
जीवन चराजसरी उडेर बिताउनुपर्छ । बादलजसरी गर्जेर बिताउनुपर्छ । गगनजसरी लम्पसार परेर बिताउनुपर्छ ।
म मेरा बारेमा सबै कुरा भनूँ– म धेरै नै अटेरी छु । कसैलाई टेर्दिनँ । अटेरी हुनुको फाइदा नै यही हो । जिद्दी, घमन्डी र बेसरम पनि । पतित जे भने पनि हुन्छ । केही फरक पर्दैन ।
म आफ्नो गुनासो आफैँ गर्दै छु । म आफ्नै सुरमा बस्न मन पराउँछु । मलाई कसैको चासो पनि छैन । मेरा बारे अरूले चासो राखून् वा नराखून्, त्यो बेग्लै कुरा हो । तर, मेरो गाउँजस्तो कसैले कसैको चासो राख्दैन यहाँ । जुन मलाई अति नै मन पर्छ ।
वाह ! जिउनुको मज्जा नै अलग । जीवनको स्वाद चाख्ने तरिका नै बेग्लै । सुनीलसँग आजको रात मलाई खासै रमाइलो लागेन । मेरो मनमा यही प्रश्न उब्जिन्छ, के एकजना पुरुषसँग सम्बन्ध राख्दा जस्तो रोचक अनुभव हुन्छ, अरू पुरुषसँगको सम्बन्धमा पनि त्यति नै रोचक अनुभव हुन्छ वा फरक ? कि त्योभन्दा बढी वा कम ?
तर, मलाई लाग्छ– यो मेरो मात्र प्रश्न र जिज्ञासा होइन, आम महिलाको जिज्ञासा हो ।
खुलेर भन्दा म फरक पुरुषको खोजीमा छु । सुनीलसँग लिभ इन टुगेदरमा दुई वर्ष बसेँ । अनि पो चाल पाएँ– उसका स्वास्नी र छोराछोरी रहेछन् नेपालमा ।
ऊ पनि नेपालकै थियो । त्यसपश्चात् मसँग बिहे गर भनेर मैले उसलाई धेरै हारगुहार गरेँ, तर मानेन । हारगुहार गरेपछि उसले मलाई भन्यो, ‘जति हारगुहार गरे पनि तँ मेरो एक्स नै हुन्छेस् । म स्वास्नी र छोराछोरीलाई धोका दिन सक्दिनँ ।’
लिभ इनमा बस्नुभन्दा अगाडि अविवाहित हुँ भनेर उसले मलाई भनेको थियो । मसँग झुटो बोल्नु धोका होइन ? पतितले मात्र यस्तो गर्छ । मसँग लिभ इनमा बस्न थाल्दा एक्लै बसिरहेको छु भनेर सधैँ स्वास्नीलाई फोनमा जानकारी दिनु धोका होइन ?
छोराछोरी भएको मान्छे, तरुनीसँग रात बिताउने ऊचाँहि बफादार बाबु, वाह ! उसको कर्तुत ।
उसको स्वास्नीको फोन आउँदा मलाई ढाँट्दै भन्थ्यो, ‘मेरो बहिनी हो ऊ ।’ अनि, छोराछोरीलाई भान्जाभान्जी बताउँथ्यो । जहिल्यै एयरफोन लगाएर कुरा गर्थ्यो । मेरो बारेमा आफ्नो घरमा कहिल्यै जानकारी गराएन ।
एक दिन ऊ नुहाउन गएको थियो । फोन आइरहेको थियो । मैले फोन उठाउँदै ‘हेलो, को बोल्नुभएको ?’ भनेर सोधेँ ।
‘म सुनीलकी श्रीमती,’ उताबाट स्वास्नीमान्छे बोली ।
‘श्रीमती’ सुन्नेबितिक्कै मेरो खुट्टामुनिको जमिन भासिन लागेको अनुभव भयो । मैले आफूलाई थाम्दै भनेँ, ‘उहाँ नुहाउन जानुभएको छ ।’
मेरो कुरा सुनेर उसले सोधी, ‘तपाईं को बोल्नुभएको ?’
