विसं २०५८ ताका मुस्ताङ जिल्लाको लोमानथाङ गुम्बामा काम गर्ने अवसर मिलेको थियो । त्यति बेला मुस्ताङबाट रेडियोमार्फत देशका अन्य भागमा सञ्चार गर्न सकिन्थ्यो भने पत्रपत्रिकाको पहुँच थिएन । नेपालभित्र भएर पनि अलग्गै देश थियो लोमानथाङ जहाँ त्यो बेला राजा जिग्मे परवल विष्ट थिए जसलाई तत्कालीन सरकारले मान्यता दिएको थियो । पश्चिमाहरु यसलाई अझै पनि 'फरबिडन किङडम' पनि भन्छन् ।
लोमानथाङमा दुईवटा प्रसिद्ध गुम्बा थुम्चेन र छोदे छन् । त्यहाँ एक सय जना जति लामा थिए । त्यसबेला ५६ जना लामालाई पढाउन गुम्बाभित्र स्कुल थियो जहाँ लामा तथा अन्य पाठ्यक्रम दुवैको पढाइ हुन्थ्यो । एकदिन दिउँसो अफिस कोठामा काम गर्दै थिएँ लामा विद्यार्थीहरु चिच्याउँदै आए – “सर रिन्जीन बेहोस भयो” , मैले सोधेँ– “कसरी ?” “म्याथ सरले एकदेखि दससम्मको गुना भन्न लगाएको आएन । त्यसैले सरले १०० चोटि उठबस गर्न लगाएको उठबस गर्दागर्दै बेहोस भयो ।” दौडेर कक्षाकोठामा पुगेर पानी खुवाएँ । रिन्जिन होसमा आयो । म अकमक्क परेँ । “सरलाई यस्तो किन गरेको” भने । सर चुपचाप बस्नुभयो ।
नयाँ ठाउँ, अनपढ समाज, विकट स्थान तर पनि लामाहरु केही बोलेनन् । सायद, बुद्ध धर्मका अनुयायी भएर होला ।
तल सहरतिर भएको भए अभिभावक आएर स्कुल घेर्ने, शिक्षकलाई पिट्ने गर्थे होला । त्यहाँ यो विष्य खासै मुद्दा भएन, सकियो ।
युवा जोस बोकेको म्याथ सरमा जाँगर र उमंग थियो । विद्यार्थीलाई केही सिकाऊँ भन्ने हुटहुटी थियो । तर, उहाँलाई शिक्षाविद्हरुले ले भन्नेगरेको”नो बिटिङ्ग पोलिसी” थाहा थिएन । उहाँ कलेजमा राजनीति गर्ने भएकाले ऊर्जा भने थियो ।
के साँच्चै विद्यार्थीलाई पिट्न हुँदैन त ? कुनै कुनै विद्यालयमा शिक्षकले कान निमोठ्दा कानै चुडिएको र अपरेसन गरेर जोडेको घटना पनि छ । पिट्नु ठीक कि बेठीक । छोरी ४ कक्षामा पढ्दा स्कुलको कम्पाउन्डमा चुन्नी खेलेकोे भनेर सरले पिटेपछि एकजना साथीले त्यो स्कुलबाटै छोरीलाई निकालिन् – “त्यहाँ त पिट्छ सर, स्कुल राम्रो नाम चलेको भएर के गर्नु ?”
आफू पनि शिक्षक । अनि सोचँे के पिट्नु गलत हो ? मैले पनि कहिलेकाहीँ विद्यार्थीलाई पिटेको छु तर बेस्सरी होइन । घरमा पनि बच्चाले गल्ती गर्दा पिटिन्छ । शिक्षकले विद्यार्थी पिट्नुमा पुरानो दुस्मनी वा पूर्वाग्रह त पक्कै हुँदैन । तैपनि, बालमस्तिष्कमा पिटाइबाट पर्ने मानसिक तथा शारीरिक असर र प्रभावका बारेमा सायद हामीलाई थाहै छैन ।
एउटा गैरसरकारी संस्थामा बच्चासँग काम गर्दा – “किन घरबाट भागेर सडकमा आएको” भनेर सोध्दा “सरले स्कुलमा कुट्छ, घरमा किन नपढेको भनेर बाबाले पनि पिट्ने । त्यसैले घर छाडेँ” भनेका थिए । आफू भने पिट्ने वातावरण र संस्कारमा हुर्केकाले पिटेको ठीकै थियो कि जस्तो लाग्थ्यो ।
आफ्नो सानो बच्चालाई घरमा सम्झाउँदा नमानेकाले एक दुई चड्कन लगाउँदा पुलिसले बाबुआमालाई लगेको सुनेको छु विदेशतिर बस्ने आफन्तहरुबाट । अहिले होस् या पहिले शिक्षकलाई बाल मनोविज्ञानका विषयमा धेरै ज्ञान दिइएको छैन । बालबालिकालाई “फुच्चा फुच्चीलाई के थाहा छ? फुच्चे केटाकेटी” आदि संज्ञा दिइन्छ । समाज, घर र परिवारमा कसैले पनि उनीहरुका कुरा सुन्ने वा बुझ्ने गर्दैनन् । हाम्रो सामाजिक परिवेश, वातावरण संस्कार नै यस्तै छ ।
