दा अगाडि नै उनले चित्र बनाउन थालेका थिए ।

८ वर्षको उमेरमा उनी पाठशाला भर्ना भए । संस्कृतको पढाइ हुन्थ्यो । तर,जति गर्दा पनि उनी संस्कृतमा अभ्यस्त हुन सकेनन् । साथीहरू संस्कृतका श्लोक कण्ठ पारेर गुरुलाई सुनाउँथे,उनको दिमागले भने टिप्दै नटिप्ने । उनले गुरुको कुटाइ खाइरहन्थे ।

पोखरा अहिलेको जस्तो शहर थिएन । जीवन धान्ने पेशा कृषिमात्रै थियो । बच्चादेखि पाकासम्म खेतबारीमा काम गर्थे । त्यसैले काम नभएको समय हिउँदका ६ महिना मात्रै पढ्न पाइन्थ्यो । गाउँका समाजसेवीले ६ महिना पढाउनका लागि शिक्षक खोज्थे । गाउँमा पौवा थियो । त्यसैलाई विद्यालयका रूपमा प्रयोग गरिन्थ्यो । ८–१० जना विद्यार्थी हुन्थे ।

दुर्गा तीन वर्षको हुँदा आमा बितिन् । आमा बितेपछि उनलाई फुपूले आफैंसँग राखेर पाल्न थालिन् । तर, आर्थिक अवस्था कमजोर भएकाले दुर्गाको भविष्य राम्रो बनाउन र पढाउन सक्दिनँ भन्दै उनलाई मावल ल्याएर छोडिदिइन् । मामाका छोराछोरी थिएनन् । दुर्गा मामा–माइजूसँगै बसेर पढ्न थाले । हामी बसेर गफिइरहेको घर पनि मामाकै घर रहेछ ।

संस्कृतमा उनले मेलो बसाउन सकेनन् । रहर पनि लागेन । स्कुल पढ्ने फेसनजस्तै थियो । गाउँबाट मामाको घरमा आएपछि दुर्गा हाइस्कुल पढ्न थाले । त्यहीँबाट एसएलसी पास गरे । ०१८ सालमा उनले आईएस्सी पढ्न सुरु गरे ।उनलाई डक्टर या इन्जिनियर बन्नुपर्छ भन्ने थियो । तर, साइन्स पढ्न कत्तिको गाह्रो छ भन्ने थाहा थिएन । दुर्भाग्यवश त्यो क्याम्पसले त्रिविबाट सम्बन्धन प्राप्त गर्न सकेन । एक वर्षको पढाइ बालुवामा पानी भयो । त्यही बेला उनलाई जीवविज्ञान पढाउने शिक्षिकाले भन्थिन्, “तिमी त आर्टिस्ट हुने मान्छे, किन साइन्स पढ्न आ’को ?”

उनका चित्र देखेर ती शिक्षिकाले थप्थिन्, “डाक्टर इन्जिनियर त जो पनि हुन्छ, तर जो कोही कलाकार बन्न सक्दैन, तिमी ठूलो कलाकार बन्ने सम्भावना भएको विद्यार्थी हौ ।”

दुर्गालाई खोजेको कुरा भेट्टाएजस्तो भयो । हो,आर्टिस्ट नै हुनुपर्छ भन्ने लाग्यो । बाबुबाजेले पढ्दै आएको संस्कृत सानैमा छाडिसकेका दुर्गाले साइन्स पनि छोडिदिए ।

मिसले उत्प्रेरणा जगाइदिएपछि ठूलो कलाकार बन्ने सपना साँचेर उनी काठमाडौं छिरे । भारत, पाकिस्तान र रुसमा कला विषय अध्ययनका लागि ललितकला छात्रवृत्ति पाइन्थ्यो । तीन पटकसम्म उनले प्रयास गरे पनि सफल भएनन् । १८ वर्ष पुगेर २५ ननाघेकाले मात्रै त्यो छात्रवृत्ति पाउँथे । दुर्गाको सपनाले भर्‍याङ नउक्लिए पनि उमेरले भने भर्‍याङचढ्न छोडेन । २५ कटेपछि छात्रवृत्ति पाउने दुर्गाको सपना बाग्मतीको पानीसँगै बगेर गयो । सपना त बग्योतर उनको कलाकार मन भने झनै मौलाउँदै गयो ।

