
पहिलोपटक सामान्य ज्ञानमा तिलिचो तालको नाम पढिएको थियो । हाजिरीजवाफ प्रतियोगितामा त्यसको नाम निकैपटक लिएर जितियो पनि । तर, त्यहाँ पुग्ने सौभाग्य निकैपछि मात्र मिल्यो ।
तिलिचो विश्वमै उचाइमा रहेको हिमताल हो । तिलिचो बारे धेरै पुस्तकमा वर्णन गरिएको छ । त्यसमध्ये माउरिस हर्जोगको ‘अन्नपूर्ण’ पुस्तकमा तिलिचो बारे गजबको वर्णन छ । पुराणमा ऋषि काक भुसुण्डीले पहिलोपटक रामायणको कथा गरुडलाई यही तालको किरानामा सुनाएको उल्लेख छ ।
फुर्सतिलो क्षणको सदुपयोग गर्ने हेतुले तिहारलगत्तै हिमालतिर जाने मुड बन्यो । मलगायत कुबेर डंगोल, कृष्ण थापा, निराकर श्रेष्ठ, सन्तोष पौडेलको जाने चाँजोपाँजो मिल्यो । छोरी सहजाले पनि रहर गरेकीले ६ जनाको टोली बनाएर सबेरै काठमाडौं छोडियो ।
बसपार्कबाट बिहान ७ बजे गुडेको गाडीले दिउँसो १२ बजे बेँसीसहर पुर्यायो । खाना खाएर दिउँसो २ बजे हामी चामेतर्फ गुड्यौँ । यसरी यात्रा सुरू भयो मनाङतिरको ।
बेँसीसहरमा मनाङ जाने जीपका चालकले आफन्तलाई सोधेझैँ प्रेमपूर्वक सोध्छन्, “हजुर कहाँसम्म जानुहुन्छ ?”

प्रत्येक गाडी चालक तन्नेरी छन्, जसलाई यात्रुको माया लाग्दैन । तर, यात्रुलाई ती चालकको माया लाग्छ । त्यसैले ‘विस्तारै कुदाऊ भाइ, ज्यानको माया मान्नुपर्छ’ भन्दै चालकलाई फकाउँछन् यात्रु ।
दुःखको बेला रोइरहेको मान्छेलाई साथीले ‘नरो यार, जिन्दगी यस्तै हो’ भनेर सम्झाउँदा झन् धेरै रुन मन लागेझैँ झन् फुर्केर चालकले गाडी हुइँक्याउँछ !
बेँसीसहरदेखि चामे यात्राका क्रममा देखिएका ठूला पहाड अनि पत्थर खोपेर भीरमा बनाइएको सडकले रोमाञ्चित बनाउँछ । डरसँगै सहासको तारिफ पनि गर्न मन लाग्छ ।
अझै भीरको फेदीमा सुसाइरहेको मर्स्याङ्दीले झनै यात्रा स्मरणीय बनाइदिन्छ । हाइड्रोपावरको जिल्ला भनेर चिनिने मनाङ जाने बाटो सुन्दर छ । लमजुङदेखि मलेवर, भुलभुले, रामबजार, स्याँगे, जगत, च्याम्चे, खोत्रो, धारापानी, कोटो हुँदै तिलिचो हिमाल उद्गमस्थल रहेको मर्स्याङ्दी नदीको तिरतिरै पछ्याउँदै लागिरहेको साँघुरो अनि अप्ठ्यारा बाटा पार गरिरहँदा आउने मनमोहक बुङ, च्याम्चे, डेन्से, अक्टोपस झरनाहरूले मन झनै तरंगित हुन्थ्यो । झरनामा पानी नाचिरहेको देख्दा मन पुलकित हुन्थ्यो ।
राति ९ बजे मात्रै चामे पुग्यौँ । यहीँ बास बसेर भोलिपल्ट खाङसार र श्रीखर्क हुँदै तिलिचो बेसक्याम्पसम्मको यात्रा तय गर्ने साथीभाइबीच निधो गरियो । दिनभरको गाडीको यात्राले शरीर थकाइले लोथ थियो । मिठो थकाली खाना खाएपछि एकैछिनमा निद्रा पर्यो ।
आहा, क्या आनन्द ! बिहानै खुला आकाशमुनि चिसो बताससँगै चामे बजार घुम्यौँ । उप्रान्त खाजा खाएर मनाङतर्फ लाग्दा आनन्दको अनुभूति भयो । चामेबाट दुई घण्टा जीप यात्रा गरेपछि मात्रै पिसाङ पुगिन्छ । यो ठाउँ रमणीय मात्र होइन, सुन्दर र कलात्मक पनि उत्तिक्कै रहेछ ।
