site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एउटा गजलको जन्म

अस्ति घरबाट निस्किँदा मसित छाता थियो ।

मैले अनि ढाँटे । साँच्चै भन्ने हो भने म घरबाट होइन डेराबाट निस्केको थिएँ र निस्किँदा छाता आफूसित भएको कुराचाहिँ साँचो हो । अब छाता कस्तो थियो भनेर नसोध्नुहोला । किनभने घर नहुने र डेरामा बस्नेसित जस्तो खालको छाता हुनुपर्छ त्यस्तै थियो ।

जेजस्तो भए पनि घामपानीमा ओत लाग्न सकिन्थ्यो । कहिलेकाहीँ मलाई छाताको मोल र मान्छेको मोल उस्तैउस्तै र उतिउति नै लाग्छ । जस्तै, आफू संकटमा परेको बेला आफूतिर सहायताको हात लम्काउने मान्छे अनमोल हुन्छ, त्यसै गरी चर्को घाम र दर्के झरीमा छाता अनमोल हुन्छ । अन्यथा अरू बेला मान्छे र छाताको मूल्य नै के छ र ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जे होस्, सुखद कुरा के हो भने यी दुवै थोक किन्न पाइन्छ, आवश्यक परे बेच्न पनि सकिन्छ । अनमोल हुँदाखेरि होइन, अरू बेला । आवश्यक परेको हुनाले नै अहिले म छाता बेच्न निस्केको हुँ ।

कोरिया, मलेसिया र अरब देशहरूमा जान नसकेकाले अथवा भनूँ, आफूलाई बेच्न नसकेकाले आज यो घामपानीमा ओत लाग्ने वस्तु बेच्न निस्किएको हुँ ।

“साहूजी, कतिमा लिनुहन्छ ?”

“सारै पुरानो रै’छ, बाजे ।”

“अँ, पुरानै हो पृथ्वीनारायण शाहकै पालाको, तर बलियो छ ।” 

“ई, तलतिर ह्वाङ्गै फाटेको रहेछ ।”

“मास्तिरबाट ओत लाग्न मिलिहाल्छ नि । घामपानीबाट जोगिनु त हो ।”

“रङ पनि खुइलिएको रहेछ । टाटाटुटी पनि लागेका रहेछन् ।”

“पुरानो भएपछि यस्तै हो, साहूजी । छोरीले तल ह्वाङ्गै भएतिरबाट ओढ्न खोजेकी थिई, केके टाटाहरू लगाएर ल्याइछे । कतिमा लिनुहुन्छ ?”

“एहे, डन्डीमा नाम पो लेखेको रहेछ, भएन यो त ।” 

“मूर्ख छोराले लेखेको हो, मेटाइदिए हुन्छ । कति दिनुहुन्छ ?” 

“नुन चाहिएको हो ?”

“अँ, कति दिनुहुन्छ ?”

साहूजीले छाता र मलाई एकातिर राखेर अर्कोतिर नुन जोख्न थाले । कति नुन पाएँ, कति निमक खाएँ, सो कुरा नभनौँ । हास्यास्पद मूल्य र लाजमर्दो मूल्याङ्कनको के उल्लेख गर्नु । इज्जत जाँदैन र ?

ओत लाग्ने घर होस् कि डेरा होस् कि छाता होस् इज्जत राख्नु परेन ? नाङ्गैै भए पनि, ह्वाङ्गै भए पनि, आँखा चिम्लेर इज्जत त राख्नैपर्यो । यसै गरी यहाँ पनि मेरो इज्जत रह्यो । बरु साहूजीको यो स्मरणीय वाक्य हामीजस्ताहरूका लागि प्रेरणास्पद रहनेछ ।

उहाँले छाता किनिसकेपछि र नुन दिइसकेपछि दयालु भएर सहानुभूति प्रकट गर्नुभयो, “राम्ररी जानुहोला है, बाजे ! बादल लाग्या छ !” अनि आफ्नै गजलको एक टुक्रा गुनगुनाउँदै म त्यहाँबाट हिडेँ—
छाता किनिसकेपछि साहूजीले भने,
टाढाटाढासम्म यहाँ घामपानी–घाम ।’ 

हिजो म त्यहाँ पुगेको थिएँ ।

मैले अलि ढाँटेँ । साँच्चै भन्ने हो भने मलाई त्यहाँ कसैले पुर्याएको थियो । मलाई त्यहाँ पुर्याउने चार पेग स्कच र गोजीभरिका गैंडा र हात्ती थिए । त्यहाँ पुग्दा मैले देखेँ–तीन पत्ती चलिरहेछ ।

