
काठमाडौं । आगामी चैत २ देखि ६ गतेसम्म हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरू मनोनीत गरिएको छ । निफले फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन ली रानलाई मनोनयन गरेको हो ।
निफका अनुसार प्रेमेन्द्र मजुमदार भारतीय चलचित्र जगतमा पुनर्जागरण ल्याउने व्यक्ति मानिन्छन् । फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रहरूमा प्रेमेन्द्रले आफूलाई विश्वव्यापी फिल्म समुदायको आवाजको रूपमा स्थापित गरेका छन् ।
चलचित्र र सामाजिक गतिशीलताको राजनीतिमा विचार–उत्प्रेरक व्याख्यानहरू दिनेदेखि लिएर दक्षिण एसियाली स्वतन्त्र सिनेमाका नवीनतम प्रवृत्तिमा प्रेमेन्द्रको योगदान प्रभावकारी रहेको छ । प्रेमेन्द्रले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल कान्स र काइरो अन्तर्राष्ट्रिय फिल्म क्रिटिक्स सप्ताहलगायतका प्रतिष्ठित फिल्म महोत्सवहरूमा ओजनदार उपस्थिति जनाएका छन् ।
त्यसैगरी ‘इन्टरनेसनल स्कुल अफ बेइजिङ फिल्म एकेडेमी’की डीन लि रान फिल्म मार्केटिङ र वितरण पक्षको ज्ञाताका रूपमा परिचित रहेको निफले जनाएको छ । उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभवी छिन् ।