site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालगीतको क्षेत्रमा काम गर्दै सनुप 
Tiktok banner adTiktok banner ad

काठमाडौं । केही वर्षअघि पुरानो साथी राधेश्याम मालाकारले सनुप पौडेल (गायक/संगीतकार)लाई भेटाइदिए, सुरेन उप्रेतीसँग । सुरेन थिए, बालगीतको क्षेत्रमा केही गरौँ भन्ने हुटहुटी बोकेका व्यक्ति । उनी आफैँ बालगीत लेख्थे । लगानी गर्ने चाह पनि थियो । मात्र उनलाई चाहिएको थियो, दरिलो साथ र अब्बल सजर्क । र, सुरेनले खोजेको त्यो दरिलो साथ सनुपसँगको सहकार्यमा पाउन सक्ने राधेश्यामले देखे । त्यसैले उनले सुरेनको भेट गराइदिए सनुपसँग ।

त्यसपछि सुरु भयो सनुप र सुरेनको सहकार्यको यात्रा । सुरेनले गीत लेख्ने र त्यसमा लगानी गर्ने भए । सनुपले संगीतको जिम्मा लिए । दुई दशकको अनुभवले सनुपले शब्दमा खेल्न त पाउने नै भए, राम्रो कसरी बनाउने सन्दर्भमा सनुप र सुरेन मजाले छलफल गर्थे । र, परिमार्जन गर्दै परिष्कृत शब्द फाइनल गर्थे । त्यसपछि आयो, सनुपको एकल काम । अर्थात्, संगीत कम्पोजको काम ।

१८ वर्षदेखि सनुप बालबालिकाको बीचमा छन् । हरेक दिन उनी बालबालिकाको समीपमा हुन्छन् । कसरी ? उनी संगीत शिक्षक हुन् । विद्यालयमा बालबालिकालाई संगीत सिकाउँछन् । त्यसैले बालबालिकाको मनोविज्ञान बुझ्न उनलाई कठिन छैन ।

कसरी सरल र सहज भाषा प्रयोग गर्ने उनलाई मजाले थाहा छ । कसरी बालबालिकाले सहजै बुझ्ने गरी संगीत भर्ने भन्नेमा उनी पोख्त छन् । त्यही गरे सनुपले, जे गर्दा बालबालिका गीत सुन्न थालेपछि बीचैमा छोड्दैनन् । त्यही गरे सनुपले, जे गर्दा बालबालिकामा नेपाली भाषाबारे गलत बुझाइ हुँदैन ।

“गीत सुनाउनु मात्रै ठूलो कुरा होइन । त्यसमा भाषामा ख्याल गर्नु महत्त्वको पक्ष हो । कसरी शुद्ध उच्चारण गर्ने त्यसमा म कुनै सम्झौता गर्दिनँ र गरेको छैन,” सनुप भन्छन् ।

सनुपले अहिलेसम्म थुप्रै गीत गाए । संगीत भरे । आधुनिक गीत गाए । चलचित्रका गीत गाए । सांगीतिक प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरे । योसँगै उनले सबैभन्दा लामो समय गरेको काम भनेको बालबालिकालाई संगीतको शिक्षण नै हो ।

उनलाई लाग्यो– १८ वर्ष बालबालिकालाई पढाएँ, अब यो क्षेत्रमा मेरो देखिने योगदानचाहिँ के हो ? “त्यसमपछि मैले बालगीतको क्षेत्रमा केही काम गर्छु भन्ने सोचेको थिएँ । केही बालगीत पनि मैले लेखेर राखेको थिएँ । त्यही बेला सुरेनजीसँग भेटभयो र सहकार्य सुरु भयो,” सनुपले बालगीतमा आफ्नो यात्राको प्रारम्भको कथा सुनाए ।

यात्राको पहिलो सामग्रीस्वरूप सनुप र सुरेनको सहकार्यमा ‘सानो मुने...’ सार्वजनिक भएको छ । 

समान्ता थापाको स्वर रहेको गीतमा सनुपको संगीत छ । शब्दरचना सुरेन उप्रेतीको छ । गीत सुदीप सिंहले संयोजन गरेका छन् । इलुस्ट्रेसन प्रभाकर क्षेत्रीको छ । गीतको भिडियो सम्पादन अनुप अधिकारीले गरेका छन् ।

“यो हाम्रो पहिलो बालगीत हो । हामी अब नियमित रूपमा यस्तै अरू बालगीत ल्याउँदै जानेछौँ । अहिले हामीसँग ६ वटा गीत तयार भइसकेका छन्,” सनुप भन्छन्, “अब यसले निरन्तरता पाउनेछ । बालगीतको क्षेत्रमा नेपाल धेरै अगाडि बढ्न सकेको छैन । त्यसैले केही योगदान गरौँ भन्ने हाम्रो सोच हो । यो मैले आफैँलाई दिएको होमवर्क पनि हो । हेरौँ, कति गर्न सकिन्छ ।”

पर्याप्त बजेट अभावका कारण भिडियो निर्माणमा भीएफएक्स प्रयोग गर्न नसकिएको उनी बताउँछन् । “मैले अरूको आलोचना गरेको होइन । तर, यो सत्य हो, हामीले बालगीतको क्षेत्रमा धेरै काम गर्न सकेका छैनौँ । जति बाल गीत छन्, ती भिडियो निर्माणका हिसाबले अब्बल भए पनि शब्द र उच्चारणमा भने धेरै ख्याल गरेको पाइँदैन,” सनुप भन्छन्, “बजेट अभावमा हामीले भीएफएक्स गरेर बजेट बनाउन सकेनौँ । तर, शब्द र मौलिकताका हिसाबले हामी अब्बल हुनुपर्छ भन्नेमा हामी सचेत छौँ । भोलि भिडियो निर्माणमा बजेट आएको खण्डमा त्यसमा हामी सधैँ खुला छौँ ।”

पछिल्लो समय अधिकांश सहरी क्षेत्रका बालबालिकाले नेपाली ठेट शब्द प्रयोग गर्न छोडेको र यसबारे ज्ञान नै नहुने अवस्था आएको भन्दै आफूहरू यसप्रति सचेत रहने उनी सुनाउँछन् ।

आफूलाई भ्युज, स्टेज र टीआरपीको लोभ कहिल्यै नभएको उनी बताउँछन् । बालगीतलाई निरन्तरता दिन सकिने उनको विश्वास छ । यद्यपि, गीत र भिडियो दुवै राम्रो भएको अवस्थामा बालगीतमा पनि भ्युज कम नहुने सनुपको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro