
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय गरेको हो ।
बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोनमार्फत दुई दिनको समय मागेकाले सरकारबाट नबाहिरिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
"प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर दुई दिनको समय माग्नुभएको छ । त्यसैले हामीले अहिले उहाँहरू के गर्नुहुन्छ २ दिन भित्र भन्ने हेर्नेछौँ । २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौँ," उनले भने ।
तर, दुई दिनपछि पनि आफूहरूका माग पूरा नभए कुनै पनि निर्णय लिनसक्ने चेतावनी रास्वपाले दिएको छ ।
"उहाँहरूले दुई दिनपछि पनि राजनीतिक इमान्दारिता देखाउनुभएन भने यसरी नै बैठक बसेर जेसुकै पनि निर्णय लिन सक्छौँ," ढकालले भने ।
माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता अवैध ठहर भएसँगै उनले सबै पद गुमाएका थिए । त्यसयता गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्हालिरहेको छन् ।
लामिछानेले माघ १५ गते आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर पुनः नागरिकता लिएका थिए । नागरिकता पाएपछि उनले गृह मन्त्रालय पुनः आफूले पाउनुपर्ने अडान राख्दै आएका छन् ।
रविले आफ्नो पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालय दिन नसकिने अभिव्यक्ति दिएका छन् ।