यति मात्र कहाँ हो र ! यहाँबाट अन्नपूर्ण हिमशृंखला पनि देख्न सकिन्छ । सेता हिमाल देखेपछि थोरबहुत लागेको थकाइ पनि हराएर गएको पत्तै नपाइने । ढुंगाले छाएका घर सुन्दर त छ नै, अग्ला पहाड, समथर फाँटको दृश्यले झनै लोभ्याउँछ ।
स्वर्गद्वारी, ढुकुरपोखरी हुँदै हुम्दे पुगियो । त्यहाँ एक छिन रोकिन मन लाग्यो । जीपबाट ओर्लिएर एउटा थुम्कोबाट हेर्न थालियो, हुम्दे गाउँ । साँच्चै नै सुन्दर । गाउँको चारैतिर सेता हिमाल मुस्कुराइरहेको छ । हरियो जंगल छ । जतासुकै हिमाल देखिन्छ ।
यहाँ हवाईजहाज नझर्ने एयरपोर्ट पनि रहेछ । धावनमार्ग पक्की छ । सबै सुरक्षा छ । तर, किन जहाज उड्दैन ? हवाईजहाजÞ नआएको निकै वर्ष भएछ । सायद धुलौटे भए पनि सड़क बनेर होला ।
राँका, मनाङ गाउँ हुँदै ३ हजार ७०० मिटर उँचाइमा अवस्थित खाङसारमा जीपले दिउसो ११ बजे पुर्याइदियो । त्यहाँबाट जति उकालो चढ्दै गयो, मनाङदेखि छुट्दै आएका बिरुवा र पोथ्रापोथ्री कमकम हुँदै गए ।
खाङसार जाने क्रममा मर्स्याङ्दी नदी र खाङसार खोलाले बनाएको समथर मैदान, काँडे सल्ला र हरिया फाँटको मनमोहक दृश्यले जो कोहीको पनि मन लोभ्याउँछ । यही खाङसारबाट हिमाली पदयात्रा सुरु हुन्छ । खाङसारबाट जति माथि चढ्दै गयो, उति नै हिमाली दृश्य आँखैअगाडि आउँछन् ।
अन्नपूर्ण दोस्रो हिमशिखर र आश्चर्य लाग्ने गरी फैलिएको ढुंगेनी पहरा देखिन्छ । खाङसारदेखिको बाटोमा खासै धेरै मान्छे भटिँदैनन् । बाटोमा एकनासे वातावरण हुन्छ । बेलाबेला हावाको सुसेली र आफ्नै हिँडाइको आवाज मात्र सुनिन्छ ।
खाङसारमा कतिपय घुमन्ते तिलिचो पुगेर फर्किसकेका, कतिपय तिलिचो जाँदै गरेका, कतिपय माथि जान नसकेर फर्किएकाहरू भेटिँदा रहेछन् । तिनका अनुभव सुन्दा डर, त्रास, भय एकैपटक आउँथे । अनि, मनमा जुन किसिमको उत्साह, उमंग थियो तिलिचोको, ती सब हराउँथे । तैपनि, मनोबल घटाइएन । पुगेरै छाड्ने अठोट लिइयो र हिँडिरहियो ।
त्यतैतिरको एउटा होटेलमा खाना खाएर एक छिन आराम गरियो । अनि, श्रीखर्क हुँदै तिलिचो बेसक्यापतिर लागियो । हिँड्दै गर्दा बगिरहेको खोलाको छेउमा जमिरहेको ढिस्काहरू देख्दा चिसो अनुभूत हुन्थ्यो ।
पैदलयात्राको पहिलो दिन भएको हुँदा हामीलाई हिँड्न सजिलै लागिरहेको थियो । हिमालको दृश्य हेर्दै हिँडिरहँदा थकान, दुखाइ केही पनि महसुस भएको थिएन । यसरी करिब दुई घण्टाको पैदलयात्रापछि चार हजार ४५ मिटरको उँचाइमा रहेको श्रीखर्क पुगियो ।
श्रीखर्क आफैँमा सुन्दर ठाउँ हो । बौद्ध गुम्बा छन् । त्यसले यहाँको सौन्दर्यमा थप मुस्कान थपिदिएको छ । बाटोमा चौँरी चरिरहेका हुन्छन् । कहिले हामी त कहिले चौँरी एकार्कासँग डराउँछौँ । त्यस क्षेत्रबाट देखिने तिलिचो पिकको दृश्य पनि निकै आकर्षक हुँदो रहेछ । हामीले त्यो सौन्दर्ययुक्त दृश्यपान गर्ने मौका पायौँ । लाग्यो, धन्य भयौँ ।