कार्टुन यात्रा

न्युरोडमा डाँफे नामक रेस्टुराँ थियो । त्यहाँ साहित्यकार, कलाकारहरूको ठूलो जमघट हुन्थ्यो । चिया, खाजा खाने ‘जक्सन’ थियो त्यो। त्यही रेस्टुराँमा एकदिन अचानक एक पोखरेली साथीले दुर्गालाई ‘नयाँ सन्देश’ पत्रिकाका रमेशनाथ पाण्डेसँग भेटाइदिए ।उनी त्यो बेला आफैं कार्टुन बनाउँदा रहेछन् । उनले कार्टुनिस्ट खोजिरहेका रहेछन् । साथीले रमेशनाथलाई भने, “दुर्गा राम्रो कलाकार हो, उसले राम्रो चित्र बनाउने भएकाले कार्टुन पनि बनाउन सक्छ ।” पाण्डेले उनलाई कामको ‘अफर’ गरे । यो २०२३ सालको घटना थियो ।

रमेशनाथले‘टाइम्स अफ इन्डिया’ लगायतका पत्रपत्रिकाका कार्टुन देखाएर ‘यस्तो कार्टुन बनाउनुपर्छ’ भने । त्यो बेलासम्म दुर्गालाई कार्टुन भनेको के हो, थाहै थिएन ।

पञ्चायतकाल थियो । मुख्य समाचार राजनीतिकै हुन्थे । कार्टुन पनि त्यसैसँग सम्बन्धित बनाउनु पथ्र्यो, तर उनलाई भने राजनीतिबारे केही पनि थाहा थिएन । उनलाई त ललितकला पढ्ने रहर थियो । कार्टुनिस्ट बन्ने न सोच थियो, न रहर नै ।

तर, पनि काम गर्दा खर्चको जोहो त हुन्छ भनेर उनले ‘ओके’ गरे । दुर्गाले भने, “मलाई केही थाहा छैन, तपाईं भन्नुस् म त्यहीअनुसार बनाउँछु ।”

रमेशनाथले थिम दिन थाले, दुर्गाले कार्टुन बनाउन थाले ।

दुर्गालाई रुचि थिएन त्यसैले‘जसोजसो पुरोहित, उसैउसै स्वाहा’गर्दै गए, सम्पादकले अह्राएअनुसार कार्टुन बनाउन थाले । त्यसैले जिन्दगीको पहिलो कार्टुन केको बनाएँ भन्ने उनलाई अहिले सम्झना छैन ।

पञ्चायतको राजनीति थियो । टुट्ने, फुट्ने र गुटउपगुट राजनीतिको बोलवाला थियो– अहिलेको जस्तै । पञ्चहरू फुट्ने र जुट्ने उत्तिकै गर्थे । यसैसँग मिल्ने एउटा अंग्रेजी कथा थियो । त्यो कथामा परिवारबाट पुलपुलिएको छोरो सुरुमा घर छोडेर जान्छ । पछि सडकमा अनेक हन्डर र ठक्कर खाएपछि घर फर्किन्छ । ऊ घर फर्किंदा बुवाले स्वागत गर्छ । यही थिममा त्यो बेला बनाएको कार्टुनमात्रै सम्झना रहेछ दुर्गालाई ।

अह्राएअनुसार कार्टुन बनाए पनि दुर्गाले पैसा पाएनन् । खर्चको जोहो गर्न मन नलाग्दा नलाग्दै थालेको कामबाट सुको झरेन । त्यतिबेलासम्म उनले आईए पास गरिसकेका थिए । जनक शिक्षा सामग्रीमा उनले कलाकारको जागिर सुरु गरे । पाठ्यपुस्तकको चित्र बनाउँथे उनी । ज्यालादारीमा छिरेका दुर्गा केही समयपछि स्थायी भए । नायब सुब्बाको नियुक्ति पाए ।

