site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टर्की भूकम्प : प्रभावित क्षेत्रमा कति र कस्तो अवस्थामा छन् नेपाली ?
भूकम्प प्रभावित क्षेत्रको दृष्य ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । गएको सोमबारको शक्तिशाली भूकम्पपछि टर्कीमा जनधनको ठूलो क्षति भएको छ । टर्की र सिरियामा गरी हालसम्म १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

उक्त भूकम्पमा अहिलेसम्म कोही नेपाली हताहत भएको सूचना प्राप्त नभएको एनआरएनए टर्कीका महासचिव विनोद पौडेलले बताए । आफूहरूले प्रभावित क्षेत्रका सबै नेपालीसित सम्पर्क गर्ने प्रयास गरिररहेको उनले जानकारी दिए ।

पौडेल टर्कीको मुख्य सहर इस्तानबुलमा छन् । भूकम्पपछि प्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्थालगायत विषयमा उनले जानकारी संकलन गरिरहेका छन् । टर्की समेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावाससँग उनले समन्वय गरिरहेका छन् । आफू र एनआरएनए टर्कीका सचिव जावेद अन्सारीले भूकम्पपछि नेपालीको अवस्था, तथ्यांक संकलनलगायत विषयमा दूतावासको प्रतिनिधिका रूपमा रहेर कार्य गरिरहेको पौडेल बताउँछन् ।

Agni Group

आफूहरूले एक/एकजना गरी सानो समुदायमा रहेका सबै नेपालीसित सम्पर्क स्थापित गर्न खोजिरहेको र उनीहरूलाई आवश्यक सहयोगका लागि पहल गरिरहेको पौडेलको भनाइ छ ।

उनका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु रहेको स्थान र आसपास क्षेत्रमा रहेका ३० नेपाली बुधबार रातिसम्म सम्पर्कमा आइसकेका छन् । तीमध्ये १४ जना विद्यार्थी हुन् । अरू तीन नेपालीसित सम्पर्क गर्ने प्रयास भइरहेको छ । “परकम्प निरन्तर छ । इन्टरनेट नहुने, बत्ती नहुने कारणले सम्पर्क गर्न समस्या भइरहेको छ,” उनले बाह्रखरीसित भने ।

Global Ime bank

टर्कीका सात प्रान्त भूकम्पले बढी प्रभावित छन् । ती सात प्रान्तमा बढीमा १०० नेपाली रहेको हुन सक्ने आफूहरूको अनुमान रहेको उनले बताए । “हामीले पहिला २०–३० जना मात्र हुनुहुन्छ होला भन्ने ठानेका थियौँ । बुझ्दै जाँदा बढीमा १०० जनासम्म ती क्षेत्रमा हुनुहुन्छ कि भन्ने हाम्रो अनुमान छ । तर, अहिलेसम्म कोही नेपाली हताहत भएको थाहा पाएका छैनौँ । सबैजना सकुशल हुनुहुन्छ ।”

ती क्षेत्रमा विद्यार्थी, रेस्टुरेन्टमा कार्यरत, घरेलु कामदारका रूपमा नेपाली रहेका छन् । घरेलु कामदारहरू उनीहरूका घरधनीसँगै सुरक्षित स्थानमा रहेका उनको भनाइ छ ।

“केही नेपाली उद्धार केन्द्र, सेल्टरमा हुनुहुन्छ । १५/२० वर्षका किशोरहरू पनि हुनुहुन्छ,” उनले भने, “अध्ययनरत विद्यार्थीहरूको व्यवस्थापनका लागि पनि कोसिस गरिरहेका छौँ । त्यसका लागि विश्वविद्यालयहरूसँग अनुमति लिने, यहाँको कानुनानुसार अघि बढ्ने कार्य भइरहेको छ ।” 

प्रभावित क्षेत्र दुर्गममा भएको, हिउँ परिरहेको र बाटो खराब हुँदा उद्धारकार्यमा समेत कठिनाइ भएको उनी बताउँछन् । “प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लैजाने कार्यमा पहल गरिरहेका छौँ,” उनले भने ।

उनका अनुसार एनआरएन टर्कीका सचिव अन्सारी आज केही खाद्यान्न र लत्ताकपडा लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् । थोरै मात्राको ती सामग्री उनले प्रभावित क्षेत्रमा रहेका नेपालीलाई वितरण गर्नेछन् । इस्तानबुलबाट भूकम्पको केन्द्रविन्दु रहेको स्थान निकै टाढा पर्छ ।

प्रभावित क्षेत्रमा रगतको अभाव देखिएकाले आफूहरूले नेपालीलाई रक्तदानका लागि आह्वान गरेको पौडेलले बताए । टर्कीमा रहेका नेपालीबाट सकेजति आर्थिक संकलन गरेर त्यहाँको सरकारलाई सहयोग गर्ने अभियान पनि चलाइएको उनले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रका नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गरिएको उनले बताए । प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी राखिएको उनले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC