काठमाडौं । हिन्दूहरूको महान पर्व दशैमा विभिन्न खेलका प्रशिक्षकले के कसरी मनाउँदै छन् ? सधै खेलाडीको पछि अघि खेल कौशल सिकाउने प्रशिक्षकको दशैं स्पेशल योजना के छ त ?
कुमार थापा
मुख्य प्रशिक्षक, नेपाली महिला फुटबल टोली
दशै भन्ने वित्तिकै रमाइलो लाग्छ । सधैं जस्तै हो मेरो यो पटकको दशैं । खास स्पेशल छैन । घरैमा बसिन्छ ।
ठूलाबडाको हातबाट टिका लगाउने, आशिर्वाद थाप्ने त्यही हो मेरो प्लानिङ । साथीभाईसँग भेट्ने रमाइलो गर्ने यसरी नै वित्छ । नानीबाबुलाई घुमाउनु पर्छ । सबै जना काठमाडौंमै छौ । मन्दिरमा पूजा गर्नु पर्ने छ । आम नेपालीले कसरी दशैं मनाउँछ, मेरो पनि त्यस्तै हुन्छ ।
दशैमा काठमाडौं सुनसान हुन्छ । केही दिन काठमाडौं शान्त हुँदा रमाइलो लाग्छ । तर, दशैमा सबै पसलहरू बन्द हुने भएकोले सामान किन्न निकै गाह्रो हुन्छ ।
दशैं तिहार निकै लामो विदा छ । तर म चाहिँ काममा निकै ब्यस्त हुनेछु । एउटा ठूलै काममा लागि परेको छु । अहिलेलाई यो कामको बारेमा खुलाई नहालौं तर पछि तपाईहरूलाई बोलाएरै पत्रकार सम्मेलन गरौंला । हेरौं कतिको सफल हुन्छु । म अहिले त्यहि काममा ब्यस्त छु । यो काम नेपाली फुटबलकै हितमा हो ।
पछिल्लो समयमा फुटबलमा महिलाको खेल ठप्पै छ । कुनै गतिविधि भएको छैन । यसले नेपाली महिला खेलाडीहरूलाई पनि असर गरेको छ । तत्काल नेपाली महिला फुटबल टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने छैन । २०१८ को अन्त्यतिर साफ च्याम्पियनसिप छ । त्यसलाई नि फोकस गर्नुछ ।
पुष्पराज ओझा
प्रशिक्षक, एथ्लेटिक्स
परिवारसँग बसेर मनाउने योजना छ । परिवारसँग हासी माजक गर्ने हो । आफूभन्दा सानोलाई आशिर्वाद दिएर आफूभन्दा ठूलोबाट आशिर्वाद लिएर मनाइन्छ । दुर्गा माताले सबैलाई रक्षा गरुन् आशिर्वाद दिउन् । काठमाडौंमै मनाउँदै छौ । धुम्बाराहीमा ठूलो दाई हुनुहुन्छ त्यही मनाउने हो दशै ।
कात्तिक १५ देखि ३० गतेसम्म १३ औं दक्षिण एसियाली खेलकुदको लागि लक्षित गर्दै खेलाडी छनोट गर्नका लागि ट्रायल हुने कुरा छ । त्यसपछि खेलाडीहरूलाई क्लोज क्याम्पमा राख्ने भन्ने कुरा छ ।
तर मचाहिँ ४–५ हप्ता त रेष्टमै बस्नु पर्ने अवस्था आएको छ । भर्याङबाट लडेर खुट्टामा चोट लागेको छ । उपचार गरिरहेको छु । पानी हेर्न जाँदा सिमेन्टीमा खुट्टा परेपछि तल हिलमा चोट लागेको छ ।
कुमार राई
प्रशिक्षक, न्युडायमण्ड भलिबल एकेडेमी
दशैं स्पेशल भनेको नयाँ खेलाडीलाई प्रतिभावान बनाउने हो । एक दुई जना नयाँ खेलाडीलाई टिममा पार्ने हो । त्यही अनुसार ट्रेनिङ गराइरहेको छु । अरु बेलामा स्कुल पनि लाग्ने हुनाले खेलाडीहरूलाई धरै ट्रेनिङ गराउन पाइँदैन । स्कुल विदा भएको मौका छोपेर अभ्यास गराइरहेको छु । एक दुई जना खेलाडीको खेल कौशल तिखार्नु छ ।
यसअघिको रेकर्ड हेर्ने हो भने पनि रमिला टण्डुकार र प्रतिभा मालीलाई पनि दशैकै विदामा निखारेको थिएँ । यसपटक पनि एक–दुई जना खेलाडीलाई राम्रो बनाउने योजनामा छु ।
यहाँ छोरी र म मात्रै हो । श्रीमती र छोरालाई माइत पठाएको छु । विजयादशमी र एकादशीमा मात्रै मेरो १०० प्रतिशत छुट्टी हो । कोही टिका लगाउन आएमा टिका लगाई दिन्छु नभए भ्याली बाहिर वा भित्र एक दिन चाहिँ फुल रिल्याक्स गर्छु भन्ने योजना छ ।
ठूलाबडा कोही भेटेमा टिका लाउँछु । अब हेरौं । घटनास्थापनादेखि अष्टमीको दिनसम्म ब्रत
हो । नवमीको दिनदेखि मात्रै मेरो खानपिन चल्छ । कुमार राईको दशै स्पेशल भनेको ब्रत बस्ने र खेलाडीलाई ट्रेनिङ गराउने । अचम्मै छ । हा.हा.हा. ।
दीपक श्रेष्ठ
प्रशिक्षक, कराते
घटस्थापनापछि ३ दिन पोखरा परिवारसँग घुमेर आएँ । मलाई झ्याप्पै दशै लागि सक्यो । आम नेपालीले जसरी मनाउँछ म पनि त्यसरी नै मनाउँछु यो पटकको दशैं ।
९० वर्ष पुग्नुभयो हजुरआमा । हजुरआमाको हातबाट टिका लगाउने, आशिर्वाद थाप्ने योजना छ । मूल घर गोदावरी नगरपालिका चापागाउँ हो । त्यही हामी सबै जना भेला भएर दशै मनाउँछौ । परम्परागत रुपमा टिका लगाउने, आफन्तजनसँग भेटघाट गर्ने मिठोमसिनो खाने यसरी नै मनाउने हो दशैं ।
सानो छँदाको दशै र अहिलेको दशै निकै फरक छ । त्यतिबेला आफू हाँसी खुसी भएर नयाँ लुगा लगाएर मामा घर गएर दशै मनाइन्थ्यो । अहिले अरु रमाएको हेरे दशैं मनाउनु पर्छ । सानो हँुदा दशै आयो की खुशी असाध्यै खुशी भइन्थ्यो । त्यो सम्झिदा खुशी लाग्छ ।
दशैं तिहार लगतै राष्ट्रिय कराते प्रतियोगिता आयोजना हँुदै छ । त्यसलाई कसरी भब्यताका साथ सम्पन्न गर्न सकिन्छ भनेर काम पनि गर्दैछु ।