जनकबाट उनलाई ग्राफिक्स आर्टस्को तालिमका लागि जापान पठाइयो । तीन महिनाको तालिम लिएर फर्किएपछि उनलाई काठमाडौंमा काम गर्न मन लागेन । कलामा औपचारिक अध्ययन नभएपछि उनी सुब्बाबाट माथि बढ्ने सम्भावना देखिएन । त्यसैले उनी सरकारी जागिर छोडेर पोखरा फर्किए ।

ललितकलामा अध्ययन गर्न नपाएपछि अब काठमाडौं बसेर केही फाइदा छैन भनेर उनी पोखरामै कला साधना गर्ने योजना बनाएर फर्किए । पोखरामा मिसन अस्पतालसँग उनको सम्पर्क भयो । त्यहाँ दुई विदेशी चिकित्सकसँग भेट भयो । उनीहरूको सम्पर्कबाट दुर्गाले बनाएका चित्र लिन विदेशीहरू आउन थाले । धरानबाट समेत आफ्ना चित्र लिन विदेशीहरू पोखरा आउन थालेको उनलाई सम्झना छ । 

दुर्गा विशेषगरी हिमाल, सिंह, मान्छेका चित्र बनाउँथे । उनको सिर्जनाका मुख्य ग्राहक विदेशी हुन थाले । माग यति बढ्यो कि उनले बनाउनै सकेनन् । एकै जनाले १०–१२ वटासम्म माग गर्थे ।

०२७ सालको एकदिन । पोखरा बजारमा मन्दिर अगाडि बसेर उनले चित्र बनाइरहेका थिए । विदेशी पर्यटक आएर ‘बेच्ने हो ?’ भनेर सोधे । उनले ‘बेच्छु’ भने । मूल्य सोधे, दुर्गाले ७५ रुपैयाँ भने । उसले खुशी भएर ७५ रुपैयाँ दियो ।

७५ रुपैयाँबाट चित्र बेच्न सुरु गरेका दुर्गाले त्यही समय ५ हजार रुपैयाँ सम्ममा बेचे । अहिलेसम्म उनले सबैभन्दा महँगो चित्र १ लाख २५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।

त्यतिबेला शिक्षा शास्त्र अध्ययन संस्थानमा दुई जना जर्मनी आएर १० महिना ‘टिचर्स ट्रेनिङ’ दिन्थे । उनी त्यहाँ भर्ना भए । उनले जर्मनसँग कलाको कक्षा लिए । पछि दुर्गाले प्रशिक्षकका रूपमा शिक्षकहरूलाई पढाउन थाले।यो बेलासम्म उनले बीए पास गरिसकेका थिए । उनले २७ वर्षजति पढाए कला प्रशिक्षकका रूपमा । 

० ० ० 

पोखरामा पोखरेली युवा सांस्कृतिक समूह थियो । त्यसमा सरुभक्त, उषा शेरचन, नारायण कार्कीहरूले ‘प्राङ्गण’ नामक साहित्यिक पत्रिका निकाल्थे । उनीहरूले सहयोग मागे दुर्गासँग । पोखराबाट राष्ट्रिय स्तरको पत्रिका निकाल्ने उनीहरूको सोच थियो । काठमाडौंबाट निस्किने ‘मधुपर्क’जस्तै पत्रिका निकाल्ने योजनाअनुसार सुरु भयो । त्यसमा दुर्गाको जिम्मेवारी कलाक्षेत्र थियो–विशेषगरी कार्टुनिस्टको । अब्बल साहित्यकारहरूसँग बसेर काम शुरु गरेपछि बल्ल उनले चुनौती महसुस गरे । त्यसपछि दुर्गा पुस्तकालय गएर पत्रपत्रिकाका कार्टुन हेर्न थाले । विदेशी तथा स्वेदशी पत्रिकाका कार्टुन अध्ययन गर्न थाले । ‘इन्साइक्लोपेडिया’मा घोरिन थाले । 

