काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाममा सहमत भएको आठदलीय गठबन्धन उपराष्ट्रपतिमा एकमत हुन सकेन । उपराष्ट्रपतिमा आठदलीय गठबन्धनबाटै तीन उमेदवारी पर्यो ।
शनिबार भएको मनोनयमा जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव र प्रमिला यादवले उमेदवारी दिए । जनमत पार्टीले ममता झालाई उमेदवार बनायो ।
उपराष्ट्रपतिमा पुरुष उमेदवार बन्न नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अभिव्यक्तिपछि जसपाले दुई उमेदवार बनायो । रामसहायलाई आधिकारिक उमेदवार मान्दै प्रमिलालाई ब्याकअपमा राखिएको थियो ।
जसपाका उमेदवारलाई आठदलीय गठबन्धनका चार ठूला दलको समर्थन छ । जसपाका उमेदवारलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थन छ । आठदलीय गठबन्धनका तीन साना दल जनमतसँगै नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा झा उमेदवार भएकी हुन् ।
नेकपा (एमाले)बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले आइतबार रामसहायविरुद्ध परेको उजुरीमाथि छानबिन गरी उमेदवारी खारेज गर्नुनपर्ने निर्णय गर्यो । उनको उमेदवारी खारेज नहुने भएपछि प्रमिला यादवको उमेदवारी फिर्ता गर्ने तयारी जसपाले गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो १ बजेदेखि ३ बजेसम्म उमेदवारी फिर्ता गर्ने समय तोकेको थियो । तर, उमेदवारी फिर्ता भएन । निर्वाचनको अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा चारजनाकै उमेदवारी कायम छ ।
जसपाका दुवै उमेदवार किन कायम राखियो ?
एमालेले निर्वाचन अधिकृतको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च जान सक्ने सम्भावना भएकाले उमेदवारी फिर्ता नलिएको जसपाका एक नेताले बताए ।
“एमाले सर्वोच्च जान सक्ने सम्भावना छ । सर्वोच्चबाट अन्तरिम आदेश आए उहाँ (रामसहाय)को उमेदवारी खारेज हुन सक्छ,” ती नेता भन्छन्, “अझै हेरौँ, केही नभए प्रमिलाको उमेदवारी रद्द हुन्छ ।”
ती नेताको अभिव्यक्तिले उपराष्ट्रपतिमा पुरुषको उमेदवारीबारे गठबन्धन सशंकित देखिन्छ ।
त्यस्तै, जनमत पार्टीको उमेदवार झाको उमेदवारी फिर्ताका लागि गठबन्धनमा छलफलको तयारी थियो । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताले आज छलफल नै नभएको ती नेताले बताए ।