‘म उहाँकै फ्ल्याटमा बस्ने रञ्जु बोल्दै छु । तपाईंले उहाँसँग बिहे गर्नुभएको कति भयो ?’
‘थुप्रै भयो बहिनी । दश वर्ष । दुईजना छोराछोरी पनि छन् ।’
‘एक छिनपछि फोन गर्नुस् न’ भनेर उदास हुँदै फोन काटेँ ।
स्वास्नीलाई बहिनी र छोराछोरीलाई भान्जाभान्जी बताउने मोरो कति खुरापाती दिमागको ! म कति सोझी, उसको कुरा विश्वास गर्दै गएँ । उसले मलाई लुट्दै गयो । भेडो ! धोका दिँदै गयो । र, म अन्धी बनेर फसिरहेँ उसको जालमा । बहिरीझैँ उसको विश्वास गरिरहेँ ।
स्वास्नीमान्छेको चित्त दुई कारणले धेरै दुख्छ । एउटा, जब उसको इज्जत गरिँदैन । अर्को, जब उसलाई कसैले ‘एक्स’ वा भूतपूर्व प्रेमिका भनेर सम्बोधन गर्छ । उसको कुरा सुनेर लाग्यो– म कति मूर्ख रहिछु, उसका बारेमा केही जानकारी न लिएर लिभ इनमा बस्न थालिछु ।
मलाई एक्स गर्लफ्रेन्ड भनेको र उसकी स्वास्नी नेपालमा रहेको थाहा पाएकै दिन उसको छातीमा एक लात हानेँ । हान्दै भनेँ, ‘मसँग दुई वर्षदेखि सेक्स गर्ने अनि मलाई एक्स भन्ने ? तेरो औकात सेक्स गर्ने होइन, लात खाने हो ।’
त्यसपछि उसलाई छोडेर निस्केँ । त्यो घरतिर फर्केर कहिल्यै गइनँ । र, ऊबारे चासो पनि राखिनँ ।
म अविवाहित थिएँ । नेपालबाट माल्टा काम गर्न आएकी थिएँ । त्यहाँ खासै राम्रो काम पाइनँ । साथीहरूसँग माल्टाबाट पोर्चुगल छिरेँ । पोर्चुगलमा पनि त्यति राम्रो आम्दानी थिएन ।
बाह्र लाख ऋण लिएर विदेशिएकी थिएँ । ऋणको ब्याज तिर्नुपरेको थियो । बाआमालाई महिनैपिच्छे घरखर्च पठाउनुपर्थ्यो । किनकि, कमाउने मान्छे म मात्रै थिएँ । म सबैभन्दा जेठी छोरी । भाइबहिनीहरू पढ्दै थिए ।
भाइको कलेज फी र दुईजना बहिनीहरूको स्कुल फी पनि मैले नै तिर्नुपर्थ्यो । बाको आम्दानीको स्रोत थिएन । साधारण किसान थिए बा । घरमा पैसा पठाउन र यहाँ आफ्नो खर्च व्यहोर्न मलाई निकै धौधौ भइरहेको थियो । लिभ इनमा बसे कम खर्च हुन्छ र बढी पैसा बचत गर्न सक्छु होला भन्ने सोचेर सुनिीलसँग लिभिङ टुगेदरमा बस्न थालेकी थिएँ ।
सुनीलसँग छुट्टिएर एक्लै बसेको तीन महिना भइसकेको थियो । यो तीन महिनामा मैले अरू पुरुषका बारेमा सोच्न भ्याइसकेकी थिएँ । मैले काम गर्ने ठाउँमा एकजना मोटोमोटो ज्यानको केटो काम गर्न आएको थियो । ऊसँग मेरो परिचय थिएन । दुई दिन मात्र भएको थियो, ऊ काममा आएको ।
किनकिन मलाई मोटा केटाहरू पहिलेदेखि नै साह्रै मन पर्थे । मोटो केटो मासुको डल्ला त हो, तैपनि मासुको डल्लामा म किन त्यति धेरै आशक्त थिएँ !
म उसको नजिक हुन चाहन्थेँ । ऊसँग कुरा गर्न चाहन्थेँ । सिधा अर्थमा भन्दा म ऊसँग शारीरिक सम्बन्ध राख्न चाहन्थेँ । यसभन्दा अघि सुनीलसँग सम्बन्ध राखिसकेकी ठिटी म, विदेशी केटोसँग पनि त्यस्तो सम्बन्ध राख्न मलाई कुनै भय थिएन ।
र त मैले भोलिपल्टै उसलाई पोर्तुगिज भाषामा भनेँ, ‘ओला अमिगो, तु दु वाइ ?’ (हेलो साथी, सन्चै हुनुहुन्छ ?)
उसले कपाल मिलाउँदै भन्यो, ‘ओला अमिगा, तु दु वाइ । इ भोसे ?’ (हेलो साथी, म सन्चै छु, अनि तपाईं ?)
मैले मुसुक्क हाँस्दै भनेँ, ‘सि, तु दु वाइ ।’ (हजुर, म पनि सन्चै छु ।) अनि थपेँ, ‘कोमो सि सामा ?’ (तपार्इंको नाम के हो ?)
‘एउ लुइस गोमेस । कोमो सि सामा ?’ (मेरो नाम लुइस गोमेस हो । तिम्रो नाम के हो ?) उसले सोध्यो ।
‘एउ रन्जु ।’ (मेरो नाम रन्जु हो ।)
‘हन्जु बोनिता ।’ (रन्जु धेरै सुन्दर नाम)
उसले मेरो नाम उच्चारण गर्न नसकेर रन्जुको सट्टा हन्जु भन्यो । उसको मुखबाट आफ्नो नाम सुनेर बेस्सरी हाँसे । उसले बुझेर हो कि नबुझेर हो वा मैले हाँसेको देखेर हो, आफू पनि हाँस्यो ।
हाईहेलोबाट सुरु भएको हाम्रो मित्रता विस्तारै अगाडि बढिरहेको थियो । छुट्टीको दिनमा हामी क्याफेमा भेट्न थाल्यौँ । धेरै बेरसम्म गफिँदै कुरा गर्थ्यौँ । उसको उचाइ पनि त्यति धेरै थिएन । मध्यम कदको थियो । मभन्दा गोरो र मोटो ।
मोटो भए’नि ऊ ज्यादै छरितो थियो । काम गर्न कत्ति पनि अल्छी मान्दैनथ्यो । बोली पनि सारै नम्र । सानातिनो गल्तीमा पनि सरी, प्लिज, थ्यांक यु भन्न कहिले छुटाउँदैन थियो । म उसको बोलीप्रति आकर्षित थिएँ ।
छुट्टीको दिन मेरो घरमा खाना खान आउने गरी निम्तो दिएँ । तर, उसले स्वीकारेन । उल्टै मलाई आफ्नो घरमा खान बोलायो । मेरो त्यो रात छटपटीमै बित्यो ।
बिहान हुनेबित्तिक्कै म तयार भएर उसको घर गएँ । उसले अलमोसो (खाना) पकाएर राखेको थियो । पुग्नेबित्तिकै सोध्यो, ‘ओला तु दु वाइ ?’
मैले हाँस्दै, ‘सि तु दु वाइ’ भनेँ ।
उसले खाना लगायो । थरीथरीका वाइन र बियर पनि राख्यो । खाना साधारण थियो । बेसार पनि हालेको थिएन, मासुमा । बस्, नुन र मरिचको धुलो हालेको थियो ।
मैले खाँदै सोधेँ, ‘एक्लै बस्नुहुन्छ ?’
‘हो, म एक्लै बस्छु ।’
‘कति भयो एक्लै बस्न थाल्नुभएको ?’
‘म १८ वर्षको हुँदादेखि एक्लै बस्छु । अहिले २७ वर्षको भएँ ।’
‘अनि, तपाईंका बाआमा छैनन् ?’
‘छन् ।’
‘कहाँ छन् ?’
‘अर्को सहरमा बस्छन् ।’
‘यहाँ आउँदैनन् ?’