त्यसपछि बनाउन थालिएका कार्टुन चाँडै लोकप्रिय भए । काठमाडौंबाट प्रकाशित भइरहेका राष्ट्रिय दैनिकबाट उनलाई फोन जान थाल्यो । आफ्नो पत्रिकाका लागि कार्टुन बनाइदिन आग्रह भइरहे । नयाँ ‘सन्देश’ सँगै ‘राष्ट्रपुकार’, ‘मातृभूमि’, ‘समीक्षा’, ‘कमनर’, ‘गोरखापत्र’ लगायतका पत्रिकाले कार्टुन पठाइदिन अनुरोध गरे । ‘मातृभूमि’का सम्पादक त उनलाई भेट्न पोखरा नै पुगे । ‘समीक्षा’ रुसी कम्युनिस्ट विचार धाराबाट निर्देशित थियो । अरू केही पनि कम्युनिस्ट धारका थिए । ‘नयाँ सन्देश’ले पञ्चायतको बोली बोल्थ्यो । ‘राष्ट्रपुकार’ प्रजातान्त्रिक विचारधारा बोक्ने पत्रिका थियो । आफू पनि बहुदलीय विचारधाराका पक्षपाती भएकाले दुर्गाले ‘राष्ट्रपुकार’का लागि कार्टुन बनाउन थाले । २०३६ सालसम्म आइपुग्दा ‘राष्ट्रपुकार’ पत्रिका हिट भइसकेको थियो । दुर्गा लोकप्रिय कार्टुनिस्ट भइसकेका थिए । 

जनमत संग्रह घोषणा भयो । दलहरू बहुदलको प्रचारमा जुटे । दुर्गाले पनि आफ्नो कला देखाए । ठूलाठूला पोस्टरमा कार्टुन बनाएर उनले बजारका भित्तामा टाँसे । जनमत संग्रहको प्रचारका क्रममा बीपी कोइराला पोखरा पुगे । उनीसँगै थिए होमनाथ दाहाल, दमननाथ ढुंगाना, राधेश्याम अधिकारी लगायत थुप्रै नेताहरू । होमनाथ र राधेश्याम दुर्गालाई भेट्न आए । उनीहरूले ‘बजारमा टाँसिएका तपाईंका कार्टुन हेर्‍यौं,बीपीलाई भेट्न जाऊँ यी कार्टुन लिएर’ भने । बीपी लेकसाइडमा बसेका थिए । दुर्गालाई लिएर होमनाथ र राधेश्यामले भेटे । ०३३ मा अन्तर्वार्ता लिन भनेर काठमाडौं आउँदा दुर्गाले बीपीलाई भेटेका थिए । तर, समय अभावका कारण उनले अन्तर्वार्ता दिन पाएका थिएनन् ।

कार्टुन हेरेर बीपीले उनको काँधमा थप्थपाउँदै प्रशंसा गरे, “कस्ता राम्रा कार्टुन ! बनारसमा बस्दा पनि मैले तिम्रोबारे सुनेको थिएँ । यी कार्टुनलाई जनमत संग्रहमा बहुदलको प्रचार सामग्रीका लागि पुस्तकाकार गर्नुपर्छ । म यसलाई बनारस वा कलकत्ता लगेर छपाउँछु ।”

दुर्गाले सम्झिए, “उनलाई त सबै थाहा रहेछ प्रेसका बारेमा । त्यो बेला तयार पारेका कार्टुन छाप्न के गर्नुुपर्छ भनेर सबै फरर भने । हामी त्यो बेला प्रेसमै काम गरेर पनि त्यति धेरै थाहा थिएन । म त अचम्म परें । तर दुर्भाग्य ! त्यो कार्टुन ठूलो पोस्टरमा लेखिएका कारण छाप्न भने मिलेन । समय र पैसाका हिसाबले निकै खर्चिलो हुने भएपछि त्यो छापिएन ।”

दुर्गाले सुनाए, “पहिलोपटक जमलस्थित सम्पर्क कार्यालयमा भेट्न जाँदा मैले बीपीलाई उपहारस्वरूप एउटा तस्बिर बनाएर लगिदिएको थिएँ ।”

प्रजातन्त्र र समाजवादका लागि भनेर आफूले बीपीलाई तस्बिरमै लेखेर दिएको दुर्गा सुनाउँछन् । पछिसम्म बीपीकोमा पुग्ने उनका साथीहरूभन्थे, ‘‘तिमीले बीपीलाई तस्बिर उपहार दिएका रहेछौ नि है ?”