एकातिर युधिष्ठिर, अर्जुन, भीम, नकुल, सहदेव बसेका छन् र अर्कोतिर दुर्योधनहरू । अर्को कुरा के पनि देखेँ भने, युधिष्ठिर थापाहरू हार्दै छन् र दुर्योधन थापाहरू जित्दै छन् ।

युधिष्ठिर थापाहरूको खल्ती खलास भएपछि उनीहरू याचनाको दृष्टिले मतिर हेर्न थाले । म त्यहीँ एउटा कुनामा बसेकी द्रौपदीतिर हेर्न थालेँ ।

“यार श्याम यादव, अलिकति सापट देऊ न ।”

मैले सापट दिएँ । तर म जति युधिष्ठिर थापाहरूलाई सापट दिँदै जान्थेँ उनीहरू उति हार्दै जान्थे । पाजीहरूका यस हारले मलाई जङ्ग चल्यो र कुनामा बसेर खेल हेरिरहेकी द्रौपदीलाई पाखुरा समातेर पल्लो कोठामा लगेँ ।

त्यहाँ लगेर मैले उसको सारी तान्न थाले । ऊ चिच्च्याई, “के गरेको, श्याम यादव ! यो के गरेको ?”

मैले उसलाई भुत्ल्याएर नङ्ग्याइदिएँ । अनि के भयो, बाँकी समाजको ठूलो पर्दामा हेर्नुहोला । मचाहिँ त्यहाँबाट गजलको यो टुक्रा गुनगुनाउँदै निस्केँ— 
द्रौपदीको चीरहरण सधैँ यहाँ हुन्छ,
दुर्योधनले होइन यो त थियो कुनै श्याम ।’

आज म यहाँ छु ।

अर्थात् अयोध्या नगरी नभएको देशमा । उसो त रामकथा भारतदेखि दक्षिणपूर्व एसियाका सबैजसो देशहरूमा फिँजिएको छ । ती देशहरूमा रामायणमा वर्णित अयोध्या पनि छन् रे, जस्तै– थाइल्यान्डमा । तर सक्कली अयोध्याचाहिँ भारतमै छ ।

नेपालमा भने रामायणको जतिसुकै गुणगान र महिमा भए तापनि भानुभक्तदेखि शशिभक्तहरूसम्मले जतिसुकैओटा रामायण लेखे तापनि अयोध्या भनाउँदो नगरी कतै छँदै छैन । यसो हुनुको कारण यहाँ सीता जन्मेको नगरी जनकपुर हुनाले हो ।

यसै हुनाले अयोध्याका रामलालहरू सीता खोज्न यहाँ आउँछन् र यहाँका सीतादेवीहरू रामलाल खोज्न अयोध्या जान्छन् । अब त आधुनिकताले छोएदेखि सीतादेवीहरू रामलाल खोज्न अयोध्या मात्र होइन बम्बै, कलकत्ता, दिल्ली, मद्राससम्म पुग्दछन् ।

वस्तुतः हाम्रो र हाम्री सीताहरूका लागि यी सबै ठाउँ अयोध्या नै हुन् । अझ भनूँ भने सम्पूर्ण भारत नै अयोध्या हो ।

आज म यहाँ आइपुग्दा अयोध्याको मोतीहारी टोलका रामलाल, सीतामढी टोलका रामप्रसाद, पूर्णिमा टोलका रामलोचन, बेतिया टोलका रामखेलावन, गोण्डा टोलका रामरिझन, पिलिभित टोलका रामपुजनहरूसित भेट भयो । मैले बडो विनम्रतापूर्वक सोधेँ, “केकति कामले पाल्नुभा’ यहाँहरू ?”

उहाँहरूले समवेत स्वरमा भन्नुभयो, “अरे क्या बताएँ, जनकबहादुरजी, आजकल अयोध्या में काम तो मिलता नहीं । और यहाँ देखो, काम तो मिलता ही है, अयोध्या लौटने वक्त धन–दौलत, हाथी, घोडे के साथ पालकी में सजी सजाई सीतादेवियाँ भी मिल जाती है ।”

यो सुनेपछि मेरो गजल पनि तयार भयो, यस प्रकार– 
‘अयोध्यामा पाइँदैन आजभोलि काम ।
सीता पोइल गएपछि खुसी छ यो राम । 
द्रौपदीको चीरहरण सधैँ यहाँ हुन्छ, 
दुर्योधनले होइन यो त थियो कुनै श्याम । 
छाता किनिसकेपछि साहूजीले भने, 
टाढाटाढासम्म यहाँ घामपानी–घाम ।’

(गोरखापत्र २०५३)
(ब्राजाकीको कथासंग्रह ‘पारदर्शी मान्छे’बाट ।) 
 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्