अघि बढ्दै जाँदा देखिने अद्भूत पर्वत हो, खाङसार खाङ । जुन पर्वत कालो वर्णको शिलाले युक्त छ । खाङसार खाङ उत्तरी पाखोमा बढ्दै गएर अन्नपूर्ण पहिलो हिमालमा मिसिन पुगेको छ, जुन अन्नपूर्ण क्षेत्रको उच्च हिमाल हो । खाङसार खाङ र तिलिचो पिकको बीचमा ढुंगेनी पर्वतमाला तेर्सिएका छन् ।
बीचमा आराम गर्दै हिँड्दै गर्दा गति मन्द भइसकेको थियो । तिलिचो बेसक्याम्प साँझसम्म पुगे पनि हुने भएकोले हतार नगरी आराम गर्दै हिँड्न थालियो । यति बेला तिलिचो जाँदा सबैभन्दा खतरा मानिने पहिरोमा पुग्दै थियौँ ।
हल्का हावा चल्न थालेपछि पहिरोमाथिबाट सानासाना ढुंगामाटोका कणहरू खसिरहेको पाइयो । झस्कायो त्यसले । माथिबाट पहिरो खस्ला कि भनेर सकेसम्म छिटो हिँड्थ्यौँ हामी ।
जति गाह्रो भएको भए पनि चाँडै नै पहिरो पार गरियो । यो धराप बाटो पार गर्न ३०/४० मिनेटको समय लाग्यो । बाटो पार गरिसकेपछि संकटमुक्त भएको अनुभूति भयो । एकलास लाग्ने ढुंगेनी बाटोको पारिपट्टि विद्यमान पहाडी दृश्यले भने गजबको आनन्द दिन्छ ।
पहिरो पार गरिसक्दासम्म हामी थाकिसकेका थियौँ । एक छिन थकाइ मार्नै बसियो । अझैसम्म बेसक्याम्प नदेखिँदा भने अत्यास लागिसकेको थियो । बल्लतल्ल बेसक्याम्प देखिन थालेपछि ठाउँ आउन लागेछ भन्ने अनुभव भयो ।
तिलिचो बेसक्याम्पसम्मको बाटो तेर्सो छ । आँखाले देखुन्जेल तेर्सिएको पैदलमार्ग अर्को पहाडको कुइनेटोमा पुगेर बिलाउँछ । त्यसपछि अर्को त्यस्तै बाटो देखिन्छ । थकानले होला, जति अघि बढ्यो बेसक्याम्प त्यति नै अगाडि सरेझैँ लाग्थ्यो । बाटोबाट चिप्लियो भने मर्स्याङ्दीमा पुगिने डर त छ नै ।
करिब चार घण्टा हिँडेपछि जसोतसो बेसक्याम्प पुगियो । र, त्यहीँको एउटा होटेलमा वास बसियो । तथापि, गतव्यमा पुगेको खुसीले होला, लागेको थकाइ र दुखाइ सबै बिर्सिसकेका थियौँ ।
अर्को दिन बिहानै माथि जानलाई तयार हुँदै गरेकाहरूको हो–हल्लाले छिट्टै आँखा खुल्यो । बिहान उठ्दा प्राकृतिक मनोरम दृश्यले हृदयमा उत्साह भरिसकेको थियो । उठेर जाने तरखर गर्न लाग्यौँ ।
सुस्केरा हाल्दै बहिरहेको चिसो हावासँगै तातो चिया लिएर हाम्रो यात्रा अगाडि बढ्यो । धेरै टोली उकालो लागिसकेका थिए । बिहान चार बजे टाउकामा बत्ती बालेर बेसक्याम्पबाट उकालो लाग्दा कैयौँ मानिस मभन्दा अगाडि थिए । टाढाटाढा भीरमा जूनकिरीजस्तै देखिन्थे ती ।
अँध्यारोमा भीर र कहालीलाग्दो बाटो देखिएन । चुपचाप आफ्नै पैतालाको संगीत सुन्दै उकालो लाग्दा आनन्द आइरहेको थियो । विस्तारै उज्यालो भयो । टाढाटाढासम्मको अप्ठेरा बाटा देख्न थालेँ । विस्तारै थाक्दै गएँ । उकालो चढ्न थालियो । जति उकालो चढ्यो, त्यति नै सिरेटोले हान्थ्यो । बाटो पार गर्दै गर्दा हिँड्न नसकेर थकाइ मार्न बस्दा ‘म किन आएको होला ?’ भन्दै सुस्केरा हाल्ने पनि देखिए ।
बिहानीको समय भएर पनि होला, चिसो अत्यधिक थियो । बेलाबेला मनमोहक दृश्यले तान्थे । तर, चिसोले गर्दा क्यामेरा खोल्नै गाह्रो । त्यस्ता मनमोहक दृश्य कैद गर्न पनि जाँगर नचल्ने । अनि फेरि लाग्थ्यो, यी सबै हेर्नलाई नै त हो आफैँ आएको । सायद यो सोचले ऊर्जा थप्थ्यो ।
बाइस घुम्तीसम्म बल्लतल्ल पुगियो । त्यसपछि उकालो देख्दा एकपटक त फर्कौँजस्तो पनि लाग्न थालेको थियो । तर, अब त्यहाँसम्म आइसकेपछि पुग्नुपर्छ भन्ने लागेर एक िछन थकाइ मारेर हिँड्न थालियो ।
बाटोबाट दक्षिणतिर हेर्दा लस्करै खाङसार, मुक्तिनाथ, नीलगिरि र लिचित हिमाल देखिए । हिउँमा टेकेर हिमाल नै हेर्न पाउँदा पनि निकै आनन्द आउँदो रहेछ ।
उकालो सकिएपछि हिउँको चौर सुरु भयो । अब भने अहिलेसम्म लागेको थकाइ, पीडा सबै बिर्सन थालियो । जता हेर्यो, त्यतै हिउँ भएकाले यात्रा गर्नुको आनन्द बेग्लै थियो ।
जमेर बसेको हिउँ चिप्लो हुन्थ्यो । हिउँमा क्य्राम्पन्स नभएका जुत्ता लगाएकाहरू बढी चिप्लन्थे । उनीहरूलाई त गाह्रो भएको हुँदो हो, तर हेर्दा रमाइलो महसुस हुन्थ्यो ।
वरपर पूरै हिउँको बीचमा आफूलाई पाउँदा त हिमाल चढिरहेझैँ महसुस हुन्थ्यो । रमाइलो गरेर हिँड्दा हिँड्दै लगभग डेढ घण्टाको हिउँको यात्रा गरेको पत्तै भएन । हिउँको सप्को ओढेको विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको पहिलो आवरण देख्दा केही सेकेन्ड सास रोकिएझैँ महसुस भयो ।
तस्बिरमा मात्रै देख्न पाइएको स्वर्गको टुक्राझैँ लाग्ने तिलिचो आँखाअगाडि देख्दा सम्पूर्ण थकान हराएर गयो । तिलिचो पुगेपछि मनमा उत्पन्न हुने भाव र आनन्द सायद शब्दमा वर्णन गर्नै पो सकिन्न ।
निलो आकाशमुनिको निलो दह हेर्दै सबै रमाउन थाले । सफा निलो आकाश । टन्टलापुर घाम । चिसो हावाले गर्दा होला, घाम लागेको अनुभूति भने छैन । सेतो पछ्यौरी ओढेजस्तै सेताम्य छ, तिलिचो ताल । अप्ठेरोबीच स्वर्गको टुक्राजस्तो लाग्यो, तिलिचो ताल ।
सेता हिमाल र समथर हिउँको फाँट र बीचमा निलो तिलिचोले यहाँको सुन्दरता बढाएको छ । प्रकृतिमा रमाउने जो कोही एकपटक पुग्नैपर्ने ठाउँ हो, तिलिचो । हिमाल, पहाड अनि ताल एकैपटक अनुभव लिन मिल्ने अमूल्य उपहार पनि हो, तिलिचो ताल ।
देशको राष्ट्रिय झन्डा फहराएर पृष्ठभूमिमा निश्चल अनि सफा निलो तालसहित तस्बिर लिइरहँदा स्वर्गीय आनन्द पाइरहेका आँखा तालबाट विचलिन कदापि खोज्दैनन् ।
चियाको चुस्की लिँदै ताल अवलोकन गर्दै गर्दा दुनियाँ अर्कै लाग्थ्यो । तथापि, चिसो हावाले आँत छिचोलिरहेको भएर केही समय बसेर तस्बिर लिइसकेपछि फर्कन करै लाग्यो ।
उकालोमा चार घण्टाभन्दा बढी समय लागेको बाटो फर्कंदा भने दुई घण्टा १५ मिनेटमा झरिसकेका थियौँ । माथि गएर फर्कँदा भने मनमा एक किसिमको आनन्द अनुभूत भइरहेको थियो । किनकि, तिलिचो ताल मैले यात्रा गर्नुपर्ने सूचीबाट यात्रा सम्पन्न भएको सूचीमा पुगिसकेको थियो ।