
लसएन्जेलस । अमेरिकाको क्यालिफोर्निया राज्यमा आठ दिनभित्र तेस्रो आम नरसंहारकारी गोलीकाण्ड भएको छ ।
सान फ्रान्सिस्कोमा एकजना पुरुषले गोली हानेर आफ्ना सातजना पूर्वसहकर्मीको ज्यान लिएका छन् । यो पछिल्लो आक्रमण समुद्रतटीय सहर हाफ मुन वेमा भएको हो । मारिने सबै खेतमा काम गर्ने चिनियाँ–अमेरिकी रहेका बीबीसीले लेखेको छ ।
हत्याकाण्ड मच्चाएपछि कारमा प्रहरी कार्यालयमा पुगेका आशंकित आक्रमणकारी ६७ वर्षीय झाओ चुन्लीलाई गिरफ्तार गरिएको छ ।
हाफ मुन वेदेखि करिब ६ घण्टा दक्षिणमा पर्ने मोन्टेरी पार्कमा चान्द्रिक नयाँ वर्षको उत्सवमा ११ जनाको गोली हानी भएको हत्याको दुःख र पीडा सेलाउन नपाउँदै राज्यमा अर्को गोलीकाण्ड भएको हो ।
केही समयअघि लसएन्जेलसको दक्षिणमा रहेको गोसेनको एउटा निवासमा भएको गोलीकाण्डमा पनि एक किशोरी आमा र उनका शिशुलगायत ६ जनाको ज्यान गएको थियो ।
क्यालिफोर्नियाका गवर्नर ग्याभिन न्युसोमले भनेका छन्, “यसअघिको गोलीकाण्डमा घाइते भएका मानिसहरुलाई एउटा अस्पतालमा भेटिरहेकाबेला मलाई अचानक यो गोलीकाण्डको जानकारी गराइयो । आघातमाथि आघात थपिएको छ । चारजनाको शव एउटा च्याउ खेतमा र अन्य तीनजनाको त्यस नजिकै फेला परेको प्रहरीले जनाएको छ । आठौँ पीडितको अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।”