बालबालिकालाई पिट्न किन हुँदैन भन्ने विषयमा विभिन्न तर्क सुनिन्छ । यस्ता तर्क आआफ्ना सोच र ज्ञानका उपज हुन् तर विकास भइनसकेको बालमस्तिष्कलाई राम्रो, नराम्रो, खराब, असल, ठीक, बेठीकको खास भेद नै थाहा हुँदैन ।
अरुले गरेको देखेर सिक्ने बेलामा हामी कसरी उनीहरुले गरेको काम व्यवहारको आधारमा तिनलाई दोषी मान्न सक्छौँ र ? वयस्कले गरेको देखेर, सुनेर, हेरेर बालबालिकाले देखासिकी गर्छन् । उनीहरुलाई वयस्क मान्छेले गरेका व्यवहार ठीक लाग्यो भने नक्कल गर्छन् । दुर्भाग्य हो, वयस्कहरु नै गलत वा खराव कार्य गर्छन् ।
अंग्रेजीका प्रसिद्ध कवि वर्डस वर्थका अनुसार बालबालिका मानिसका पिता हुन् । अर्थात, उनीहरुबाट पनि वयस्क मानिसले सिक्ने कुरा धेरै कुरा छन् । हामी र हाम्रो समाज भने त्यो मान्न तयार छैन । किनभने हाम्रो समाजमा बालबालिकालाई महत्त्व दिइँदैन ।
विद्यार्थीलाई पिट्दा तिनको आत्मबल, उत्साह, हौसला, जाँगर, उमंग, कौतुहल सबै हराउँछ । उनीहरु बोल्न डराउने हुन्छन् । हुन्न, गर्दिन, सक्दिन भन्ने अर्थात् इन्कार गर्ने क्षमता ह्रास हुन्छ । तिनको अज्ञान र सोझोपनाको फाइदा लिएर समाजमा घटना भइरहेका हुन्छन् । हामीले बच्चाहरुलाई जोगाउन सकिरहेका छैनौ । अपराध बढ्दैछ । किनभने हामी बच्चाहरुलाई आज्ञाकारी होस्मात्र भन्छौ तर हाम्रो अनुपस्थितिमा उनीहरुको सुरक्षित भविष्यको आधार रेखा कोर्नबाट रोक्छौँ ।
बाल यौन दुव्र्यवहार, आत्महत्या वा घर छाड्ने सबै घटनामा अभिभावकको दोष हुन्छ । तसर्थ समयानुकूल व्यवहार र कर्तव्य बोध भएमात्र सच्चा अभिभावक हुन सकिन्छ । हामीले कहिलेकाहीँ नकारात्मक सोच अर्थात् भविष्यमा हुन सक्ने घटना परिघटनाआदि सोचेर बच्चालाई तयार गर्नुपर्छ । अचानक कुनै विपत्ति आइपरेमा पनि बच्चाले सामना गर्न सिक्नुपर्छ ।
नपिट्ने हो भने बालबालिकालाई कसरी पढाउन सकिन्छ त ? यो कठिन प्रश्न हो तर सकिन्छ । कसरी भने बालबालिकाभन्दा शिक्षक बढी खट्नुपर्छ । जो शिक्षक बन्न आउनुभएको छ उहाँहरुलाई राम्रै हेक्का होला ‘शिक्षक कम दाम, काम तमाम’ हो । यो जिम्मेवार पेसाको रोजेपछि खट्न धेरै पर्छ । कक्षा कोठामा हरेक किसिमका विद्यार्थी हुन्छन् । उनीहरु अलग परिवेश, वातावरण, संस्कृति, परम्परा, चालचलन, बोलीबाट आएका हुन्छन् । यसैले फरक फरक व्यवहार गर्नुपर्ने हुन्छ ।
कक्षामा अलग स्वभाव, बुद्धि, विवेक, ज्ञान, क्षमता, दक्षता भएका विद्यार्थी हुन्छन् । उनीहरुलाई अलग अलग तरिकाबाट सिकाउने, सिक्ने, जान्ने, बुझ्ने वातावरण बनाउनुपर्छ । यसका लागि ‘न्युरो डाइभर्सिटी’को अवधारणा अपनाउनु आवश्यक छ । यस अवधारणामा बालबालिकामा बुझ्ने, जान्ने, सिक्ने तरिका फरक फरक हुन्छ भन्ने मानिन्छ । उदाहरणका लागि कसैले लेखेर, कसैले पढेर, कसैले देखाएर बुझ्न र सिक्न सक्छन् ।
विदेशीहरु नेपाल भ्रमणमा आउँदा चौर, गल्ली, सडकमा बच्चा देख्दा प्रश्न गर्छन् – यिनीहरु स्कुल जाँदैनन् ? तिनलाई के थाहा नेपालमा मुस्किलले ६ महिनामात्र पढाइ हुन्छ भन्ने ।
हामीले जन्माएका हुर्काएका बालबालिकाको बानीबेहोरा, संस्कार, आचरण, चरित्र हामीले नै सुधार्न सक्दैनौ भने स्कुलमा शिक्षकले कसरी सुर्धान सक्छन् ? घर पहिलो विद्यालय हो । घर र विद्यालयको प्रत्यक्ष निगरानीमा मात्र बालबालिकामा बौद्धिक, मानसिक, चारित्रिक र नैतिक विकास सम्भव छ ।