‘बिदामा म भेट्न जान्छु ।’
उसको कुराबाट थाहा पाएँ, विदेशतिर १८ वर्षको भएपछि छोराछोरी बाआमाभन्दा अलग्गै बस्छन् । कुरा सोधिसक्दा उसले मेरो अनुहारतिर हेर्दै भन्यो, ‘बोनिता ।’ अर्थात्, तिमी धेरै सुन्दर छ्यौ ।
‘ओबरिगादा ।’ मैले मक्ख पर्दै धन्यवाद भनेँ ।
मेरो मुखमा जुठो लागेको थियो । उसले पेपर ल्याएर मेरो गालामा देखाउँदै भन्यो, ‘जुठो लागेको छ, पुछिदिन्छु ।’
उसले मेरो मुखमा लागेको जुठो पुछ्दै गर्दा म उसको अनुहारमा हेरिरहेकी थिएँ । असाध्यै गोरो उसको गाला रगत निस्केलाझैँ रातो थियो ।
उसलाई मायालाग्दो र आकर्षक देखेँ । सानै उमेरबाट बाआमासँग छुट्टिएर बस्नु यिनीहरूको संस्कार नै हो । एक हिसाबले हेर्दा ठिकै पनि हो । आफ्नो खुट्टामा आफैँ उभिन सिक्छन् ।
उसको अनुहार हेर्न थालेँ । अनुहार हेर्दाहेर्दै उसको रातो ओठ छुन पुगेछु । आफूलाई रोक्नै सकिनँ । ओठ छुँदै गाला स्पर्श गरेँ । गाला स्पर्श गर्दा उसले मेरो ओठमा म्वाइँ खायो ।
म्वाइँ खानु उनीहरूका लागि साधारण कुरा भइहाल्यो । तर, मेरा लागि साधारण थिएन । मेरो जिउमा कम्पन्न उत्पन्न भइसकेको थियो । मेरो कम्पन्न देखेर उसले मलाई बोकेर बेडरुममा लग्यो । बोसोका पत्रले भरिएको उसको जिउ मूर्तिझैँ देखिएको थियो – सुन्दर, भरिपूर्ण !
उसलाई नांगिन कति पनि अप्ठयारो लागेन । म पनि उहिल्यै लाज पचाइसकेकी ठिटी । अन्ततः हामीबीच शारिरीक सम्बन्ध भएरै छोड्यो ।
पछिका दिनहरूमा म पटकपटक उसको घर जान थालेँ । मलाई केही अप्ठयारो, गारोसारो वा एक्लै बस्न मन लागेन भने पनि उसको घरमा गएर बस्थेँ । हामी घण्टौँ एकार्काको सामीप्य रहन्थ्यौँ ।
ऊसँगको संगतले मलाई के अनुभव भयो भने, ऊ जिउले मोटो भए पनि व्यवहारले निकै सक्रिय । सुनीलभन्दा लुइस मलाई धेरै गतिशील लाग्यो । म सुनीलभन्दा लुइसँग धेरै रोमाञ्चक अनुभव गर्थेँ ।
सुनील कहिलेकाहीँ ठुस्स गन्हाउँथ्यो । तर, लुइस जहिले अत्तर छर्केर बसेको हुन्थ्यो । लुगा पनि सधैँ नयाँ लगाएको हुन्थ्यो । अझै अर्को फरक मैले के पाएँ भने, सुनीलले धेरै चुम्बन नगर्ने । लुइसलाई चुम्बन गरिरहनुपर्ने । सुनीलले स्तन धेरै चलाउने । लुइसले टङ किस धेरै गर्ने ।
लुइससँग समय औधी राम्रो बितिरहेको थियो । एक दिन उसलाई मैले सोधेँ, ‘तिम्रो केटी साथी छैन ?’
मेरो कुरा सुनेर उसले भन्यो, ‘छ नि ! ऊ अहिले बिदा मनाउन आफ्नो आमाको घर स्वीजरल्यान्ड गएकी छे ।’
‘तिमी उसकी आमाको घर किन गएनौ ?’
‘खासै जान्नँ ।’
‘किन ?’
‘उसकी आमाले मलाई खासै धेरै मन पराउँदिनन् । किनकि, मेरा बा युरोपियन र आमा अफ्रिकन हुन् । उसकी आमा अफ्रिकनहरूलाई खासै मन पराउँदिनन् ।’
आमा अफ्रिकन भए पनि ऊ साह्रै गोरो थियो । सायद बाबुपट्टि गएको थियो ।
उसको केटी साथी छे भन्ने थाहा पाएदेखि म उसको घर जान छोडेँ । मैले काम पनि परिवर्तन गरेँ । त्यस दिनदेखि लुइसलाई भेट्न पनि मन लागेन ।
मेरो हृदयले कसैलाई प्रेम गरेको थिएन । मैले हृदयबाट प्रेम गर्ने मान्छे खासै भेटेकी थिइनँ । भनौँ न, एकप्रकारले धेरै निर्दयी । सायद औधी ठिस केटी हुँ म !
मलाई कसैको दयामाया लाग्दैन । जो मलाई धोकेबाज लाग्छ, ऊतिर कहिल्यै फर्केर हेर्दिनँ । मेरो बानी नै यही हो, जो आफ्नो साथीप्रति इमानदार छैन, त्यो मान्छेप्रति मलाई कहिल्यै प्रेमिल भाव उत्पन्न हुँदैन ।
अब भने म र एउटी केटी साथी आर्या सँगै बसिरहेका थियौँ । हामीले आधाआधा खर्च तिरिरहेका थियौँ । सुनीलपछि मैले अरू केटासँग लिभ इनमा नबस्ने निधो गरिसकेकी थिएँ ।
मैले फेरि नयाँ ठाउँमा काम सुरु गरेँ । नयाँ ठाउँमा धेरै अफ्रिकन केटाहरू काम गर्थे । म पहिलेदेखि नै काला केटा भनेपछि मरिहत्ते गर्थेँ । अहिले सँगै काम गर्दा उनीहरूभन्दा टाढा बस्नु मेरा लागि सम्भव पनि थिएन ।
कालो हुँदैमा सबै केटा मन नपर्ने हुँदो रहेनछ । पहिले त उसको बोली–व्यवहार मन पर्नुपर्छ । तिनै केटाहरूमध्ये बाल्की मलाई अति नै राम्रो लाग्थ्यो । विस्तारै मन पराउन थालेछु । मन पराउनुको पराकाष्ठा नै उसको नजिक हुन खोज्नु थियो ।
उसले मलाई सधैँ ‘ओला, तु दु वाइ’ भन्थ्यो ।
मैले पनि मुसुक्क हाँस्दै, ‘ओला, तु दु वाइ’ भन्थेँ । त्यसपछि ऊ बियरको बिर्को खोल्दै चुरोट सल्काउथ्यो ।
बेफिक्री तरिकाले बियर खाँदै चुरोट तान्थ्यो । चुरोटको धुवाँ फाल्दै मतिर हेर्थ्यो । फेरि आँखा साहुनीतिर लग्थ्यो । उसले मतिर नहेरेको देखेर म उसलाई हेर्न थाल्थेँ । र, त्यति बेरसम्म हेर्थेँ, जबसम्म मेरो मन भरिँदैन्थ्यो । जबसम्म मेरो आँखा र दिमाग थाक्दैन्थ्यो, तबसम्म म उसलाई हेरिरहन्थेँ !।
कालो, अग्लो कद, घुम्रिएको कपाल, मिलेको जिउ भएको ऊ अति नै मृदुभाषी थियो ।
ऊ सहयोगी पनि त्यतिकै थियो । म प्रत्येक दिन काममा जानीनजानी गल्ती गरिरहेकी हुन्थेँ । मैले गल्ती गर्दा उसले मलाई सिकाउँथ्यो पनि । काम सच्याइदिन्थ्यो ।
यसै कारण उसले मलाई हेरचाह गरेको अनुभव हुन्थ्यो । म ऊदेखि सुरक्षित अनुभव गर्थेँ । म चाहन्थेँ, बाल्की मेरै वरिपरि घुमिरहोस् । मेरै छेउछाउ भइरहोस् । उसको आगमन मलाई ज्यादै रमाइलो लाग्थ्यो ।
एउटा बिदाको दिन पारेर काम गर्ने सबै साथी भ्रमणमा निस्कियौँ । दिनभरि घुमघाम गरेर सबैजना आफ्नो घरतिर लाग्यौँ । घर फर्किने बेलामा रातको एक बजिसकेको थियो । मैले बाल्कीलाई मलाई मेरो घरसम्म छोडिदिन अनुरोध गरेँ । उसले सहजै स्वीकार्यो ।
बाल्कीले टन्नै बियर पिएको थियो । मैले पनि टन्नै वाइन पिएकी थिएँ । ऊ मलाई छोडेर घर जान भनेर निस्किँदै थियो । आर्या एक हप्ताका लागि साथीको घरमा बस्न गएकी थिई । यता म एक्लै थिएँ ।
यही मौका छोपेर मैले उसलाई रोक्दै भनेँ, ‘के तिमी आज यहीँ बस्न सक्छौँ ?’