दुर्गाले दिएको उपहार बीपीले कोठामा झुन्ड्याएका रहेछन् ।

त्यही बेला बीपीसँग खिचेको फोटो अझै पनि दुर्गासँग पुस्तकालयमा सुरक्षित छ । 

विद्यार्थी आन्दोलनका लागि पनि उनले कार्टुन बनाए । प्रत्येक आन्दोलनमा उनका कार्टुन आकर्षणका केन्द्र बने । 

‘राष्ट्रपुकार’मा उनले लामो समय काम गरे । तर, त्यहाँ पनि उनले पारिश्रमिक पाएनन् । त्यहाँ बनाएको कार्टुनले प्रजातन्त्रका लागि योगदान पुर्‍याएको भनेरै उनले चित्त बुझाए । 

पछि उनले ‘राष्ट्रपुकार’लाई बिदाइको हात हल्लाउने निर्णय गरे ।‘देशान्तर’मा काम गर्न थाले । श्रीआचार्य सम्पादक थिए । ‘देशान्तर’ले भने थोरै भएपनि पारिश्रमिक दियो । पछि किशोर नेपाल ‘देशान्तर’का सम्पादक भए । उनी दुर्गा काठमाडौं बस्दाका साथी थिए ।

दुर्गाका कार्टुनले०३६ र ०४६ सालको आन्दोलनमा कति भूमिका खेले, त्यो त इतिहासले मूल्यांकन गर्लातर कार्टुनका माध्यमबाट निर्दलीय व्यवस्थाको विरोध गर्दै प्रजातन्त्रको वकालत गर्ने उनी पहिलो कलाकार हुन् ।

०५० दशकको शुरुतिर‘गोरखापत्र’मा तारा बराल सम्पादक भएर आए ।‘कार्टुन दिनुपर्‍यो’ भने । दुर्गाले‘गोरखापत्र’का लागि ६ महिनाजति कार्टुन बनाए ।

‘कान्तिपुर’ प्रवेश

उनी ‘गोरखापत्र’मा रहँदै निजी क्षेत्रबाट ‘कान्तिपुर’ र ‘काठमान्डू पोस्ट’ प्रकाशन शुरु भएका थिए । सम्पादक थिए योगेश उपाध्याय । जनआन्दोलनका बेला कांग्रेसको प्रचार विभागमा योगेश पनि थिए । त्यही विभागमा दुर्गालाई पनि बोलाइएको थियो । तर, उनले भने विभागमा बसेर काम गरेनन् ।

उनै योगेशले दुर्गालाई बोलाएर ‘कान्तिपुर’मा कार्टुनिस्टका रूपमा काम गर्न आग्रह गरे । दुर्गा राजी भए । “०५२ सालबाट ‘कान्तिपुर’मा काम शुरु गरेको हुँ, अझै पनि गरिरहेको छु । करिब २२ वर्ष भयो । यति लामो समय एउटै पत्रिकामा काम गरेको मैले पहिलो पटक हो,” उनले लामो सास फेरे । 

०२३ सालबाट कार्टुन बनाउन शुरु गरेकाले पनि होला– उनलाई मै हुँ भन्नेसम्पादकले पनि ‘यस्तै कार्टुन बनाऊ’ भन्ने आँट आजसम्म गरेका छैनन् । 

उनी एउटा कार्टुन बनाउन झन्डै एकदिन लगाउँछन् । उनका अनुसार कार्टुनमा कला र वैचारिक पक्ष सशक्त बनेर आउँछन् । कलाको पक्ष त उनको बायाँ हातको खेल भयो । समसामयिक राजनीति तथा विषयवस्तुको अध्ययन तथा अवलोकनबाट छिनमै कार्टुनको थिम फुर्छ । त्यसैले स्केच कोर्न थाल्छन् । स्केच कोर्न उनलाई धेरै समय लाग्दैन । त्यसमा कलर भर्न भने उनलाई अलि बेसी नै समय लाग्छ । यो पनि शुरुमा त उनी छिनमै गर्थे । तर, अहिले भने उनी कार्टुन बनाउन हतार गर्दैनन् । समय लगाएर कार्टुनका अंगअंगमा रंग भर्छन् । उनलाई कलाको पक्ष त गाह्रो लाग्दैनतर वैचारिक पक्ष फुराउन भने अलि समय लाग्छ । 

भन्छन्, “शायद साहित्यकार,लेखक नभएकाले पनि होला– मेरो भाषामा पकड छैन । त्यसैले कार्टुनमा के लेख्ने भन्ने विषय फुराउन केही समय लाग्छ । घोरिँदा घोरिँदै कहिलेकाहीँ त दिनै बित्छ ।”

कार्टुन व्यङ्ग्य हो । व्यङ्ग्य भएकाले सीधै लेख्न पाइएन । व्यङ्ग्यात्मक शब्दखोजी गर्दा केही समय लाग्छ । कला साधना पनि हो, तपस्या पनि हो । त्यसैले उनी यसमा हतार गर्न छाडेका छन् । समय लगाउँछन् । ड्रइङसँगै कलर र शब्दमा खेल्छन् र चोटिलो बनाउँछन् । त्यही भएर उनका कार्टुन हेरेर पाठक दङ्ग पर्छन् अनि व्यङ्ग्य गरेको पक्षको मुटुमै गड्छ ।

०२३ सालदेखि कार्टुन बनाएका र बीपीले तारिफ गरेर पुस्तक नै छापिदिन्छु भनेका दुर्गाका कार्टुन स्वयम् उनलाई चाहिँ कस्ता लाग्छन् ? भन्छन्, “आत्मसन्तुष्टि हुने कार्टुन मैले आजसम्म बनाउन सकेको छैन । बनाएको दिन मन पर्छतर भोलिपल्ट त्यसमा सुधार गर्ने ठाउँहरू आफैं देख्छु । हेरौं कुनै दिन बनाउन सक्छु कि आफैलाई चित्तबुझ्दो कार्टुन ।”

दुर्गाले आजसम्म कति कार्टुन बनाए ? कुनै लेखाजोखा छैन । शुरुमा कार्टुन बनाएर हुलाकबाट पठाउँथे । ओरिजिनल कपी नै पठाउने भएकाले त्यसको इतिहास नै नामेट हुन्थ्यो । उनलाई पनि संख्या गनेर राख्ने होशै भएन । 

पोखरामा फ्याक्स गएपछि ०५२ सालबाट भने ओरिजिनल कपी उनीसँगै रहन थाल्यो । त्यसयता भने उनले ४ हजारभन्दा धेरै कार्टुन बनाइसके । 

‘सेन्सर’

२००७ मा त उनी सानै थिए । ०१७ सालको महेन्द्रको ‘कू’ उनले थोरबहुत थाहा पाए । ०३६ सालको जनमत संग्रह र ०४६ सालको जनआन्दोलनमा उनी प्रत्यक्ष सहभागी भए । ०६२/६३ को आन्दोलन त उनलाई हिजो/अस्तिको जस्तो लाग्छ । यसरी व्यवस्था परिवर्तनदेखि खिचातानी र टुटफुटको राजनीतिलाई आफ्नै आँखाले नियालेका दुर्गालाई कुन बेला कस्तो कार्टुन बनाउनुपर्छ भन्ने राम्रो हेक्का छ । त्यसैले उनी ‘सेल्फ सेन्सरसिप’ गरेर कार्टुन बनाउँछन् । तर, एकपटकको कार्टुनभने उनलाई डेस्कले सेन्सर गरेको याद छ ।

माओवादी भर्खर चोइटिएको थियो । मोहन वैद्य फुटेर गए, प्रचण्ड माओवादी सरकारमा थियो । पार्टी कार्यालयदेखि पार्टीको हरेक सम्पत्ति भागबण्डा लगाउने कुरा चलिरहेको थियो । त्यही थिममा उनले कार्टुन बनाए । प्रचण्ड गाडीमा गुडिरहेका थिए, सडकमा मोहन वैद्य भूत बनेर बाटो छेकिरहेका थिए । यो कार्टुनमा डेस्कले भूत बनेका मोहन वैद्यको अनुहार परिवर्तन गरिदिन आग्रह गरेको थियो । 

