
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् ।
सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले अमर सहिदहरूको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताए ।
सहिदहरूले आफ्ना सन्ततिको उज्वल भविष्यका लागि प्राण त्याग गरेको भन्दै उनले अबका दिनमा हरेक नेपालीले बलिदान नभइ देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए ।
उनले सहिदहरूले भावि सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले सहिहरूको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताए ।
शान्त, समृद्ध र विकसित नेपाल बनाउ सके मात्रै अमर सहिदहरूको आत्माले शान्ति पाउने उनको भनाइ छ ।