उसले भन्यो, ‘होइन, भोलि काममा जानु छ ।’
‘यहीँबाट सँगै जाऊँला नि’ भनेपछि ऊ केही बोलेन । मैले बुझेँ, ऊ पनि बस्न चाहन्छ ।
मैले बैठक कोठामा उसलाई बस्ने इसारा गरेँ । ऊ सोफामा बस्यो र छिनभरमै निदायो । म भने ऊतिरै हेरिरहेकी थिएँ । ऊ साह्रै नै हट्टाकट्टा थियो ।
म उसको छेउमा बसेँ । उसको कपाल सुम्सुम्याएँ । मैले कपाल सुम्सुम्याएको चाल पाएर उसले मलाई चुम्बन गर्न थाल्यो । बत्तीको ज्यालोमा हामी नांगियौँ । उसले जहाँजहाँ छुन्थ्यो, त्यहाँत्यहाँ फलामले नै स्पर्श गरेझैँ लाग्थ्यो । फलामे स्पर्श तर प्रेमिल ।
हामीबीच त्यही सम्बन्ध स्थापित भयो, जुन सम्बन्धमा कुनै पर्खाल थिएन ।
बिहान उठेर हेरेँ, मेरो स्तनमा, ओठमा, पेटमा उसले चुम्बन गरेका काला दागहरू थिए । उसको चिमोट्याइ पनि कति मिठो ! सुनील र लुइसभन्दा बढी रोमाञ्चक अनुभूति बाल्कीसँग भयो ।
उसका बारेमा मैले केही जान्ने प्रयास गरिनँ । उसको केटी साथी छ कि नाइँ ? बिहे भएको छ कि नाइँ ? अहँ ! मलाई केही’नि सोध्न मन लागेन ।
बिहान उसले आफैँ सोध्यो, ‘तिमी कुन देशबाट हौ ?’
‘नेपालबाट ।’
मेरो जवाफ सुनेर उसले सहज भावमा भन्यो, ‘म तिमीलाई ढाट्न सक्दिनँ । नेपाली इमानदार हुन्छन् र मैले धेरै नेपालीसँग संगत गरेको छु । सुन, म विवाहित हुँ । अफ्रिकामा मेरी श्रीमती र दुई छोरा पनि छन् ।’
‘श्रीमतीबिना कसरी एक्लै बस्न सकेको ?,’ उसको कुरा सुनेर मैले सोधेँ ।
मेरो प्रश्न सुनेर उसले भन्यो, ‘उसको पनि त्यहाँ अर्कै केटो साथी छ । म पनि उसलाई रोक्दिनँ । उसले पनि मलाई रोक्दिन । हामी टाढा बस्छौँ । उसका पनि इच्छाहरू छन् । उसलाई इच्छा लागेको बेला उसले केटा साथीसँग शारीरिक सम्बन्ध राख्छे । मैले चाहेको बेला म पनि अरूसँग शारीरिक सम्बन्ध राख्छु । हामीलाई एकार्काको बारेमा सबै थाहा छ । तैपनि, एकार्कालाई हामी अति नै सम्मान र पे्रम गर्छौँ । ऊ मेरा छोराहरूकी आमा हो । म उसलाई कहिले पनि छोड्न सक्दिनँ ।’
उसको कुरा सुनेर यस्तो लाग्यो, आत्मा एक भएपछि पे्रमिल जोडीका अगाडि अरूसँगको भौतिक सम्बन्ध केही पनि होइन ।
ऊ बिहानै घरतिर लाग्यो । र, काममा पनि आएन । ऊ किन आएन भनेर मैले बुझ्ने प्रयास गरेँ । उसलाई फोन गरेँ, तर उसले फोन उठाएन । त्यसपछि मैले पनि उसको विषयमा चासो राख्न छोडेँ ।
तर, मनमा कौतूहल जागिरहन्थ्यो बेलाबेला– बाल्की कहाँ गयो होला ? किन अचानक हरायो ? मसँगको सम्बन्धले कतै उसलाई पश्चात्ताप त भएन ?
म र आर्या बेलुकी पार्कमा घुमिरहेका थियौँ । पार्कमा बसिरहेका थिए, दुईजना बूढा । हामीलाई देखेर बूढाहरूले कुरा काटे– यिनीहरू लेज्बियन हुन् । लेज्बियन भनेको सुनेर बूढाहरूतिर फरक्क फर्केर हेर्यौँ ।
उनीहरू हामीतिर शंकालु दृष्टिले हेरिरहेका थिए । त्यसपछि हामी केही नसुनेझैँ अगाडि बढ्यौँ ।
नेपालमा केटाकेटी सँगै हिँडे शंका गर्दै आरोप लगाउँछन् । यहाँ केटीकेटी सँगै हिँडे आरोप लगाउँछन् । सोचमा कत्ति पनि फरक छैन ।
मैले तीनजना युवकसँग शारीरिक सम्बन्ध बनाइसकेकी थिएँ । अब म अधबैँसे पुरुषसँग सम्बन्ध राख्न चाहन्थेँ । म अनुभव गर्न चाहन्थेँ, अधबँैसे पुरुषको स्पर्श कस्तो हुन्छ । प्रेम गरेका अनुभवी पुरुषहरूले झनै धेरै माया गर्छन् भन्ने सुनेकी थिएँ ।
मैले काम गर्ने रेस्टुराँमा एकजना अधबैँसे पुरुष नियमित रूपमा खाना खान आउँथ्यो । उसको नाम मार्टिन थियो । उसको घर रेस्टुराँकै छेउमा थियो । ऊ खान नआएको बेला उसको घरमै खाना पुर्याइदिनुपर्थ्यो । खाना पुर्याउन अर्को कामदार केटो जान्थ्यो ।
खाना पुर्याउने केटो काममा आएको थिएन । मार्टिन पनि खान आएको थिएन । युरोपियनहरू घरमा कम र बाहिर प्रायः खाना खाने गर्छन् ।
त्यस दिन खाना पुर्याउने केटो नआएको हुनाले मार्टिनको घरमा खाना पुर्याउन मलाई पठायो, साहुले ।
खाना लिएर उसको घरमा पुग्दा ऊ नुहाएर भर्खरै निस्किएको थियो । मलाई देख्नेबित्तिकै ‘ओला, तुदु वाइ ?’ भनेर सोध्यो ।
मैले पनि ‘ओला, सि तु दु वाइ’ भनेर जवाफ फर्काएँ ।
मैले खानाको पोको उसको हातमा थमाउँदै गर्दा उसले मलाई कफी खान अनुरोध गर्यो । उसको अनुरोध स्वीकार गरेँ । उसले कफी मेसिनमा कफी बनाउन थाल्यो ।
मलाई कफी दिँदै ऊ खाना खान थाल्यो । खाना खाँदै बोल्दाबोल्दै उसले मेरो हात समायो । ऊ जतिपल्ट बोल्थ्यो, त्यति नै पटक मेरो हात स्पर्श गर्थ्यो । उसको बानी नै त्यस्तै थियो वा जानीजानी त्यस्तो गरिरहेको थियो, उसले नै जानोस् !
उसले स्पर्श गरेको देखेर मैले उसको हातमा चिमोटेँ । मैले चिमोटेको देखेर उसले खाना खान छोडेर भोको बाघले झैँ मलाई झम्टियो । ऊ मेरा अंगतिर हेरिरहेको थियो ।
उसले जहाँजहाँ आँखा गाड्थ्यो, ती अंग मुसारेझैँ अनुभव भइरहेको थियो ! उसले मेरा अंगहरूमा स्पर्श गर्न थाल्यो । लाग्यो– उसले होइन, शीतल बतासले स्पर्श गरिरहेको छ ।
बतासजसरी सुस्तरी स्पर्श गर्दै थियो ऊ, तर त्यो स्पर्शमा हजारौँ भोल्टको करेन्ट थियो । उसले जति स्पर्श गर्थ्यो, त्यति नै कामुकता बढिरहेको थियो । उसको सुस्तरी र अनुभवी स्पर्शले लाग्यो– उसले धेरै आइमाईसँग शारीरिक सम्बन्ध राखिसकेको छ ।
उसको स्पर्श यति माधुर्यले भरिपूर्ण थियो, लाग्थ्यो– मेरो जिउ हड्डी र मासुले बनेकै होइन, मैनले बनेको हो । उसले आगो सल्काइरहेको थियो र म मैनझँै पग्लिरहेकी थिएँ ।
हामीबीच शारीरिक सम्बन्ध भयो, जुन अत्यन्तै मिठासपूर्ण थियो ।
मैले लुगा लगाउँदै उसको घरका भित्तातिर हेरेँ । कतै पनि उसकी स्वास्नीको तस्बिर थिएन । र, मैले सोधेँ, ‘के तपाईं अविवाहित हो ?’
‘होइन । म विवाहित थिएँ । तर, मैले श्रीमतीसँग सम्बन्धविच्छेद गरेँ ।’
‘किन सम्बन्धविच्छेद गर्नुभएको ?’
‘ऊ अरू पुरुषसँगको सम्बन्धमा थिई, मैले उसलाई आफैँ समातेँ । त्यसपछि हामो सम्बन्ध बिग्रियो । मैले उसलाई डिभोर्स दिएँ ।’
‘सुधार गरेर बस्न सक्नुहुन्थ्यो नि !,’ सोधेँ ।
‘होेइन, हामी आफ्नो सम्बन्धप्रति ज्यादै नै संवेदनशील र इमानदार छौँ । विवाहबन्धनमा बाँधिसकेपछि श्रीमती अरूसँग सम्बन्धमा रहेको थाहा पाउनेबित्तिकै हामी सुधार गर्दैनौँ । सुधारिएको सम्बन्धले खतरनाक रूप लिन सक्छ । त्यसैले डिभोर्स दिन्छौँ ।’
हाम्रो समुदायमा लोग्ने वा स्वास्नी अरूसँग लागेको थाहा पाए ती सम्बन्ध सकेसम्म लुकाउन खोज्छन् र सम्बन्ध सुधार गरेर बस्छन् । तर, युरोपियनहरू लोग्ने वा स्वास्नी अरूसँग सम्बन्धमा रहेका थाहा पाउनेबित्तिकै सम्बन्धविच्छेद नै गर्छन् । सुध्रिने मौका नै दिँदैनन् । युरोपियन मुलुकहरूमा सम्बन्धविच्छेद अधिक हुनुको कारण सायद यही होला ।
बाल्की र मार्टिनमा मैले धेरै फरक पाएँ । मार्टिनले सिधै सम्बन्धविच्छेद गर्यो । तर, बाल्कीले श्रीमती अरूसँग लागेको थाहा पाएर पनि अटुट पे्रम गरिरह्यो । बाल्कीको स्पर्श फलामे तर मिठो थियो । मार्टिनको पनि कम थिएन, सुस्त तर कामुक स्पर्श !
अचेल घरबाट दिनहुँ आमाको फोन आउँछ । आमा ‘नेपाल आइज, बिहे गर्, उमेर भइसक्यो’ भन्छिन् । मैले पनि ‘राम्रो, इमानदार केटो खोजेर राख्नुस्’ भनेकी छु ।
म जति बिगे्रकी भएँ पनि मलाई इमानदार केटो चाहिन्छ । मेरा अतीतबारे नकोट्ट्याउने र मलाई धेरै हेरचाह गर्ने केटो पाएँ म बिहे गर्न तयार छु ।