र, जन्मिए ‘वात्स्यायन’

पञ्चहरूको समय थियो । दरबारको आडमा शक्ति दुरुपयोग गरिरहेका थिए उनीहरू । दरबार र पञ्चायतको विरोध गर्नु भनेको राज्यको निशानामा पर्नु थियो । त्यसमा पनि पृथ्वीनारायण क्याम्पस पोखरामा प्रशिक्षक भएर काम गरिरहेका दुर्गालाई झनै चुनौती थियो । क्याम्पसमा मण्डलेहरूको ठूलो जमात थियो । त्यसबाट पनि उनलाई बच्नु थियो । पञ्चविरोधीहरूलाई बाटो ढुकेर कुटेको उनी आफैंले देखका थिए । त्यसबाट आफूलाई छल्नु थियो । 

तर, प्रजातन्त्रपक्षधर दुर्गा दरबारको अन्याय, थिचोमिचो र विभेदको समर्थन भने गर्न सक्दैनथे । त्यसैले उनलाई कार्टुनमार्फत कसरी पञ्चायती व्यवस्थाको विरोध गर्ने भन्ने संकट पर्‍यो ।

कलाकार दुर्गा बरालभनेर उनको ठूलो नाम थियो । त्यही नामबाट उनले कार्टुन छाप्नु जोखिमपूर्ण थियो । ज्यानसँगै जागिरको सवाल थियो । जागिर छोड्ने कि कार्टुन ? उनी दोधारमा थिए । उनलाई आइडिया फुर्याे, छद्म नाम राख्ने । तर, लगत्तै प्रश्न उठ्यो– के नाम राख्ने ?

नेपाली विषय पढाउने एक जना शिक्षक थिए, भाषामा राम्रो पकड भएका । उनलाई दुर्गालेसोधे,“के नाम राख्ने होला ?”

उनले ‘वात्स्यायन’ राख्न सुझाए ।

“वात्स्यायन भनेको त यौनसँग सम्बन्धित शब्द पो हो त,”दुर्गाले भने । 

शिक्षकले भने,‘‘हो, तर वात्स्यायनको अर्थ ६४ कलाको ज्ञाता पनि हो नि । ६४ कलाका जन्मदाताको सम्मानका लागि पनि यो नाम उत्तम हुन्छ ।”

उनकै सुझावमा दुर्गाले आफ्नो नाम ‘वात्स्यायन’ राखे । एकदिन क्याम्पसमा एक साथीले दुर्गालाई देखाउँदै भने, “हेर्नुस् त, कस्तो राम्रो कार्टुन रहेछ वात्स्यायन भन्ने मान्छेले बनाएको ।”

उनले पनि ‘हो है’ भन्दै सही थापे । मनैमन हाँसे ।

पञ्चायती व्यवस्था छट्पटाउन थालिसकेको थियो । त्यो देखेर दुर्गालाई लाग्यो, यो पञ्चायत धेरै टिक्दैन । ढलेपछि पुरानै नाममा फर्किन्छु भन्ने सोचे । नभन्दै पञ्चायत ढल्यो । प्रजातन्त्र पुनःस्थापना भयो । उनले पनि दुर्गाको नामबाट कार्टुन बनाउने सोच बनाए । तर,‘देशान्तर’, ‘राष्ट्रपुकार’ लगायतका सबै पत्रिकाले एउटै सुझाव दिए, “अब दुर्गा बराललाई कसैले चिन्दैन, ब्रान्ड बनिसकेको ‘वात्स्यायन’लाई नछोड्नुस् ।”

त्यही छद्मनाम ‘वात्स्यायन’ले आजपर्यन्त नेपाली कार्टुन जगतमा राज गरिरहेको छ ।

कुराकानी बिट मार्ने क्रममा उनले नयाँ खबर सुनाए,“४ सयवटा कार्टुनको संग्रह आउँदैछ । अजित (छोरा)ले तयारी गरिरहेको छ । छिटै पुस्तकका रूपमा कार्टुन आउँदैछन् ।”

प्रकाशित मिति : शनिबार, भदौ ३१, २०७४

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro