site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतलाई हराए पनि असन्तुष्ट प्रशिक्षक गुरुङ, भन्छन्– खेलाडीको प्रदर्शनबाट खुसी छैन

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी भारतलाई हराएपनि नेपालका मुख्य प्रशिक्षक यम गुरुङले खेलाडीबाट शतप्रतिशत प्रदर्शन हुन नसकेको बताएका छन् । 

मंगलबार भारतविरुद्ध उत्कृष्ट पुनरागमन गरेर ३–१ जित हासिल गरेसँगै नेपालले फाइनलमा स्थान पक्का गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मेरा खेलाडीहरूको प्रदर्शनबाट म खुसी छैन । किनभने उनीहरूले भारतविरुद्ध ६० प्रतिशत मात्र खेले । मलाई आशा छ उनीहरूले उपाधि भिडन्तमा आफ्नो शतप्रतिशत दिनेछन्,” नेपालका प्रशिक्षक गुरुङले भने, “पेनाल्टी प्राप्त गर्नु आजको खेलमा टर्निङ प्वाइन्ट थियो ।”

बंगलादेशको ढाकामा सम्पन्न आजको खेलमा अपुर्ना नार्जारीले २१ औँ मिनेटमा गरेको गोलबाट भारतले अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा तीन गोल फर्काएको थियो । 

४७ औँ मिनेटमा अञ्जली चन्दले बराबरी गोल फर्काइन् । ६९ औँ मिनेटमा कप्तान प्रीति राईले पेनाल्टीमा गरेको गोलबाट नेपालले अग्रता लियो । खेल सकिन दुई मिनेट बाँकी हुँदा अमिषा कार्कीले अर्को गोल थपेपछि नेपालको जित पक्का भएको थियो । 

“अञ्जलीको गोलपछि हाम्रा खेलाडीहरूको हौसला बढ्यो,” प्रशिक्षक गुरुङले भने । 

आजै दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्दै छन् । बंगलादेशले भुटानलाई पराजित गरे फाइनलमा स्थान बनाउनेछ ।

उपाधिका लागि बंगलादेशसँगको सम्भावित भिडन्तबारे नेपालका प्रशिक्षक गुरुङले भने, “बंगलादेशसँग घरेलु मैदानको फाइदा हुन सक्छ । तर, उपाधि भिडन्तमा बंगलादेशलाई हराउनेछौँ । किनभने हामीलाई बंगलादेशी महिला टोलीको खेलको बारेमा राम्ररी थाहा छ । हाम्रो टिम आयोजक बंगलादेश भन्दा राम्रो छ । म सधैँ मेरो टोलीलाई टिम खेलमा केन्द्रित गर्छु ।”

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्